निजामती सेवाभित्र ज्ञान, सीप र प्रवृति ‌

कुमार दाहाल,सहसचिव
ई कागजमा श्रद्धेय पूर्वसचिव उमेश मैनाली सरको वार्ता गहिरो लाग्यो। उहाँले निजामती सेवामा ज्ञान, सीप र प्रवृत्तिकाे सामन्जस्यता कमजोर रहेको मर्मस्पर्शी विचार राख्नुभएको छ। निजामती सेवाका गहिरो अध्येता र प्रशासक उमेस सरको विचारले मन छोयो। नेपाल मजदुर किसान पार्टीका सांसदको प्रश्न “लोकसेवाले योग्य कर्मचारी त पठायो तर भ्रष्टाचार नगर्ने किन पठाएन? भन्ने प्रसङ्ग अत्यन्तै मर्मस्पर्शी र व्यवहारिक छ। अहिलेको प्रसंगमा अनुत्तरित पनि।। उमेश सरको त्यो ज्ञानको तलमा त म कहाँ पुगौला । तर निजामती सेवाकाे ज्ञान ,सीप र प्रवृत्ति विषयमा थोरै मनोसामाजिक गन्थन नगरी सकिन। यो लेख एउटा त्यसैको सानाे कडि हाे।
woodrow wilson ले भनेका छन् “योग्यतातन्त्रले कर्मचारीतन्त्रलाई कमजोर बनाउँछ”। अर्का प्रशासन विज्ञ waldo यसको समर्थनमा थिएनन्। तर उनले पनि योग्यतातन्त्रलाई नै प्रमुख माने। किनकि योग्यतातन्त्रको खराबीको परीक्षण गर्दा तत्कालीन अमेरिकी राष्ट्रपति गारफिल्डकाे हत्या भएको थियो। प्रजातन्त्र र योग्यता प्रणाली एउटै नीति मान्ने अमेरिकाले यसको विरोध गर्ने कुरै थिएन ।किनकि योभन्दा धेरै वर्ष अगाडि चीनमा योग्यता तन्त्रको सुरुवात भइसकेको थियो। जसभित्र कर्मचारी तन्त्रले आफ्नो स्वतन्त्रताको प्रयोग गरिसकेको र स्वयं कर्मचारीतन्त्र यसलाई नमान्ने पक्षमा थिएन। क्रमशः योग्यता प्रणाली कर्मचारीतन्त्रको मात्र नभएर राजनीतिको पनि अभिष्ट बन्यो ।तर राजनीतिले योग्यतालाई कहिल्यै महत्व दिएन । ज्ञान, सीप र प्रवृत्ति भित्र योग्यता लुकेको हुन्छ भन्ने कुरा आज पनि राजनीति र प्रशासनलाई बुझाउन कठिन छ।
नेपालकाे स्थायी निजामती सेवामा कर्मचारीले लोकसेवा पास गरेपछि नियुक्ति पाउँछन्। र योग्य मानिन्छन्। लोकसेवाले ज्ञानको परीक्षण गर्छ। तर सीप र प्रवृत्तिको परीक्षण गर्दैन। सीप तालिम केन्द्रले र प्रवृत्ति राजनीति र सरकारले दिने हो ।उमेश सरको यो भनाई अति गहिरो छ। लोकसेवा आयोगले योग्यताको परीक्षण गर्छ तर किन योग्य बनाउन सक्दैन भन्ने प्रश्नका थुप्रै उत्तर हुनसक्छन । तर अहिलेको निजामती सेवाकाे प्रवृत्ति हेर्दा कुनै उत्तरमा पुग्न सकिँदैन।
हामी किन जागिर खान्छौ ? याे अहं प्रश्न हाे। परिवार पाल्न ? देश सेवा गर्न,? आत्मसन्तुष्टिका लागि?, रोजगारीकालागि ? लाभ प्राप्त गर्न? यी सबै उत्सुक प्रश्नहरु हुन्। जागिरखाँदै गएपछि उत्तर फरक हुँदै जान्छन्। सुरुमा हामी गरिबीबाट मुक्त हुन जागिर खान्छौ जागिर हाम्रो एउटामात्र ध्येय हुन्छ। किनकि हाम्रो समाजले जागिरलाई भन्दा पैसालाई महत्व दिन्छ। राजनीति र कर्मचारीको पृष्ठभूमि र उत्प्रेरक तत्त्व एउटै भएपछि दुवैका गुण कसरी फरक हुन्छन्। राजनीति र समाजले इमान्दारलाई होइन पैसा कमाउनेलाई प्रश्रय दिन्छन । जागिरदारहरु समाजको नैतिक बन्धन भन्दा बाहिर व्यक्तिगत स्वादमा खुसी हुन थाल्छन्। तर समाजले यसलाई अस्वीकार गर्दैन। र लोकसेवाले तयार गरेको योग्यता क्रमशः ओझेल पर्दै जान्छ। भताभुङ्ग हुँदै जान्छ। यहीवाट नै कर्मचारितन्त्र विरूप हुन्छ। लोकसेवको योग्यता प्रणाली देखाउने दाँत जस्तै हुन्छ। चपाउने दाँत त यसभित्रको प्रवृत्तिले तयार गर्ने योग्यता नै हो ।अहिले कर्मचारीका उच्च देखि तल्लो तहसम्म यो प्रवृति छ। राजनीति यो प्रवृत्तिकाे मियाे हो। यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्ने अङ्ग कमजोर भए। नेतृत्व कमजोर भयो। यही प्रवृत्तिमा राजनीति र प्रशासन रमाएको छ। पछिल्लो घटनाक्रम यसका तथ्य र प्रमाण हुन्।
सीप बढाउने थुप्रै तालिम केन्द्रहरु छन्। तर औपचारिकतामा सीमित छन् । कर्मचारीलाई बढुवा गर्न मात्र तालिम दिइन्छ। तालिममा सीप हेरिँदैन। मात्र प्रमाण-पत्र को परीक्षण हुन्छ। गरिन्छ। व्यवहारिक सीप सिकाइदैन । सीप बिकास भन्दा लोकसेवा आयोगको परीक्षालाइ महत्व दिने कर्मचारीतन्त्रले योग्यता प्रणाली अस्वीकार गर्दैन तर विभिन्न खालका प्रतियोगिताहरु कति व्यवहारिक छन् हेरिएको छैन।
निजामती सेवामा योग्यता, सीप र प्रवृतिको मिलनबिन्दु के हाे? यसको उत्तर यही भित्र खोज्नुपर्छ। लोकसेवाले परीक्षण गर्ने योग्यता नेतृत्व परीक्षण होइन। नियुक्ति दिने पद्धति हो। नेतृत्वको परीक्षण लोकसेवाको परीक्षाले गर्दैन ।कर्मचारीको सीप ज्ञान, मनोबल ,नेतृत्व क्षमता , जनमुखी पन ,राजनीतिसँग नजर मिलाउन सक्ने निष्पक्षता लोकसेवाको परीक्षाले मात्र दिँदैन। योग्यता प्रणालीकाे दियो मात्र बाली दिन्छ। उज्यालो छर्ने काम कार्यशैली, नैतिकता र जिम्मेबारी नै हो। यसको परिचय कार्यस्थलमा असल नेतृत्वले गर्नुपर्छ। स्वार्थ बिहिन हुनुपर्छ। तर नेपालमा सिप र प्रवृति लाइ योग्यता मानिँदैन ।जबसम्म सीप र प्रवृति ओझेलमा पर्छन, कर्मचारितन्त्र बदमाशी गर्न लजाउँदैन र राजनीतिले संरक्षण गरिरहन्छ।
असल प्रवृत्ति राजनीतिले दिने हो।याे राजनीतिक नेतृत्वबाट नै प्राप्त हुने गर्छ। ठूलाबडा र अगुवाले जे सिकाए पछिले त्यही गर्छन्। जसको हातमा लठ्ठी छ उसैका थुप्रै भैसी हुन्छन् यो उखान चरितार्थ छ। त्यसैले नेतृत्वको प्रवृत्ति लोभिपापी, आफ्नो मान्छे र सजिलो मान्छे खोज्न हिडुन्जेल कर्मचारी तन्त्रको प्रवृत्ति सुधार हुँदैन। प्रवृत्ति सपार्न खराब प्रवृत्तिलाई समाजले बहिस्कार गर्नैपर्छ। अबको सूचना, सामाजिक सन्जाल र जनचेतनाले तथ्यहरूलाई बाहिर ल्याउँदै छ। यसले पनि अब कर्मचारीतन्त्रले आफ्नो प्रवृत्ति सुधार गर्नुपर्ने जरुरी भइसकेको छ। l नत्र कर्मचारीतन्त्र एउटा चेतनशील समाज भन्दा पछि पर्ने निश्चित छ ।
उमेस सरकाे एउटा सानो संवादले मलाई यतिसम्म आँखा खोली दियो ।यी तथ्य मलाइ तथ्यपूर्ण लागेका छन्।
प्रकाशित :२०७९ असार २८, मंगलवार ०७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry