भित्रको शक्ति जगाऔं, जीवन र जगतलाई सुन्दर बनाऔं
यो पृथ्वी मानिस लगायत धेरै प्राणीहरुको साझा घर हो । पृथ्वीमा मानिस नै उत्कृष्ट प्राणी हो । हामी जसरी बदलिन्छौं, त्यसरी नै यो पृथ्वी र यहाँ रहने सबै प्राणीहरु बदलिन्छन् । हाम्रो व्यवहारले नै मानव समाज र प्राणी जगत प्रभावित हुन्छ र यो संसारको स्वरुपमै परिवर्तन आउँछ । हाम्रो सोच्ने शक्ति नै संसार बदल्ने शक्ति हो । हाम्रो सकारात्मक सोच र कार्यले संसार सुन्दर बन्छ भने हाम्रा नकारात्मक चिन्तन र व्यवहारले संसार ध्वस्त पनि हुन सक्छ ।
Advertisement 1
मानिससँग ध्वंसात्मक र सृजनात्मक दुवै शक्ति हुन्छ । हामीले हामीभित्र असल संस्कार हुर्काएर राम्रो रहनसहन, राम्रो व्यवहार, राम्रो दिनचर्याको विकास गर्न सकेमा यो विश्वमा राम्रो सामाजिक वातावरण बन्छ र राम्रो वातावरणमा हुर्केका सबै मानिस सकारात्मक र सिर्जनात्मक हुन्छन् । तिनीहरुको कार्यले नै संसार रुपान्तरित भएर सुन्दर बन्छ र हामी सबै सुखी र आनन्दित बन्नेछौं । साथै सबै प्राणी
जगत नै सुखी र आनन्दित बन्नेछ । सबै जातजातिको र सबै प्राणीहरुको सहअस्तित्व कायम रहने छ । यो संसार सबै मानवजाति र प्राणीहरुको साझा फूलबारी बन्ने छ ।
संसारलाई शान्त, सुन्दर, सुखी र सम्पन्न बनाउन सबैले असल कर्म गर्नु पर्दछ । असल र सकारात्मक कर्मको प्रतिफल सकारात्मक हुन्छ । मानव जगतको इतिहास नियालेर हेर्दा आज भन्दा पाँच हजार वर्ष पहिले आनन्दित एवम् सुखी र शान्त थियो । मानिस लगायत कुनै पनि प्राणीहरु दुःखी थिएनन् । पहिलेको मानव सभ्यता अत्यन्तै सुखमय थियो । पछि आएर करिब तीन हजार वर्षदेखि दुःखको सुरुवात भयो । मानिसले आफ्नै व्यवहारले गर्दा उसले दुःख भोग्न थाल्यो र अशान्ति महसुस गर्न थाल्यो । त्यसपछि उस्ले दुःख हटाउने र शान्ति प्राप्त गर्ने उपायको खोजी गर्न थाल्यो ।
Advertisement 2
दुःख हटाउने उपाय खोज्न पहिलेपहिले ठूलाठूला तपस्वी ऋषिमुनीहरु आएर तपस्या गरेको र ज्ञान प्राप्त गरी शास्त्रहरुको रचना गरेको कुराहरु सुन्न पाइन्छ । त्यसपछि करिब अढाइ हजार वर्ष पहिलेदेखिको इतिहासलाई केलाउने हो भने यो अवधिमा मानिसहरुले सुख र शान्तिका धेरै मार्गहरुको खोजी गरे । केही व्यक्तिहरुले त यसको लागि धेरै ठूलो त्याग र तपस्या पनि गरे । सिद्धार्थ गौतमले त सुख र शान्तिको खोजीमा दरबार, राजकाज र परिवार नै त्यागे ।
मानिसहरुको सुखको लागि जिसस क्राइष्ट क्रुसमा चढ्न तयार भए । मानिसहरुको लागि सुखको बाटो खोज्नको लागि महावीर, इब्राहिम, गुरु नानक आदिले पनि ठूलो त्याग र तपस्या गरे । उनीहरुले गरेको त्याग र तपस्याको परिणाम स्वरुप उनीहरुले ज्ञान पनि प्राप्त गरे । आ–आफूले प्राप्त गरेको ज्ञानको आधारमा मानिसहरुलाई सुख र शान्ति प्राप्त गर्ने उपायहरु बताए । उनीहरुका अनुयायीहरु पनि आए र आ–आफ्ना धर्मको स्थापना गरे । जसको कारण बुद्ध धर्म, क्रिस्चियन धर्म, जैनधर्म, इस्लाम धर्म, शिख धर्म आदि धर्महरुको विकास गरे । दुःखको कारण खोजी गरी त्यसको निदान गर्न धर्महरुको स्थापना गरिएको हो ।
सबै धर्मले शान्ति र सुखका लागि प्रयास गरे । सुरुवातमा सबै धर्मले राम्रै गर्ने प्रयास गरे । सबैले असल आचरण, व्यवहार र अनुशासन सिकाएर मानिसहरुलाई दीक्षित गरे । तर ती धर्मका मूल्य मान्यतामा पनि केही गिरावट आयो–हामी मानिसहरुकै व्यवहारका कारण । अहिले आएर धर्मका नैतिक मूल्य–मान्यता, अनुशासन, आचरण, नीतिनियम बारे पनि आ–आफ्नै ढंगले व्याख्या गरी चल्न थालिएको छ । धर्म संस्थापकहरुले देखाएको मार्ग भन्दा फरक ढंगले चलेर हरेक धर्मलाई विभाजन गरी विभिन्न पन्थ र सम्प्रदायमा परिणत गरिएको छ । एउटै धर्मका मानिसहरु पनि एक आपसमा मनमुटाव राख्दै आपसमा लडेको देखिन्छ । धर्म संस्थापकहरुले जो सपना देखेका थिए, त्यो अहिले आएर पूरा हुन सकेकोे पाइन्न ।
Advertisement 3
हामी सबैमा लोभलालच, दम्भ, अहंकार र असहिष्णुताले घर गरेको कारण यो अवस्था आएको हो । मानिसमा सहन शक्तिको अभाव भएर, लोभलालच बढेर, काम, क्रोध, मोह बढेर नै द्वन्द्व हुने हो । यसैले हाम्रो समाजमा द्वन्द्व, अशान्ति र दुःख बढेको हो । यसबाट हामी मानिसहरु त पीडित छौं नै सारा प्राणी जगतलाई नै हामीले पीडित बनायौं । हाम्रो कारणले आज सबै जनावरहरुले दुःख र हिंसाको पीडा भोग्नु परेको छ ।
मानव जाति र प्राणी जगतको वास्तविक सुख, शान्ति र आनन्द प्राप्तिको लागि हामी प्रत्येक मानिसले आठ शक्तिको धारण गर्नु पर्दछ । ती हुन् सहन गर्ने शक्ति, समाउने वा समाहित गर्ने शक्ति, पारख गर्ने शक्ति, निर्णय लिने शक्ति, सामना गर्ने शक्ति, सहयोग गर्ने शक्ति, विस्तारितलाई संकुचन गर्ने शक्ति र समेट्ने शक्ति । जीवन सुखी बनाउन र असल जीवन जिउने कलाको विकासको लागि हामीले यी शक्तिहरुको धारण गर्न जरुरी छ ।
अहिले हामी सबैमा सहन गर्न सक्ने शक्तिको अभाव भइरहेको छ । अलिकति कसैले केही भन्यो भने हामी रिसाएर जाई लाग्छौं । अहंकारका कारण आगो भएर हात हाल्न पनि बेर गर्दैनौं । इँट्टाको जवाफ ढुंगाले भने झैं गरिदिन्छौं । सहनशीलताको अभावले झगडा, द्वन्द्व र हिंसा बढाएको धेरै देखिन्छ । तर ज्ञानी महात्माहरु त्यसो गर्दैनन् । कसैले गल्ती गरे या दुःख दिए पनि सहने गर्दछन् । आपूmलाई गाली दिने, अपमान गर्ने र दुःख दिने सबैलाई क्षमा दिने गर्दछन् ।
सहन शक्तिको कुरा गर्दा प्रकृतिबाट पनि सिक्न सकिन्छ । फलले लटरम्म वृक्षमा ढुंगा प्रहार गर्दा त्यसको सट्टामा उक्त वृक्षले मीठो फल दिने गर्दछ । हामीले पनि कसैले गाली दिन्छ भने गालीको सट्टा अमृत वाणीे बर्साउन जान्नु पर्छ । आमाहरु त्यसै गर्दछन् । बच्चाहरुले जति नै विराम गरेर दुःख दिए पनि आमाले सबै कुरा सहने गर्दछिन् । किनकि उनको बच्चाप्रति अत्यन्न ठूलो प्यार रहेको हुन्छ । प्यारभरा मनले सहन गर्ने शक्ति दिन्छ । हामीले पनि सबै मानिसलाई प्यार पूर्वक हेर्ने गर्दछांै भने सानातिना घच्चपच्च सबै सहन गर्न सक्दछौं । क्षमा दान महादान हो भन्ने बुझ्नु पर्दछ ।
हामीले धारण गर्ने अर्को गुण हो समाउने शक्ति । सबै कुरालाई हामीले समाउन सक्यौं र जस्तो परिस्थितिमा पनि अनुकुलित हुन सक्यौं भने त्यो नै महानता हो र विशालता पनि । उदाहरणको लागि समुन्द्र यस कारणले विशाल मानिन्छ कि उसले जताततैबाट आउने नदीहरुलाई समाउन सक्ने क्षमता राख्दछ । नदीहरुले बोकेर आएको सबै फोहोर, हिलो, मैलो र कचराहरुलाई पनि तिरस्कार गर्दैन । बरु त्यो सबैलाई पिंधमा समाई राखेर आफू निश्चल र निर्मल रहने गर्दछ । यो शक्ति पनि हामीमा हुनु जरुरी छ । यसले जस्तोसुकै परिस्थितिलाई पनि स्वीकार गर्ने बानीको विकास गर्दछ । जसरी उर्लंदो बाढी बोकेर आउने नदीलाई पनि समुन्द्रले आफूमा समाहित गरेर शान्त बनाइदिन्छ ।
हामीमा हुनु पर्ने तेस्रो शक्ति हो पारख गर्ने शक्ति । यो शक्तिले सत्य असत्य, राम्रो नराम्रो, सक्कली नक्कली, ठीक बेठीक छुट्याउन मद्दत गर्दछ । कसको संगत गर्ने, कसको नगर्ने, कुन पुस्तक पढ्ने, कुन नपढ्ने छुट्याउन सहयोग गर्दछ । बाहिरी आँखाले राम्रा देखेका सबै कुरा असली नहुन सक्दछन् । राम्ररी ठम्याउनको लागि त अन्तर चक्षुले हेर्ने गर्नु पर्दछ । गर्न हुने र गर्न नहुने कामको पारख गर्न सक्यौं भने जीवनको यात्रामा कहिल्यै धोका खानु पर्दैन ।
धारणा गर्ने चौथो गुण हो निर्णय गर्ने शक्ति । जीन्दगी जीउने क्रममा हामीलाई धेरै खालका अवसरहरु विकल्पका रुपमा आउँछन्् । कुनै सामान्य मानिसले अपनाउने खालका हुन्छन् । कुनै विशिष्ट मानिसहरुले अपनाउने खालका हुन्छन् । कुनै अति विशिष्ट मानिसहरुले अपनाउने खालका हुन्छन् । जीवनमा धेरै चुनौती पनि आउँछन् । तर चुनौतीहरुले नै अवसरको ढोका खोलिदिएका पनि हुन्छन् । यस्तो परिस्थितिमा हामी भित्रको निर्णय शक्तिलाई प्रयोग गर्न सक्नु पर्दछ । हतार नगरी, सोच विचारका साथ, सही समय र सही कुराको लागि लिएको निर्णयले सफलताको चुलीमा पु¥याउँछ । तर गलत निर्णयले जीवनभर पश्चाताप गराइरहन्छ ।
धारणा नगरी नहुने अर्कौ शक्ति हो सामना गर्ने शक्ति । जीवन जिउने क्रममा विभिन्न समस्या र विपत्तिहरु पनि आउँछन् । विपत्तिहरु आइपर्दा सामना गर्नु पर्दछ । कुनै नजिकको आफन्तको मृत्यु हुँदा, धन जनको क्षति हुँदा त्यतिखेर सामना गर्ने शक्तिद्वारा परिस्थितिको सामना गर्दै आफूलाई सम्हाल्दै अगाडि बढ्न सक्नु पर्दछ ।
अर्को हो सहयोगको शक्ति । सहयोगी मानिसको जताततै प्रशंसा पनि हुन्छ । भनिन्छ सहयोग दिनु र लिनु देवताहरुको गुण हो र सहयोग नदिने र नलिने असुरहरुको गुण हो । हामीले पनि सहयोग दिने र लिने गर्नु राम्रो हुन्छ । सबैको सहयोगको अंगुलीबाट दुःखको ठूलो पहाडलाई पनि हटाउन सकिन्छ । समाज परिवर्तन र दुःखको निवारणको लागि सहयोगको शक्ति धारणा गर्ने अभ्यास गर्नु पर्दछ ।
सातौं शक्ति हो विस्तारको संकीर्ण गर्ने शक्ति । हामी कर्महरु गर्नको लागि इन्द्रीयहरुको सहयोग लिएर गर्ने गर्दछौं । काम पर्दा यिनीहरुको प्रयोग गर्ने हो नभए यथास्थितिमा काबुमा राख्ने हो । इन्द्रीयहरुलाई काबुमा नराख्दा हामीलाई नै धोका हुन्छ । जसरी कछुवाले आफ्ना अंगहरुलाई काम पर्दा फैलाएर बाहिर निकाल्छ र काम सकिए पछि सानो बनाएर खोल भित्र राखेर बस्दछ । यसबाट उ आफू पनि सुरक्षित हुन्छ । हामीले पनि हाम्रा इन्द्रीयहरुलाई नियन्त्रणमा लिने शक्ति धारणा गर्न सके इन्द्रीयहरुले दिन सक्ने धोकाबाट बच्न सकिन्छ । इन्द्रीयको दास बन्नु हुँदैन । यिनीहरुलाई नै दास बनाउने शक्ति धारण गर्न सके जीवन सफल हुन्छ ।
अर्को शक्ति हो समेट्ने शक्ति । जसरी हामी कुनै स्थानको यात्रामा जाने सोच बनाउँछौं, त्यतिखेर के लैजाने र के नलैजाने भनेर सामानहरुको सूचि तयार गरी झोलामा राख्ने गर्दछौं । हामी हाम्रो केही दिनको यात्रामा हाम्रा सबै वस्तु त बोकेर जान्नौं, जे काममा आउँछन् तिनीहरुलाई झोलामा समेट्छौं । अरु सबै छाडिदिन्छौं । हामीले हाम्रो जीवनरुपी यात्रामा पनि धेरै कुराहरु समेटेर काम छैन । सबैले हाम्रो लक्ष्य अनुसार जीवनको यात्रा तय गरेका हुन्छौं । यात्रामा काम लाग्ने बस्तु, विचार, शिक्षा, गुण र अनुभवहरु मात्र लिएर अगाडि बढियो भने मात्र लक्ष्य प्राप्ति गर्न सक्छौं । साथी पनि धेरै हुन सक्छन् गुरुहरु पनि धेरै बन्छन् तर असल साथी र गुरुहरुको साथ लिए मात्र गन्तव्यमा पुग्न सकिन्छ । कसैले दिएका गाली, कसैले गरेको अपमान, कसैप्रतिको द्वेष, रिस, राग, इष्र्याको पोको बोकेर जीवनको यात्रा पूरा हुन सक्दैन । त्यसैले नचाहिने बस्तुहरुलाई छाँटेर आवश्यकजस्तै स्नेह, प्रेम, दया, करुणा जस्ता बस्तुहरु मात्र समेटेर यात्रा गरे जीवन सुन्दर बन्दछ र धेरै प्राप्ति पनि मिल्दछ ।
यी सबै शक्तिहरु कसैले दिने होइन दानको रुपमा । त्यो आफैंले आर्जने हो । त्यसको लागि योग, ध्यान, अध्ययन, मनन् र धारणाबाट मात्र प्राप्त हुन्छ । योगहरु मध्य पनि राजयोग यसको लागि उत्तम माध्यम हो यसको अभ्यासमा लाग्न सके सबैको जीवन सुखमय हुनेछ र यो संसार सुन्दर बन्नेछ । मानिस बाहेक अरु प्राणीमा ध्यान, योग गर्ने, ज्ञान आर्जन गर्ने क्षमता रहँदैन । हामीलाई राजयोगको माध्यमबाट स्वयम् परमात्मा आएर स्वपरिवर्तनबाट संसार परिवर्तन गर्ने ज्ञान दिनु भएको छ । यसको धारणा गर्न सके हामी परिवर्तन हुन्छौं र संसारलाई परिवर्तन गर्न सक्दछौं । त्यसपछि हामी मानवजाति लगायत सबै प्राणी सुखी बन्नेछन् । सबै मानिसले अहिंसाको बाटो रोज्नेछन् । कुनै पनि प्राणीको अकालमा ज्यान जाने छैन । मानिसले देखाएको सहिष्णुता, दया, करुणाको भावले पशुपक्षीहरु पनि हिंसाको चपेटामा पर्ने छैनन् । अहिलेको जस्तो कसैले पनि दुःख, यातना, ताडना भोग्नु पर्ने छैन । एकले अर्कालाई स्नेह गरी सँगै बस्ने वातावरण बन्ने छ । त्यस्तो शान्त सुखी संसार नै बैकुण्ठ या स्वर्ग हो । यो धरामा स्वर्ग ल्याउने हामीले नै हो । त्यसैले अब हामी बदलिनुको विकल्प छैन ।