प्रशासनिक पर्यावरण र रुपान्तरण



सार्वजनिक सेवा सरकार र जनताको सम्बन्ध अभिव्यक्त हुने प्रमुख माध्यम हो । सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपूर्ण र आवश्यकीय संयन्त्र हो । सरकार र जनता विचको दरिलो , भरोसायोग्य स्थायी सम्पर्क सूूत्रको रूपमा सार्वजनिक प्रशासन रहेको हुन्छ । सरकारको यो स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टता र प्रक्रियागत पूर्णताले युक्त हुन्छ । समय, शिक्षा, प्रविधिको परिवर्तन संगै राजनितिक र शासकीय आयाममा धेरै परिवर्तन हरू आउछन् र यी परिवर्तन हरूले जनताका आवश्यकताहरुमा परिवर्तन आउने गर्दछ र यसै कारणले सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै दवावहरू सिर्जना गर्दछन् । यस्ता दवावहरूले सार्वजनिक प्रशासनको भूमिका परिवर्तित सन्दर्भमा वा विद्यमान पर्यावरणीय सन्दर्भमा अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ । प्रशासनिक पर्यावरणको यो सकारात्मक प्रभाव हो ।

Advertisement 1


सार्वजनिक प्रशासन राज्यद्वारा आफ्ना नीति तथा कार्यक्रम मार्फत जनता समक्ष गरिएका प्रतिवद्दताहरुको परिपूूर्तिको लागि निरन्तर रूपमा दत्त चित्त, तयारी अवस्थामा रही रहनु पर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकार तर्फ लक्षित रहेको हुन्छ अन्तत ः सरकार तर्फ लक्षित जनताको आशा र अपेक्षा पुरा गर्नु पर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ । त्यसैले सार्वजनिक प्रशासनका पर्यावरणीय पक्षहरुमा आउने परिवर्तनहरुले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।
सार्वजनिक प्रशासनमा प्रभावका क्षेत्रहरुमा राजनैतिक, सामाजिक परिवेश र सामाजिक मुल्य मान्यता, आर्थिक उदारीकरण प्रविधिको प्राधान्यता, गैर राज्यीय सहकर्ताहरुको उदय सरकारको पुनः आविष्कारको अवधारणाको उदय जस्ता पक्षहरु प्रमुख छन् । देश विशेषको राजनैतिक प्रणाली को प्रभाव सर्वत्र परेको हुन्छ । राजनैतिक प्रणालीको उदारता र अनुदारताको आधारमा सार्वजनिक प्रशासनको पारदर्शिता र उत्तरदायिताको तह निर्धारण हुने गर्दछ । विश्वले उदार राजनैतिक प्रणालीको अभ्यास गरिरहेको सन्दर्भमा सार्वजनिक प्रशासन वढी पारदर्शी र उत्तरदायी हुनु आवश्यक छ यसको अतिरिक्त प्रशासन राजनैतिक रुपमा तटस्थ र सरकारका नीति र कार्यक्रम प्रति प्रतिबध्द हुनुआवश्यक हुन्छ ।
सन् १९८० को दशक पछि प्रजातान्त्रिक परिपाटिको शुरुवात र आर्थिक उदारीकरणको विषय प्रखर रूपमा अगाडी वढेको छ । यी आयामहरुले प्रतिस्पर्धा, गुणस्तरता, निजी क्षेत्रको सहभागिता, व्यवस्थापनवाद, कम लागतमा वढी उत्पादकत्व जस्ता विषयलाई जोड दिएको छ । आर्थिक मान्यतामा आएको यो लहरबाट सार्वजनिक प्रशासन प्रभावित हुनु स्वभाविकै हो । यसबाट सार्वजनिक प्रशासन चुस्त, दुरूस्त, प्रभावकारी, परिणाममुखी जनमुखी बन्नुपर्ने कुरामा जोड दिएको छ ।
विश्व परिदृष्यमा आएको अर्को महत्वपूूर्ण आयाम विविधताको सम्बोधन र समावेशी विकास प्रक्रिया हो । समाजमा विद्यमान जात, संस्कृति, परम्परा, रीतिरिवाज समाजका विविधताका परिचायक हुन् । समाजको यो विम्वको प्रभाव सार्वजनिक प्रशासनमा परेको हुन्छ किनकी सार्वजनिक प्रशासन समाज कै एक सह उत्पादन हो । राजनैतिक आर्थिक परिवर्तनले सामाजिक मुल्य मान्यतामा समेत परिवर्तन ल्याउछ । समाजको वनोट त्यसको चरित्र यसले अंगालेको संस्कृति र चाल चलन अनूरूप सार्वजनिक प्रशासन पनि चल्नुपर्ने हुन्छ । समावेशी प्रशासन, सरकारी कामकाजमा क्षेत्रविशेषको भाषाको प्रयोग, सामाजिक परिवेशको आधारमा सार्वजनिक विदा जस्ता विषयहरु यस अन्तरगत पर्दछन् । समावेशिताको यो व्यवहारिक प्रयोग सार्वजनिक प्रशासनको संरचनालाई समावेशी वनाउने विषय संग मात्र सम्बन्धित छैन कि यसको कार्यशैली, व्यवहार र सोचमा पनि समावेशीपन हुनु पर्ने विषय संग पनि त्यत्तिकै मात्रामा सम्बन्धित छ ।


प्रविधिको प्रयोगमा आएको व्यापकता लाई सार्वजनिक प्रशासनले आफूलाई तदनुरुप रुपान्तरित हुनुपर्र्नेे स्थिति सिर्जना भएको छ । यसका लागि विद्युतीय शासन, अनलाईन सेवा प्रवाह, अनलाईन गुनासो प्रकट गर्ने प्रणाली, कागजातको न्यून प्रयोग, सेवा प्रवाहको लागि सम्पर्क विन्दुहरूको न्यूनीकरण, विद्युतीय भुक्तानी प्रणाली आदि विधिहरू प्रयोगमा आएका छन । यसले जनता र सेवा वीचको दूरी घटाउने, सेवा प्रवाहमा सहजता ल्याइे पारदर्शिता र उत्तरदायित्वमा वृद्धि ल्याउंदछ ।

Advertisement 2


शासकीय सहकर्ताहरुको प्रवेश र सहभागिता प्रजातान्त्रिक शासन प्रणाली ले ल्याएको अर्को महत्वपूर्ण परिवर्तन हो । यस सन्दर्भमा सार्वजनिक प्रशासन निजी क्षेत्र, सामुदायिक संस्थाहरु, सहकारी , विकास साझेदार जस्ता सहकर्ता हरु संग मिलेर काम गर्नुपर्ने भएको छ । सहकर्ताहरुको उपस्थितिले सार्वजनिक प्रशासन वढी सिर्जनशील, समन्वयकारी र सहभागितामूलक हुनु पर्ने अवस्थाको सिर्जना गराएको छ । शासकीय सहकर्ताहरुको प्रवेशलाई स्वागत र सहकार्य गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासन थप सकारात्मक बन्न पुग्दछ ।


यी समग्र वदलिदो परिवेशले शासकीय आयामहरुमा परिवर्तन ल्याएको छ र तदनुरुप सार्वजनिक प्रशासन पनि रुपान्तरित हुने अवस्था सिर्जना हुनु प्रशासनिक पर्यावरणको सकारात्मक उपलब्धि हो । सार्वजनिक प्रशासनवाट उत्पादकत्व क्षमता र गुणस्तरता को अपेक्षा हुनु स्वभाविकै हो ।

Advertisement 3

यस सन्दर्भमा सरकारले पनि आफ्नो क्षमता अर्थात सार्वजनिक प्रशासनको क्षमता अनुरुप सरकारको प्राथमिक आवश्यकतामा पर्ने पर्ने विषयको दायरामा आफूलाई सीमित गर्ने र सो क्षेत्रमा आफ्नो क्षमताको सुदृढीकरण गर्ने रणनीति लिनु पर्दछ । आफ्नो क्षमता कम भएका क्षेत्रहरु राज्यको प्रारम्भिक प्राथमिकतामा नपर्ने अन्य सहकर्ताहरुको विज्ञता परिचालन गर्न सक्दछ ।
प्रशासनिक पर्यावरण सकारात्मक परिवर्तनको प्रवाहवाटमात्र प्रभावित हुदैन सकारात्मकतासंगै नकारात्मकता समेत भित्रिने गर्दछ । यसर्थ यस्ता परिवर्तन र तदनुरुप प्रशासनलाइ अनुकुलित बनाउने सन्दर्भमा सार्वजनिक प्रशासनलाई पनि यस्ता नकारात्मक प्रभाववाट रोक्ने सामथ्र्यताको विकास हुनुु आवश्यक हुन्छ ।


सार्वजनिक प्रशासन समग्र प्रणालीको एक उप प्रणाली भएकोले समग्र प्रणालीका क्रियाकलाप, परम्परा , अभ्यास, मान्यताहरुको प्रत्यक्ष वा परोक्ष प्रभाव सार्वजनिक प्रशासनमा पर्नु स्वभाविकै हो । प्रणालीगत प्रभावहरु सार्वजनिक प्रशासनमा प्रशासनिक मान्यताहरुमा , प्रक्रियागतरुपमा र प्रशासकहरुको वानी व्यहोरा र चरित्रमा गरी तीन रुपमा प्रभावित हुने गर्दछ ।


प्रणालीमा आएको परिवर्तनलाई ग्रहण गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ भने परिवर्तन अनुरुप समायाजित हुन नसक्दा सेवाग्राहीहरुको असन्तुष्टि वढ्दै जान सक्दछ । प्रशासन सुधारका विभिन्न प्रयासहरुको मूल लक्ष्य पनि प्रशासन प्रणालीलाई अन्य प्रणालीमा आएका परिवर्तन अनुरुप सामन्जस्य गर्दै जाने रहेको हुन्छ । सकारात्मक परिवर्तनलाई परिवर्तनको मर्म अनुरुप ग्रहण गर्न नसक्दा वा नकारात्मक परिवर्तनको समना गर्न नसक्दा सार्वजनिक प्रशासनले थप नकारात्मक परिणति भोग्नु पर्दछ । यसर्थ प्रशासनिक पर्यावरणको परिवेशमा सार्वजनिक प्रशासनलाई अनुकुलित वनाउदा संरचनामा पर्ने प्रभाव, संगठनमा पर्ने प्रभाव , प्रक्रियाको सरलीकरणले ल्याउने प्रभाव र सो अनुरुप प्रशासन संयन्त्रले ग्रहण गर्न सक्ने र आउन सक्ने संभावित अवरोधहरुलाई न्यूनीकरण गर्न सक्ने गरि परिवर्तन गर्ने रणनीति लिनु आवश्यक हुन्छ ।
( लेखक कुशल प्रशासक तथा संघीयताका विज्ञ हुन् )

प्रकाशित :२०७७ पुष २२, बुधबार ०७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry