नेपालमा कर्मचारीतन्त्रको मनोविज्ञान

कुमार दाहाल,सहसचिव
कुमार दाहाल
तन्त्रको अर्थ व्यवस्था वा पद्धति हो । कामदार वा कारिन्दाले कर्मचारी जनाउँछ। कर्मचारीतन्त्रको सरल अर्थ कामदारको व्यवस्था हो। कुन काममा कस्तो कामदार चाहिन्छ यसको निर्क्योल कर्मचारीतन्त्रले गर्दैन ।किनकि कर्मचारितन्त्र स्थिर पद्धति हो ।यो आफैंमा चलाएमान हुँदैन। तलब लिएर काम गर्ने कारिन्दा स्वयं परिचालित हुँदैन। कर्मचारीतन्त्रलाई तेस्रो शक्तिले परिचालित गर्छ, त्यो हाे नीति ।
टेलरले वैज्ञानिक व्यवस्थापन सिद्धान्तमा “मानिसले पैसाको लागि काम गर्छ ” भनेका छन्. “जति पैसा दियो त्यति उत्पादन र गुणस्तर कामदारले बढाउछ.” उनको सिद्धान्त हो ।जो आज पनि उत्तिकै राम्रो छ । पैसाको साथै सम्बन्ध ,सहभागिता ,समन्वय, आवश्यकता, सन्तुष्टि, मनोबल, नैतिकता ,अन्तरसम्बन्धमा कर्मचारीले काम गर्छ भन्ने थुप्रै सिद्धान्त आए। सबै सिद्धान्तले कामदारलाई केन्द्रविन्दु बताएका छन्।तर , कामदारले किन काम गर्छ र किन काम गर्दैन भन्ने विषय आज पनि त्यत्तिकै अध्ययनको विषय हाे।
संसारमा कर्मचारीतन्त्रको एउटै स्वभाव हुन्छ। तलब लिएर काम गर्ने ।तलब बिना काम गर्नेलाई कर्मचारीतन्त्र भनिँदैन। यो वर्ग यसको अर्थ भन्दा बाहिर हुन्छ। त्यसैले राजनीति र कर्मचारीतन्त्रको बीचमा फरक छ। राजनीतिले काम गर्न तलब लिदैन। राजनीतिमा सिद्धान्त महत्वपूर्ण हुन्छ। नीति र सिद्धान्त बिनाको राजनीति कर्मचारीतन्त्र जस्तै देखिन्छ। जुन अहिले नेपालमा देखिएको छ ।नेपालको राजनीतिले कर्मचारीतन्त्रको जस्तै नीति मनपराउँछ ।किनकि टेलरले भनेजस्तै उनीहरु पैसाको लागि काम गर्छन्। यहीबाट नेपालको कर्मचारीतन्त्रको मनोविज्ञानलाई नियाल्नु पर्छ।
नेपालकाे कर्मचारितन्त्र ६ प्रकारको मनोविज्ञानबाट ग्रसित छ । योग्यताको अहमता ,राजनीति प्रतिको नरम भाव र समर्पण, स्रोत सुविधामा पद,पेशा र प्रतिष्ठाको सम्बन्ध, आत्मरती र एक्लो मूल्यांकन र अबिश्वास, विचार सम्प्रेषणमा लजाउने प्रवृति , एक्लो बृहस्पति झुटो। कर्मचारीतन्त्रमा यस्तो मनोविज्ञान किन देखियो? यी विषयमा नीतिः खराव हो? वा व्यवहार? प्रश्न थुप्रै छन्।
तल्लो तहका कर्मचारीले माथिल्लो कर्मचारीलाई मालिक देख्छन्। माथिल्लाले तल्लो कर्मचारीको खटनपटन गर्छन्। यो नीतिभन्दा बाहिर हुन्छ ।जसमा पैसाr र सम्बन्धले काम गर्छ। कर्मचारीहरु आफ्नो नेतृत्वको कदर गर्नुभन्दा पैसा र सम्बन्धको पछि लाग्छन् र भन्छन् तिमी पनि म जस्तै हौ। म किन तिमीलाई मान्ने? । सम्मानकालागि नेतृत्त्वमा आदर्श ,नैतिकता र उदाहरण हुनुपर्छ। जब यो हुँदैन त्यहाँ हार्दिकता हुँदैन। औपचारिकतामात्र हुन्छ ।जुन नेपालको कर्मचारीतन्त्रमा देखिएको छ।यसमा तल कर्मचारी दोषी छैनन् ।जो नीतिमा बस्दैनन् , भागबण्डा गर्छन्, उनीहरु दोषी छन्। र हामी भन्छौं समग्र कर्मचारीतन्त्र दोषी छ ।माथिल्ला कर्मचारीको मनोविज्ञान म ठीक हो भन्ने छ। तर यसको मूल्यांकन आज समग्र राज्य संयन्त्रले गरिराखेका छ।
राजनीति नेतृत्वलाई साँचो नभन्ने र त्यही राजनीतिको पछि लागेर पद प्राप्त गर्ने समर्पण उच्च तहमा छ। ।राजनीति नेतृत्वले यसैलाई विश्वास गर्छ। किनकि ‌योग्यताले मन्त्री पद पाइदैन। मन्त्री योग्यताले नपाएपछि राजनीतिले कर्मचारीतन्त्रलाई यसरी नै प्रयोग गर्ने हाे। र उच्च पदहरु आकर्षक नेतृत्व गुम्ने डरले बोल्दैनन् ।झुटो र सत्य छुट्याउने साहस गुमाउँछन् ।र अन्तिममा जालमा पर्छन्। जुन अहिले देखिएको छ। यसमा अरु कर्मचारीहरु भित्र-भित्रै ताली पड्काँउँछन।र भन्छन् खुच्चिङ ! तर अवसर पाएमा सबै कर्मचारीहरुले गर्ने व्यबहार यही हो।
जो काम गर्छन् उनीहरू बोल्दैनन्। किनकि पैसा पावर र सम्बन्धको दौडमा यिनी लाग्दैनन्। यिनलाई नेतृत्वले इमान्दार र सोझो भन्छ ।तर मुल्यांकन गर्दैन। आफ्नो काम गर्छन् ।विकृतिलाई टुलुटुलु हेर्नु बाहेक यिनीहरू केहि गर्न सक्दैनन्।।समग्रमा यिनै कर्मचारीले कर्मचारीतन्त्रको यथार्थ स्वभाव धानेका छन्। तल्लो देखी उच्च पदसम्म यस्ता कर्मचारी मिश्रित रुपमा छन्। तिमीहरु सेवा प्रवाहमा तल्लीन छन् ।दुरदराजमा काम गरेका छन् ।जनताको मन जितेका छन् ।केही प्रतिशत यी कर्मचारीलाई संयन्त्रले चिन्दैन। तर खुशी छन्। यिनीहरूको आवाज सिंहदरबारसम्म पुग्दैन। i जबसम्म यो वर्गको प्रतिनिधित्व नीति र नेतृत्वमा पुग्दैन तबसम्म नेपालको कर्मचारीतन्त्रले काँचुली फेर्न सक्दैन ।
भ्रष्टाचार र अनियमिततामा राजनीति र कर्मचारीतन्त्र दुवै फसेको छ। किनकि दुवैमा निष्ठा छैन। निष्ठा विनाको सेवा र स्वार्थ भएको पेशाले उत्तरदायित्व वहन गरे जस्तो मात्र देखाउँछ। यत्रो अनियमितता र भ्रष्टाचार हुँदा राजनीतिक नेतृत्व किन पहरेदार हुन सकेन? कर्मचारीले तलब खान्छ। तलवका लागि काम गर्छ ।तर राजनीति समग्र राज्यसंयन्त्रको पहरेदार हो।जब पहरेदार चोरी गर्न थाल्छ कामदारले त्यसलाई सघाउँछ। दुबैको मन मिल्छ। आशय मिल्छ ।नेपालमा राजनीति र प्रशासन दुबैको मन मिलेको छ। नत्र संवैधानिक अंगहरु किन चुप छन्? राज्यको नीतिको खराबीलाई किन नजरअन्दाज गर्दै छन् ?यो कतै कर्मचारीतन्त्रको विघटनको सूचक त होइन? अहिले नेपालमा देखिएको कर्मचारीतन्त्रको यो मनोविज्ञानलाइ कुनै सिद्धान्त र व्यवहारले समेट्दैन। व्यवस्थापनका सिद्धान्तले ब्याक्ती संस्था र पद्धतिलाई डोर्याउँछ। तर यहाँ डोर्याउने नेता र नेतृत्व नै पद सुविधा र प्रतिष्ठामा रमाएका छन्।
प्रकाशित :२०७९ श्रावण १७, मंगलवार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry