पार्टी परिवर्तन र राजनीतिक अवसरवादिता

आफूले मान्दै आएको राजनीतिक आस्था पछि पछि मन नपर्न सक्छ र यसै आधारमा अन्य आस्थावान् राजनीतिक पार्टी संग कुनै पनि ब्यक्ति आबद्ध हुने चलन पुरानै हो। आज पनि वाम पन्थी पार्टी त्यागेर लोकतान्त्रिक पार्टीमा आबद्ध भएका र प्रजातान्त्रिक पार्टी त्यागेर वाम पन्थमा आबद्ध भएका राजनीतिकर्मी प्रसस्तै भेटिन्छन् र एउटा प्रजातान्त्रिक पार्टीबाट अर्कोमा जाने र एउटा वाम पन्थी पार्टीबाट अर्को वाम पन्थी पार्टीमा जानु त सामान्य नै मानिन्छ। यसरी पार्टी परिवर्तन गर्नु व्यक्तिगत स्वतन्त्रता हुदा हुदै पनि यसमा स्वार्थ लुकेको हुदैन भन्न सकिदैन।
यसरी पार्टी परिवर्तन गर्ने प्रवृत्तिले सन्निकट निर्वाचनको मुखमा झनै बढोत्तरी पाएको देखिदैछ र यिनीहरूलाई स्वागत गर्न सो पार्टीका शीर्ष नेताहरू नै तछाड मछाड गरिरहेको देख्न पाईन्छ तर यसरी स्वागत भै रहे संगै सोही पार्टीबाट अन्य पार्टी तिर सोही पार्टीका कार्यकर्ता प्रवेश गरेको खवर पनि संगसंगै सुन्न र हेर्न पाईन्छ। यो कस्तो तमासा होरु यसरी प्रवेश गर्ने अन्य पार्टीका कार्यकर्तामा के निःस्वार्थपन होलारु अवश्य पनि छैन र उसले वर्तमान पार्टीका केही कार्यकर्तालाई अवश्य पनि पछाडि धकेल्छ नै।
Advertisement 1
केही महिना अगाडि एमालेमा असन्तुष्ठी जनाएर सो पार्टीको उछितो काढ्दै नेपाली कांग्रेसमा प्रवेश गरेका एकजना राजनीति कर्मीले नेकामा केही पद नपाएको झोकमा पुनः एमाले मै फर्केको धेरै भएको छैन। यो त एउटा उदाहरण मात्र हो। यसरी स्वार्थका लागि पिपलपाते चरीत्र देखाउने राजनीतिकर्मी जुनसुकै पार्टीमा पनि भेटिन्छन्।
अहिले देश निर्वाचनमय भै रहेको सन्दर्भमा यस्ता पिपल पाते वा चैतेहरू प्रसस्त भेटिन्छन्। यस्ता चैतेहरूबाट राजनीति धान्ने काममा कुनै पनि राजनीतिक दलहरू नलागेको राम्रो हो।
राजनीतिक दललाई आकर्षक बनाउनका लागि खोक्रो नारा दिएर हुदैन। विगतमा पानीजहाज ,रेलको नारा र घर घरमा ग्यासको पाईप पुर्याईदिने भनेर आकर्षक नारा दिने राजनीतिक दल र नेतालाई मतदाताले राम्ररी चिनी सकेका छन् र यस्ता दललाई आगामी चुनावमा मतदाताका अगाडि मुख देखाउन गाह्रो परेको अबस्था छ।
Advertisement 2
हत्केलामा विश्वलाई राख्न सक्षम मतदातालाई अझै पनि कुनै दल वा नेताले कमजोर ठानेर आंखामा छारो हाल्न खोज्छ भने मतदाताले त्यो छारोमा थप छारो थपेर उसैका आंखामा फालीदिने छन्। यसैले कुनै पनि पार्टीले मतदाता समक्ष काम गरेर देखाउनु पर्छ मतदाताको विश्वास जित्ने हो भने, आकाश पाताल जोड्ने गफले केही हुने वाला छैन।
यसरी पार्टीको गन्तब्य र आस्था मन परेर कुनै पूर्व शर्त विना कोही पार्टी प्रवेश गर्न चाहन्छ र पार्टीको मूल्यांकनमा निज योग्य ठहरिन्छ भने मात्र पार्टीमा प्रवेश गराउनु उपयुक्त हुन्छ नत्र भने पार्टीमा महत्वाकांक्षी र स्वार्थीको बोलवाला हुन गई निष्ठावान् र ईमान्दार कार्यकर्ताको मनोवल गिर्न जान्छ।
पार्टीको सिद्धान्त बुझेर अमुक पार्टामा लागेको त्यागी राजनीतिकर्मी सो पार्टीमा जस्तो सुकै अप्ठ्यारो आए पनि अन्यत्र जाने कोशिश गर्दैन तर पार्टीलाई पेशा बनाउन अमुक पार्टीमा लागेको ब्यक्ति सो पार्टीबाट ब्यक्तिगत फाईदा पाउन छोडे पछि अन्य पार्टी तिर पलायन हुन्छ। यसरी माईग्रेटेड भएको ब्यक्तिले त्यो पार्टीलाई पनि कमाई खाने भांडोको रूपमा प्रयोग गर्न चाहन्छ र पार्टीलाई विषाक्त तुल्याउछ।
Advertisement 3
पार्टीलाई यस्ता अवसरवादीको झुण्ड बन्न दियो भने ती अवसरवादीहरू पार्टीलाई समस्या परेको बेलामा मृतक शरीरलाई उपियाले छाडे जसरी पार्टी छाडेर जान्छन्।
हाम्रा देशका राजनीतिक कर्मी सबै खराबै छन् भनेर भन्न त सकिदैन तर पनि राजनीतिलाई पेशा बनाउनेहरूको बाहुल्यता नेपालका सबै पार्टीमा छैनन् भनेर भन्न सकिने अबस्था पनि छैन। यहां पार्टीलाई किन्न सकिन्छ र मतदातालाई समेत प्रभावमा पारेर राजनीति गर्न सकिन्छ भन्नेहरू बलिया भएर बसेका छन्। जनमतबाट हारेकाहरू समेत घुमाउरो बाटोबाट केन्द्रमा पुगेको कुरा घाम जत्ति कै छर्लंग छ। राजनीतिक योग्यतामा ईमान्दारिता र त्यागको अंश क्रमशःछायामा पर्दै गएको छ र यसको स्थान अपराध, गुण्डागर्दी र बेईमानहरूले लिदैछन्। यति मात्र हैन संविधानको दुरूपयोग गर्दै समानुपातिक र समावेशिताको नाममा आफ्ना श्रीमती, प्रेमिका र आफन्तहरूलाई लाभका पद र सांसदहरू समेत बनाएका उदाहरणहरू छन्।यसरी राजनीतिक क्षेत्र क्रमशः विषाक्त हुदै गएको छ। राजनेता भनाउदाहरू उपर जनताको विश्वाश क्रमशः स्खलनोन्मुख भएको छ। अब त मतदाताले नो भोटको बिकल्प समेत खोज्न थालेका छन्। यस्तो परिस्थितिमा राजनीतिकर्मीले आफू र आफ्नो पार्टीलाई सुधार्न सकेनन् भने यस्तो राजनीतिक अवस्थालाई जनताले तिरस्कार गर्ने दिन कुर्न धेरै प्रतीक्षा गर्न पर्ने छैन।