के हो राष्ट्रियता ? कसरी जोगाउने ?

राष्ट्रियताका नारा त राजनीति गर्नेहरुले धेरै फलाक्ने गर्दछन् । राष्ट्रियता कमजोर भएको, भारतले हजारौं हेक्टर नेपाली जमिन मिचेका कुरा उठ्ने गर्दछन् । कालापानी तथा लिपुलेक, लिम्पियाधुराका कुरा, चुच्चे नक्साका कुरा, सुस्ताका कुरा, महाकाली क्षेत्रमा गरिएको अतिक्रमणका कुरा, सिमानाका पिलरहरु गायब गरिएका कुरा धेरै उठ्छन् । राष्ट्रियता भनेको भूमि तथा भूगोलमात्र हैन । हाम्रो देशभित्रको प्राकृतिक स्रोत साधन पनि हो । आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्परा, पहिचान, परम्परागतप्रविधि, हाम्रो आफ्नै खेती प्रणाली, उद्योग धन्दा, आर्थिक प्रणाली, हाम्रो जनशक्ति, मूल्य, मान्यता र इतिहास पनि राष्ट्रियता हो । हाम्रा पुर्खाहरुले मेहनतका साथ संरक्षण गर्दै आएका यी बस्तुहरु आजकल हाम्रै कारणले संकटमा परिरहेका छन् । हाम्रो राष्ट्रियता कमजोर बन्दै गएको छ ।

Advertisement 1

पुर्खाले मेहनतले आर्जेको भूमि धेरै गुमाइसकेका छौं । हाम्रा प्रमुख नदीहरु आफ्नो प्रयोजनका लागि नभई अरुकै लागि भएका छन् । हामी हाम्रै देशभित्र खानी खनेर फलाम, तामा अभ्रख आदिका सामग्रीहरु तयार गरी प्रयोगमा ल्याउने गर्दथ्यौं । देशभित्र पेट्रोल, ग्यास र कोइला निकाल्ने सम्भावना हुँदाहुँदै अरुको दबाबमा उत्खनन गर्न सकिरहेका छैनौं ।

पञ्चायतीकालमा बनेका हाम्रा ६० भन्दा बढी उद्योग–कलकारखानाहरु अरु कै हातमा कौडिको मूल्यमा बेचेका छौं । हामीलाई चाहिने लत्ताकपडा, चिनी, जुटका सामग्रीहरु, जुत्ता, इँट्टा आदि उत्पादन गरेर आत्मनिर्भर बन्नेतर्फ उन्मुख भएका हामी अहिले सबै बस्तु विदेशबाट आयात गर्ने गर्दछौं । आफ्नो उत्पादन केही छैन, अरुको माल बेच्ने काम गरेर बसेका छौं । कृषिमा आत्मनिर्भर थियौं हिजो । दाल चामल, तेल त विदेश पनि निर्यात गर्दथ्यौं । अहिले चामल दाल, तेल पनि विदेशकै खान्छौं । चामलमात्र बर्षेनी चौध अर्ब भन्दा बढीको आयात गर्दछौं ।

Advertisement 2

हाम्रो आफ्नै उपचार पद्धति थियो । वैद्य परम्परा थियो, वनौषधि तथा जडिबुटी उपचार पद्धति थियो, सबै ध्वस्त भयो । अहिले उपचारको क्षेत्रमा पूर्णरुपले अरुकै भर परिरहेका छौं । हाम्रो आफ्नै शिक्षा प्रणालीको विकास भएको थियो । गुरु शिष्य सँगै बसेर विद्याआर्जन गर्ने गुरुकुलीय प्रणाली थियो । त्यो त धेरै पहिले नै ध्वस्तभयो । वेद लेख्ने वेदव्यास, रामायण लेख्ने वाल्मीकि, व्याकरणका विद्वान पाणिनी आदि यही माटोमा जन्मे र आफ्नै मौलिक साहित्यको विकास गरेका थिए । त्यो संस्कृत साहित्य, पाली साहित्य, मैथिली, अवध साहित्य, नेवारी साहित्य र संस्कृति सबै समाप्त हुने देखिन्छ ।

सबै जातजातिका आआफ्नै भाषा, लिपी, कला, संस्कृति र परम्पराहरु थिए । हामी सबैका भाषा, लिपी, कला, संस्कृति र परम्पराहरुलाई हामी सबैले समान मान्यता दिँदै तिनीहरुको संरक्षण र संवद्र्धनमा आपसमा सहयोग गर्दै आएकोमा अहिले हामीलाई अलग–अलग हौ, तिम्रा धर्म संस्कृति पृथक हुन् भनी सिकाउन थालिएको छ । शदियौं देखि एक ढिक्का भएर बसेका हामीलाई धर्मको नाममा, जातजातिको नाममा विभाजित गर्न खोजिएको छ । हामीहरु जानीनजानी तिनैका पछि लागेर हाम्रो बीचको आपसी सौहार्दता र भाइचारालाई भत्काउँदै छौं ।

Advertisement 3

गैरसरकारी संस्थाहरु पैसा र रोजगारीका सपना बाँड्दै हामीलाई उक्साउँदै छन् । हामीहरु उनीहरुको इसारामा नाच्दै छौं । हिमाल, पहाड र तराई बीच लामो समयदेखि विकसित भएको सद्भाव र भाइचारालाई यतिखेर तोड्न हामीलाई नै प्रयोग गरेर हाम्रो बीचमा फुट पैदा गरिँदै छ । हाम्रो एकता, आपसी भाइचारा, सौहार्दता, धर्म र संस्कृतिलाई कमजोर पार्न केही वर्षदेखि बाह्य शक्तिहरु लागेका छन् । हामी त्यो बुझ्न सकिरहेका छैनौं । धर्म निरपेक्षता नेपालीको माग नै थिएन तर संविधान लेखनको बेला घुसाइएको छ ।

पटक–पटक नागरिकताको विषय उठाएर नेपालीको बीचमा झगडा गराइदिने र गैर नेपालीका लागि नागरिकता दिने खेल भइरहेको छ । हजारौं मानिसहरुलाई रोजगारी दिने हाम्रा कलकारखानाहरु बन्द गराएर नेपाली युवालाई विदेश पठाई गैरनेपालीले देश भर्ने योजना सफल गराउन धेरै खेल हुँदैछन् । हाम्रो आफ्नो मौलिक पूर्वीय मान्यता, परम्परा, कला संस्कृति समाप्तिको अवस्थामा छन् । हाम्रो मौलिक सभ्य–संस्कृतिको सट्टामा आयातीत नांगो छाडा पश्चिमा संस्कृति स्थापित भइसकेको छ । सामरिक हिसाबले पनि हामीलाई कमजोर बनाउने खेल खेलिँदैछ । पुलिस प्रशासन, कर्मचारीतन्त्र, कुटनीतिक क्षेत्र, राजनीति सबै बाह्य शक्तिहरुको प्रभावमा परेको छ । अब सेनालाई पनि यो रोगबाट संक्रमण गराउने प्रयास भइरहेको छ । यो सारा कामको लागि केही वर्षदेखि हाम्रै सिंहदरबार, परराष्ट्र मन्त्रालय, रक्षा र गृह मन्त्रालयबाटै काम भइरहेको छ । यो आम नेपाली नागरिकले बुझ्नुपर्ने भएको छ ।

कुनैबेला हाम्रो न्याय प्रणाली निकै निष्पक्ष थियो । भन्ने पनि गरिन्थ्यो– न्याय नपाए गोर्खा जानू …। अहिले न्यायाधीशहरु नै कोही कुनै दलका कोही कुनै दलका भएर बाँडिएका छन् । सोझाहरुले न्याय पाउने अवस्था हराउन थालेको छ । तस्कर, गुण्डा, भ्रष्टाचारीहरु शानकासाथ रमेका छन् । पीडितहरु न्याय नपाएर छटपटाउनु परेको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्बौंको सुन तस्करी भयो । छानबिन गरी कार्यवाही गर्ने न्यायाधीशहरु नै तस्कर बचाउने विवादमा तानिए । संसदले बनाउने प्रधानमन्त्री आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर न्यायालयले बनायो । यसरी न्यायाधीशलाई प्रयोग गर्ने नेताहरुबाटै ती न्यायाधीश नै अन्यायमा परे । प्रधानन्यायाधीश जस्तो गरिमामय पदलाई अपमानित ढंगले नजरबन्दमा राखी अन्यायमा पारियो । प्रधानन्यायाधीश जस्तो व्यक्ति त अन्यायमा पर्छन् भने यो देशमा सामान्य नागरिकको हालत के होला ?

विद्वान वर्ग र युवाशक्ति झण्डै ७० लाखको हाराहारीमा विदेश पलायन भएको छ । देश निर्माणमा लगाउनुपर्ने युवा जनशक्तिलाई विदेश पठाउने गरिन्छ । अढाइ सय वर्ष पहिले पृथ्वीनारायण शाहले दिएका दिव्यउपदेशको मात्र अनुशरण गरेको भएपनि स्थिति जटिल हुने थिएन । ूविदेश गएर सीप सिकेर आउनू, आफ्नो देशको गुह्य अरुलाई नबताउनू । खेतीयोग्य जमीनमा घर नबनाउनू । उद्यम गर्न चाहनेलाई तालिम दिनू र सहयोग गर्नू आदि सन्देश अहिले पनि उति नै सान्दर्भिक छन् । तर उनी जस्ता राष्ट्रवादी राजाको अनुशरण गरी नीति बनाउनुपर्नेमा उनकै शालिक ढाल्ने कार्यमा हाम्रा नेताहरु संलग्न भए ।

हाम्रा विश्वविद्यालयहरु राजनीतिले गर्दा ध्वस्त पारिँदै छ । न समयमा भर्ना हुन्छ, न पढाइ हुन्छ, न समयमा परीक्षा हुन्छ, न रिजल्ट नै समयमा हुन्छ । हाम्रा छोराछोरीहरु सबै विदेश जाने मनस्थितिमा देखिन्छन् । दुःखै पाएपनि विदेशमै बस्ने मनस्थितिमा देखिन्छन् । नेपाली युवाहरुले विदेशमा रगत, पसिना बगाएर हाम्रो राष्ट्रियताको संरक्षण हुन सक्दैन । अब हामीले गम्भीर भएर सोच्नैपर्ने बेला आएको छ ।

हाम्रा युवा र विद्वान वर्गलाई देशमा नै राख्ने नीति बनाउनु परेको छ । युवा शक्तिलाई अरु देशको नोकर बनाउन पठाएर रेमिटेन्सबाट देश चलाउने नीति अब फेर्नु पर्छ । राष्ट्रियताको सुदृढताको लागि त आफ्नो उत्पादन प्रणालीलाई विकास गरी उत्पादनमुखी नीति बनाउनु पर्दछ । निर्यात प्रवर्धन र आयात प्रतिस्थापनको नीति लिनु पर्दछ । हाम्रा भएका उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याउनु पर्दछ । हाम्राउर्वर भूमिहरु बाँझै राखेर अरु देशका मरुभूमीमा भेडा चराउन युवाहरु पठाउने चलनलाई अब हटाउनै पर्दछ । कम्तीमा कृषि उत्पादनमा आत्मनिर्भर बन्ने कामको थालनी गर्नु पर्दछ । कृषिमा आधारित हाम्रा उद्योगहरु जस्तै चिनी कारखाना, जुट मिल, धागो कारखाना, स्वदेशी कच्चा पदार्थमा आधारित कपडा उद्योगहरु सञ्चालनमा ल्याउनु पर्दछ । विदेशी बस्तु किनेर खाने र किनेर लगाउने चलनलाई हटाउनु पर्दछ । यसले मात्र राष्ट्रियताको जगेर्ना हुन सक्दछ ।

हाम्रो आफ्नै स्रोत र साधनले सञ्चालन गर्न सकिने उद्योगहरु तुरुन्त सञ्चालनमा ल्याउनु पर्दछ । हाम्रोमा उत्पादन हुने सामानको प्रयोगलाई सबै नागरिकले प्राथमिकता दिने वातावरण तयार गर्र्नु पर्दछ । देशको अर्थतन्त्रलाई सुदृढ र आत्मनिर्भर नबनाई देश समृद्ध हुन सक्दैन भन्ने कुरालाई हाम्रा योजनाविद्हरु र शासक वर्गले बुझ्नु पर्दछ । देशमा नै रोजगारीका अवसर प्रदान गरी युवा जनशक्ति र विद्वानहरुलाई स्वदेशमा नै राख्ने र यहाँ नै सेवा गर्ने वातावरण सृजना गर्नु पर्दछ । देशको आर्थिक समृद्धिविना हाम्रो राष्ट्रियताको संरक्षण हुन सक्दैन । राष्ट्रवाद अब व्यवहारमा देखिनु पर्दछ । खोक्रो राष्ट्रवादले मात्र केही गर्दैन । हामीले के गर्दा हाम्रो राष्ट्रियता कमजोर हुँदैन त्यसको लागि अहिल्यै देखि व्यवहारमा देखाउनु पर्दछ । हाम्रा हरेक क्रियाकलापमा राष्ट्रियता हुनु पर्दछ ।

बोल्दा, खाँदा, लगाउँदा, कतै जाँदा, पढाइ गर्दा, कला संस्कृति र धर्मको अनुशरण गर्दा, सीप र शिक्षा आर्जन गर्दा, व्यवसाय र रोजगरीका अवसर अपनाउँदा जति बेला पनि, जे निर्णय गर्दा पनि हामीले राष्ट्रियताको नै ख्याल गरेमात्र सच्चा राष्ट्रवादी भइन्छ । अब नेपाली युवाहरु देशकै सेवामा लाग्ने हो । अरुका खेताला, गोठाला, सिपाही र दास बन्न विदेश जाने हैन, स्वदेशमै केही गर्ने भन्ने भावनाको विकास गर्नु पर्दछ ।

प्रकाशित :२०७९ पुष २, शनिबार ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry