अर्का करोडपति नायवसुब्बालाई पनि भ्रष्टचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्काे करोडपति नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । गाउँ विकास समितिको सचिव हुँदा अकुत आर्जन गरेको भेटिए पछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । धनुषामा लामो समय गाविस सचिव रहेका जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा घर भएका गाविस सचिव गणपति झा अकुत सम्पत्ति आर्जनमा डामिएका हुन । जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायवसुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो । अवकाश प्राप्त नासु झासँग रहेको सम्पत्तिमध्ये दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको स्रोत नखुलेको अख्तियारले जनाएको छ । आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ ५६ पैसाबाट समग्र खर्च ४ करोड ८७ लाख ३८ हजार २१ रुपैयाँ ७ पैसा घटाउँदा उनले उक्त रकम भ्रष्टाचारबाट कमाएको देखिन आएको अख्तियारको ठहर छ ।

Advertisement 1

नायब सुब्बाबाट अवकाश पाएका उनले जनकपुरमा विभिन्न कित्तामा महंगो जग्गा जमिन किन्नुका साथै १ करोड रुपैयाँभन्दा बढीको लागतमा आलिसान घर नै बनाएका छन् । जेसीबी, स्कार्पियो, बोलेरो, ट्रयाक्टर सहितका करोडौं लगानीमा सवारीसाधन खरिद गरेका झाले विभिन्न ३ वटा व्यावसायिक फर्महरू समेत सञ्चालन गर्दै आएका छन् ।
झा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका–२० मा स्वतन्त्रबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए । वडाध्यक्षमा उनी पराजित भएका छन् ।

अख्तियारले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडमा रहेको उनको रकम जफत गर्न निर्देशन समेत दिएको छ । साथै, पत्नी मीनादेवी झा, छोराहरु दिवाकरकुमार झा, शिवाकरकुमार झा र करुणाकरकुमार झाको नाममा रहेको रकम जफत गर्ने प्रयोजनका लागि उनीहरुलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा परेको छ ।

Advertisement 2

यस अघि अख्तियारले पूर्व नायब सुब्बा भीमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख भ्रष्टाचार गरेर आर्जन गरेको भन्दै केही दिन अघिमात्र विशेषमा मुद्धा दायर गरेको थियो ।

प्रकाशित :२०७९ असार ९, बिहीबार ०६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry