अवकाश अघि शहरी सचिव सिंहको २ करोडको अर्काे सेटिङ

शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्षको शुरुवातमै कोटेशनका नाममा बीसौं करोड रूपैयाँ बाँडेको छ । अर्काे महिना अवकाश हुन लागेका सचिव रमेशप्रसाद सिंहको दबावमा उनकै रुचिबमोजिमका सवा सयभन्दा बढी कन्सल्टेन्सीसँग विभागले विभिन्न शीर्षकका कोटेशन सम्झौता गरेको हो । सचिव भएपछि तेश्रो पटक उक्त मन्त्रालयमा आएका रमेश उमेरहदका कारणले नभई सचिव पदको कार्यकाल सकाएर मंसिर पहिलो साता घर जाँदै छन् । एकै वर्ष ५ वटा महानिर्देशक फेरेका उनले शहरी विकास तथा भवन निर्माण विभागमा पछिल्लो पटक ६ जना वरिष्ठ सहसचिवलाई पन्छाएर सातौं नम्बरका सुरेन्द्रमोहन श्रेष्ठलाई महानिर्देशक बनाएका छन् । कनिष्ठलाई महानिर्देशक बनाएर चालु वर्षका लागि विनियोजित अधिकांश बजेट इच्छानुकूलका कन्सल्टेन्सीलाई वितरण गर्न बाध्य पारेको मन्त्रालय श्रोतले बताएको छ ।

Advertisement 1

शहरी विकास विभागले बढीमा ३/४ लाखमा सजिलै हुने कामका लागि १० लाखको मूल्यांकन बनाई कोटेशनबाट काम गराएको छ । महानिर्देशकले २० लाखसम्मका निर्माणसँग सम्बन्धित योजनाहरू प्रतिस्पर्धा नगराई कोटेशनमार्फत दिनसक्ने प्रावधान छ । यस प्रावधानको दुरूपयोग गरी सचिवले महानिर्देशकमार्फत चाहेका कन्सल्टेन्सीहरूलाई करोड करोडका काम जिम्मा लगाएका हुन् । पहिले नै लेनदेन र अन्य पक्षको व्यवस्थापन गरी प्रतिस्पर्धाका नाममा कोटेशनमार्फत टुक्रे काम गर्न एकैजनाले ५/७ वटा कन्सल्टेन्सीहरू दर्ता गरेका हुन्छन् ।

रमेशले यस्ता कन्सल्टेन्सीका सञ्चालकहरूसँग कमिशन दिने शर्तमा करोड करोडका काम दिन बाध्य बनाएको विभाग श्रोतले उल्लेख गरेको छ । रमेशको सिफारिशमा एउटै व्यक्तिका विभिन्न नाममा दर्ता रहेका ५ वटासम्म कन्सल्टेन्सीलाई २० लाखका दरले एक करोडको काम दिइएको पनि श्रोतको दाबी छ । बढीमा ४ लाखमा हुने कामलाई १० लाख मूल्यांकन गरी सम्झौता गर्ने र त्यसैबाट ४ लाख शुरुमै नगद बुझ्ने रमेशको मुख्य धन्दालाई बिहान, बेलुका र बिदाका दिनमा समेत आएर काम गरी विभागका कर्मचारीले सघाइरहेका छन् ।रमेशले सर्वाेच्चबाट हालका ५२ भाइलाई उछिट्ट्याएर आफू अख्तियार आयुक्त वा मुख्यसचिव हुने पक्का भएको भन्दै धम्क्याएको श्रोतले दाबी गरेको छ । आगलागी, भूकम्प लगायतका प्राकृतिक प्रकोप तथा आपतकालीन अवस्थामा प्रतिस्पर्धा गराएर अत्यावश्यक कामहरू गराउन ढिलाइ हुन सक्ने तथ्यलाई ध्यानमा राखी तत्काल कामहरू गराउन विभागीय प्रमुखहरूलाई २० लाखसम्म कोटेशनमार्फत खर्च गर्नसक्ने प्रावधान राख्ने गरिन्छ । तर यस आर्थिक वर्षभित्रमा गरे पनि हुने कामहरू बिना प्रतिस्पर्धा टुक्रे योजना बनाई आवको शुरुमै कोटेशनमा जानु विकृति भएको एक सहसचिव बताउँछन् । विभागको सबभन्दा धेरै बजेट भएको विश्व बैंकका सहयोगका योजनाहरूका प्रमुख रविन्द्र बोहोराले रमेशका तर्फबाट कोटशनका काम दिन र सम्झौतालगत्तै कोशेली उठाउन भूमिका खेल्दै आएको श्रोतको दाबी छ ।

Advertisement 2

जाँदाजाँदै २ करोड ?

सचिव रमेशकै जोडबल र दबावमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले ७ करोडभन्दा बढीको काठमाडौँ उपत्यकाको बृहत्तर गुरुयोजना तयार गर्ने कामका लागि कन्सल्टेन्सी छनौट गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । प्राविधिक, त्यसमा पनि निर्माण र इञ्जिनियरिङसम्बन्धी काम मात्र हुने प्राधिकरणमा प्रमुखका रूपमा अहिले समाजशास्त्रकी विद्यार्थी जानुका ढकाल रहेकी छन् । सरकारी जागिरे भइसकेपछि पनि रमेशले उनका ३ वटा भन्दा बढी कन्सल्टेन्सीहरू चलाउँथे र तिनका कार्यालय जानुकाको घरमा राखेका थिए । पुरानो सम्बन्ध भएका रमेशले जानुकालाई प्राधिकरणको प्रमुख बनाउन निकै पापड बेल्नुप¥यो । यसका लागि इञ्जिनियर मात्र प्रमुख हुने विनियमावली नै परिवर्तन गरी समाजशास्त्र पढेकाले पनि उपत्यका विकास प्राधिकरणको प्रमुख हुन पाउने प्रावधान बनाएर केपी ओलीको हातबाट नियुक्ति दिलाइछाडे ।

Advertisement 3

भाइकाजी तिवारीको अवकाशपछि रमेश आफैं संयोजक भई प्राधिकरणको प्रमुख छनौट समिति बनाएर जानुकालाई चयन गरेका हुन् । प्रमुख छनौटका लागि आवश्यक प्रश्नहरू रमेशले नै बनाएका शहरी विकास विभागका महानिर्देशक सुरेन्द्रले चयन गरेका थिए । अहिले तिनै जानुका प्रमुख भएको प्राधिकरणले रमेशको कार्यकाल नसकिंदै हतारहतार ७ करोडको काम टुंग्याउन लागेको हो । यो योजना दिनका लागि रमेशले २ करोड मागेको श्रोतको दाबी छ । योजनाको आर्थिक प्रस्ताव यही कात्तिक २२ गते खोलिने भएको छ । प्राधिकरणमा रमेशका तर्फबाट कन्सल्टेन्सीहरूसँग मोलमोलाई गरी रकम उठाउने काम निलम डंगोलले गर्र्दै आएका छन् । भवन विभागबाट अवकाश हुनासाथ उनलाई रमेशले मासिक २ लाख तलब भत्ता दिनेगरी विज्ञका रूपमा प्राधिकरणमा नियुक्त गरेका हुन् । समाजशास्त्र पढेकी जानुकालाई प्रमुख बनाएर निलमलाई हर्ताकर्ता बनाई शुभलाभ हासिल गरिरहने रमेशको शैली अरु उच्चपदस्थले पनि अनुशरण गर्दा राम्रै फाइदा हुने बताइन्छ !

प्रकाशित :२०७९ कार्तिक २०, आईतवार ०६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry