अनि मैंले न्यायधीशकै अगाडि बिष खाइदिए

प्रहरी–प्रशासनदेखि भ्रष्ट न्यायाधीशसम्म किनेर एउटी अबला नारीको जिन्दगीसँग कहिलेसम्म खेलिरहन्छ नेपालको न्यायालय र प्रहरी प्रशासन ? के नेपालको कानुन निमुखाका लागि मात्र हो ? होइन भने व्यभिचारीमाथि किन हुँदैन कारबाही ?
Advertisement 1
जन्मिएँ सिरहामा, हुर्किएँ सोलुखुम्बुमा । पिताजी जागिरको सिलसिलामा सोलुखुम्बुको नेते सरुवा हुनुभएपछि हामी पनि त्यतै पुग्यौं । बुवा बित्नुभएपछि आमाको हेरचाह गर्नुपर्ने, भाइबहिनीको शिक्षा–दीक्षा र उज्ज्वल भविष्यको सारथि बन्नुपर्ने म आज आफैं न्याय खोज्दै भौंतारिँदै छु । अक्सिजनको सहाराले बाँचिरहनुभएको छ आमा ।
जब उच्च शिक्षा अध्ययनका लागि काठमाडौं भित्रिएँ त्यहीँ भेटिएका हुन् रामेछापका प्रदीप कठायत । यिनैका कारण आज मेरो जिन्दगी नर्क बन्न पुगेको छ । जसलाई मैले आँखा चिम्लेर प्रेम गरेँ, उसको केयरिङलाई प्रेम ठानें तर उसले त मलाई प्रयोग मात्र पो गरेको रहेछ । क्वेस्ट इन्टरनेशनल कलेजमा पढ्दै थियो ऊ । एक जना साथीमार्फत भेटिएको उसको आत्मीयता र केयरिङबाट विस्तारै प्रभावित भइरहेको थिएँ । जीवनमा कहिल्यै कसैबाट त्यस्तो माया पाएको थिइनँ जस्तो लाग्थ्यो । शुरुमा व्यवहार अभिभावकको जस्तो लाग्न थाल्यो । घनिष्ठ साथी हुँदै थाहै नपाई प्रेमी बन्न पुग्यो । हरेक कुरामा केयर गर्ने स्वभावले पग्लँदै गएँ । उसले विश्वास दिलायो । मैले आँखा चिम्लेर विश्वास गरें । मलाई के थाहा माया र प्रेम पनि स्वार्थपूर्तिका लागि मात्र गर्छन््, मान्छेले भन्ने । यही बीच म जापान जाने तयारी गरिरहेको थिएँ । उसले जापान नजान आग्रह ग¥यो । उसको सल्लाहपछि मेरो जापान यात्रामा ब्रेक लाग्यो ।
हामी दुई विवाह बन्धनमा बाँधिने करिब टुंगो लागिसकेको थियो । यही पछि हामीबीच नियमितजस्तो शारीरिक सम्बन्ध हुन थाल्यो ठिमीस्थित उसको घरमा । कुनै अस्थायी साधन प्रयोग नगरी सम्बन्ध राख्थ्यौं र यही बीच पेटमा बच्चा आएछ । उसले गर्भ फाल्न कर गरिरह्यो । मैले टेरिनँ । कार्यालयमै थिएँ, ०७५ साल चैत १९ गते । धेरै गाह्रो भयो । जसोतसो कोठासम्म पुगेँ र भोलिपल्टै बिहानै शिक्षण अस्पताल महाराजगञ्ज गएँ । त्यहाँ पुगेपछि थाहा भयो बच्चा त पाठेघरको देब्रे नलीमा गएर बसेको रहेछ । डाक्टरले आमा र बच्चाको ज्यान खतरामा रहेकाले तत्काल अप्रेसन गर्न सुझाए ।
Advertisement 2
थाहा छैन, मेरो आमाले कहाँबाट म्यानेज गर्नुभयो र अप्रेशन सफल भयो । प्रदीपलाई अस्पताल बोलाएँ । भोलिपल्ट मात्र आइपुग्यो । त्यहाँबाट सिनामंगलस्थित एउटा होटलमा लगेर राख्यो । पेटमा ९ टाँका लगाएर अप्रेसन गरिएको स्थितिमा पनि उसले मलाई जबर्जस्ती सम्बन्ध राख्यो । त्यही कारण खुस्किए टाँकाहरू । घस्रँदै अस्पताल पुगेँ र डाक्टरलाई भ¥याङबाट लडेको भनेर ढाँटें । फेरि टाँका लगाएर फर्किएँ । अब भने सिनामंगलको होटलबाट जडीबुटीको होटलमा सा¥यो र सम्पर्कविहीन भयो । होटलमा बस्न पैसा थिएन । काम गर्ने अफिसको चाबी मैसँग थियो । अफिसमै बसें १५ दिनसम्म बिस्कुट र चिया खाएर ।
एक दिन प्रदीपको फेसबुक वालमा अरु नै केटीसँग रमाइरहेको तस्बिर देखें । मनमा चिसो पस्यो । थाहा पाएँ मलाई यो हालतमा पु¥याएर ऊ त अर्कीसँग विवाह गर्ने तयारी गर्दै रहेछ । उसका व्यवहार धोखा सम्झेर रोएँ, कराएँ । त्यही असैह्य पीडाले प्रहरी चौकीसम्म पु¥यायो । न्यायको खोजीमा बौद्धदेखि चक्रपथको चौकीसम्म पुगें । उनीहरूले महिलाको केस भन्दै पन्छिए र पठाए कालिमाटीस्थित महिला सेलमा । शुरुमा जबर्जस्ती करणीको जाहेरी लिन मानेनन् । कारण रहेछ प्रदीपको मामा सुरज कार्की नेपाल प्रहरीका डिएसपी । बल्ल तल्ल जाहेरी लिए, भोलिपल्ट उनले ज्यान मार्ने धम्की दिए । यति मात्र होइन, मेरो भाइलाई हेरोइन, चरेसको केसमा फसाएर जेल हाल्ने चेतावनी दिए भने बहिनीलाई बाटैमा गाडीले किचेर मारिदिने धम्की दिएर फर्किए । त्यसको भोलिपल्ट उनै डिएसपी कार्की, प्रदीपको बुवा, जोमार्फत मैले प्रदीपलाई चिनेको थिएँ सुदर्शन थापाको एउटा टोली नै मेरो कोठामा पुगेर आमालाई अक्सिजनबाट निकालेर कालीमाटी पु¥यायो र जबर्जस्ती कागजमा हस्ताक्षर गर्न लगायो । त्यो के को कागज हो मलाई थाहा थिएन । त्यो धम्की र बिरामी आमाको अवस्थाले गर्दा नपढी हतारमा हस्ताक्षर गरें । अनि उनीहरूले हामीलाई चाबहिलमा छाडिदिए ।
Advertisement 3
०७६ साल जेठ १९ गते ठिमी लिएर गए । त्यहाँ घरभित्रै बन्धक बनाइएको थियो । कसैसँग बोल्न र बाहिर जान बन्देज थियो । ठिमी लगिएको सात दिनपछि मेरो विवाह गराइयो । विवाह गराउन पनि उनै डिएसपी मामा खटिएका थिए । विवाहपछिको पहिलो दशैं । उनीहरूले मलाई ठिमीमा छोडेर मन्थली पुगे । भनिएको थियो जुठो परेका कारण दशैं नमनाउने । चाडपर्वको बेला एक्लै बस्न मनले मानेन र आमाको घर गएँ । फेसबुक खोलेर हेर्दै थिएँ । प्रदीपको परिवारले रमाइलो गरेर दशैं मनाएको, टीका लगाएको फोटो देखें । यस्ता कुराले मनभरि पीडा दिन्थ्यो । केही समयपछि म उसका बा–आमा सँगै बस्न थालें तर उनीहरूको व्यवहार बुहारीको जस्तो नभई साह्रै निच थियो । तराईको फोहोर उठाउने केटी, सानो जातकी भनेर नराम्रो व्यवहार गर्थे ।
यही बीचमा गर्भवती भएँ । उनीहरूको दबाब थियो बच्चा फाल्ने तर मानिनँ । एक दिन प्रदीप बाहिर गएको बेला नन्द, ससुरालगायत मिलेर मेरो घाँटी थिची औषधि खुवाए । बन्धकको जिन्दगी थियो । एकदिन भागेर तामाकोशी अस्पताल गएँ । त्यहाँ डाक्टर केशव धामीलाई प्रहरी प्रशासन वा सुरक्षित ठाउँमा पु¥याइदिन आग्रह गरेँ । भन्छन् नि, डाक्टर भगवानका अर्का रूप हुन् रे तर ती डाक्टरले मलाई स्लाइन पानी दिए । केही क्षणमै काका ससुरा आए । सम्भवतः तिनै डाक्टरले खबर गरेर उनी आएको हुनुपर्छ । घरमा लगेर उल्टै कुटपिट गरे । रडले हाने । त्यसका डाम अझै जिउमा छन्् । त्यही अस्पतालमा लगेर मलाई डिप्रेसनको दबाइ खुवाइयो । त्यो पनि स्लिपिङ ट्याब्लेट डबल डोज । अबोर्सन गर्नेदेखि ट्याबलेट खुवाउनेसम्मको काममा डाक्टर धामी पनि संलग्न छन्् ।
यही बीचमा प्रदीपले जिल्ला अदालतमा मानसिक तनाव दिएको भन्दै केस फाइल ग¥यो । वैवाहिक बलात्कारमा मुद्दा हाल्छु भन्छे भन्दै मुद्दा हालेछ । मामा डिएसपी, जिल्लाका डाक्टरहरूसँग सम्बन्ध । ससुराको बुवा जयबहादुर भूपू सैनिक संघ रामेछापको जिल्ला सभापति । म बबुरोले कहाँबाट र कसरी न्याय पाउनु ? तैपनि सास छउन्जेल आश भन्छन््, डीएसपीमाथि अनुसन्धान गरियोस् भनेर प्रहरी हेडक्वार्टरमा निवेदन दिएँ । उनीहरूले मुद्दा हालेपछि मैले सम्बन्धविच्छेद नगर्ने भनेँ । आर्थिक स्थिति राम्रो थिएन । वकिल राख्न पनि सकिरहेकी थिइनँ । एउटा अभियानमा जाँदा सञ्जयराज अधिकारी भन्ने वकिलसँग भेटघाट र चिनजान भएको थियो । उनैलाई बकपत्र बनाइदिन आग्रह गरेको थिएँ । रामेछापको जिल्ला अदालतमा केस पुग्यो । न्यायाधीश बद्रिप्रसाद वलीले इजलासमै ‘तिमी राम्री छौ, अर्को बिहे गर, उमेर छ’ भनिरहे । न्यायाधीशले न्याय दिने हो कि तिमी राम्री छ्यौ वा नराम्री भन्ने ? फैसला प्रदीपकै पक्षमा सुनाइयो । मैले न्याय नपाए बाँच्नुको केही अर्थ थिएन ।
यस्तो जिन्दगीको के काम भन्ने सोचेर विषसहित गएकी थिएँ । जब प्रदीपको पक्षमा फैसला भयो, तब मैलै इजलासकै अघि विष खाइदिएँ । मलाई त्यही न्यायाधीशको अगाडि मर्न मन थियो तर तत्कालै तामाकोशी अस्पताल लगियो । त्यहाँ सम्भव नभएपछि काठमाडौं ल्याए । काठमाडौंमा आएर १९ दिन आईसीयूमा राखियो । अहिले सुनेको छु ती न्यायाधीश सर्वाेच्चमा तानिएका छन् रे कताको जग्गा प्रकरणमा बदनामीमा मुछिएर । अनि म र मेरो परिवारै सखाप पार्न धम्की दिने डिएसपी कार्कीमाथि के सजायँ हुन्छ ? कि बर्दीका आडमा प्रहरीलाई यस्तो दादागिरी देखाउन छुट छ आइजिपी सा’ब ? होइन भने तत्काल डिएसपी कार्कीमाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाइयोस् । जिल्लाबाट न्याय नपाए पनि, उच्चबाट न्याय पाइन्छ कि भन्ने सानो आशाको न्यान्द्रो बाँकी नै छ । थाहा छ, उनीहरूले कानुन किन्न सक्छन्् तर म चुपचाप बस्न सक्दिनँ । यस्ता भ्रष्ट न्यायाधीश, घुस्याहा प्रहरी प्रशासन र पतित परिवारमाथि जबसम्म कानुनी कारबाही हुन्न, तबसम्म लडिरहन्छु ।
– विनु यादव