श्री स्वस्थानी व्रत कथाका सकारात्मक सन्देशहरू

श्री स्वस्थानी व्रत कथा हाम्रा १८ पुराणहरू मध्ये स्कन्ध पूराण को केदार खण्डबाट लिईएको हो। यो व्रत पौष शुक्ल पूर्णिमा देखि शुरू भएर माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्ने सब भन्दा लामो व्रत हो। यसैले यस व्रतलाई माघ महात्म्य पनि भनिन्छ। यो कथा महादेवका पुत्र कुमार र अगत्स्य मुनि बीचको सम्वादमा आधारित छ।यो कथामा शिव भगवानको स्तुति गरिएको छ।

Advertisement 1

यो व्रतको शुरू मै व्यक्तिगत सरसफाईलाई जोड दिदै व्रत बस्नु अगाडि हात गोडाका नंग काट्ने नुहाई धुवाई गर्ने जस्ता व्यक्तिगत स्वास्थ्य सम्बन्धी कुराहरू गरिएको छ। यसैमा आहारब्यहारमा ध्यान पुर्याउने कुरा गरी शारीरिक स्वास्थ्यलाई जोड दिईएको छ। त्यस्तै दान दिने कुरामा बिलम्ब गर्नु हुदैन भनेर परोपकारमा जोड दिएको विषय गोमा र महादेव बीचको ब्यबहारमा उल्लेख भएको पाईन्छ। यो कथामा आफ्ना आमाबाबु उपर सन्तानको कर्तब्यको उल्लेख भएका आख्यानहरू पढ्न पाईन्छ ती मध्ये नवराजले आफ्नी आमा गोमा र बाबु शिव शर्मा उपर देखाएको त्यागलाई लिन सकिन्छ।

आफूले अनुहारै नदेखेका आफ्ना बाबुको खोजीनीति गरेर तीर्थमा काज किरिया सम्म गरेर आफ्ना बाबु प्रति नवराजले देखाएको श्रद्धा अनुकरणीय छ। हरेक सन्तानले आफ्नो घर परिवार उपर देखाउनु पर्ने जिम्मेवारी यी नवराजले देखाउन सफल भएका छन्। आर्थिक रूपले विपन्न र असहायलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषय गोमाका गाऊलेहरूले गोमालाई दुःख कष्ट पर्दा देखाएको सदाशयतालाई लिन सकिन्छ। अरूलाई आलोचना र अपहेलना गर्नु हुदैन भन्ने पाठ चन्द्रावतीले डोले उपर गरेको ब्यबहार र स्वस्थानी माता उपर गरिएको अपहेलना नै पर्याप्त हुन्छ। ठूलो पद पाएर पनि घमण्ड गर्नु नहुने विषय नवराज लावण्य देशको राजा हुन पाउदा समेत उनले देखाएको सरलता नै काफी हुन्छ।

Advertisement 2

पति पत्नी बीचको स्नेह कस्तो हुनु पर्ने हो भन्ने उदाहरण कथाका बिभिन्न ठाऊमा पाईन्छ तर पनि सतीदेवीको मृत शरीरलाई समेत बोकेर हिड्ने महादेवको हालत हेर्दा बुझ्न सकिन्छ कि जीवन रथका यी दुई पांग्रा बीचको स्नेह कतै देखावटी हुन सक्दैन। विरक्तिएर हिडेका महादेवले वोकेको सतीदेवीको मृत देह पतन भएका स्थानहरू अधिकांश नेपाल मै पर्छन्। यी ठाऊहरू मध्ये सीमित स्थानहरू मात्र संरक्षित छन् तर बाकि स्थानहरूलाई समेत संरक्षण गरेर धार्मिक तीर्थहरू बनाउन सके नेपालमा धार्मिक पर्यटनलाई बढवा दिन सकिने देखिन्छ। हुन त यसमा स्थानीय निकायहरू प्रयाशरत् होलान् नै। स्वस्थानी स्वभावैले आत्म अनुशासनमा राख्ने र रहने पर्व हुनुका नाताले पनि मानव जीवनमा आत्म अनुशासनको ठूलो महत्व छ। नैतिकताको खडेरी परेको हाम्रो परिवेशमा स्वस्थानीबाट पाईने पाठ र शिक्षालाई दैनिकीमा ल्याउन सके सार्थक हुने देखिन्छ।

हुन त नेपालमा नास्तिकहरू बढ्दै छन् र नास्तिकतालाई नै राजनीतिको नामबाट भजाउने केही नक्कली राजनीतिज्ञले यसमा भएको अनमेल बिबाह, बाल बिबाह, छलछाम जस्तो ब्यबहारलाई लिएर आलोचना गरेको पनि पाईन्छ। तर तिनीहरूले के बुझ्न जरूरी छ भने यो कथाको थालनी हुदाको समाज, चेतनाको स्तर कस्तो थियो भन्ने हेक्का नराखी वर्तमान संग तुलना गर्नु केवल विरोधका लागि विरोध वाहेक केही हो जस्तो लाग्दैन। हाम्रो पूर्वीय दर्शन वैज्ञानिक छ, अहिलेको विज्ञानको भण्डार र श्रोत हाम्रै दर्शन हो। त्यसैले हाम्रा दर्शनमा आधारित पूराणहरु संग सम्बन्धित व्रत एवं कथाहरूमा पनि विज्ञान रहेको पाईन्छ। हाम्रो समाज, परिवार र व्यक्तिलाई अनुशासित र संयमित बनाउन र निः स्वार्थ सेवा गर्ने प्रेरणा दिन हाम्रा पूराण र यसमा आधारित शाश्त्रहरूको ठूलो महत्व छ।

प्रकाशित :२०७८ माघ ७, शुक्रबार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry