कर्मचारीको तलब होइन, हौसला र खुशी बढाऔँ

१ संसारका प्राय देशमा कर्मचारीको तलब बढी हुँदैन। तलब कम वा बढी भयो भनेर कर्मचारीले काम गर्न छोड्दैन। तलबमा सन्तुष्टि जाहेर गर्दैनन्। तर असन्तुष्टि कार्यसम्पादन देखिएको हुन्छ। कर्मचारी तलबले मात्र खुशी हुँदैनन्। तलब मौद्रिक उत्प्रेरणा मात्र हो। थुप्रै गैर मौद्रिक कुराहरु छन् जुन पुरा गरे तलब बढाउनु पर्दैन। तलब खुसी वितरण गर्ने मापदण्ड होइन। जब कर्मचारी खुसी हुन्छन् त्यसपछि तलबले प्रभाव पार्दैन। तलब श्रमको मूल्य हो । याे कामको मानक होइन। कार्यसम्पादनमा तलब जोडिदैन ।कर्मचारीले काम गर्दा तलबलाई सम्झिँदैन। अब्ाहम मास्लाेले सुरक्षा र आवश्यकतालाइ त्यत्तिकै महत्व दिएका छन्। तर नेपालमा कर्मचारीको तलब लाई कार्यसम्पादन सँग जोडिन्छ र मानक बनाइन्छ। जनताले हेर्ने दृष्टिकोण पनि कर्मचारीको तलब भित्र छ। जनता भन्छन् सरकारको तलब खाएर कर्मचारीले काम गरेनन्। काम गर्ने वातावरण कस्तो छ यो विषय उनीहरूलाई थाहा हुदैन। कर्मचारी किन काम गर्दैनन् भनेर विश्लेषण गरेको पाइँदैन। यति गहिराइसम्म कर्मचारीको नीति र नेतृत्व पुगेको छैन। जति पुगेको छ त्यो पर्याप्त छैन।
२ प्रत्येक वर्ष बजेट आउने बेलामा कर्मचारीको तलब बढ्ने कुरा आउँछ। सञ्चार माध्यम सबैले भन्छन यसपाली कर्मचारीको तलब बढ्दैछ। तर तलब जति बढे पनि कर्मचारीको कार्यसम्पादन बढेको छैन ।भ्रष्टाचार घटेको छैन। प्रतिवर्ष मूल्यवृद्धि उच्च छ। कर्मचारीको तलबले मुल्य वृद्धिलाई भेट्दैन। कर्मचारी तलबमा सन्तुष्ट देखिँदैनन्। तलब वृद्धिले कार्यसम्पादनमा फरक परेको पाइँदैन। अधिकांश कर्मचारी काम गर्दैनन् भनेर प्रतिवेदनले भन्छ। बजेटमाा अनुदान थपेजस्तो कर्मचारीको तलबमा केही रकम वृद्धि गरिन्छ। तर यसले कर्मचारीको कार्यसम्पादन, उत्प्रेरणा, वृत्तिविकास, काम गर्ने वातावरण, कार्य सुरक्षा,स्वतंत्रता र नतिजाको मूल्यांकनमा कुनै परिवर्तन हुँदैन ।यी विषयले तलबलाई थिचेर राखेको छ ।तलब बढ्दैमा यी विषय उत्प्रेरित हुँदैनन् । गैर मौद्रिक उत्प्रेरणामा हाम्रो कर्मचारी नीतिले ध्यान दिएको छैन।
३ कर्मचारीमा कसले काम गर्छ, गर्दैन, मूल्याङ्कन हुँदैन। मूल्याङ्कनको चरित्र हामीलाई थाहा छ ।धेरै विश्लेषण गरिरहनु परेन। तलबबाहेक कर्मचारीले के कति सुविधा लिएको छ यसको तथ्यांक हामीसँग छ ।तर विश्लेषण हुँदैन। धेरै तलब लिने कर्मचारीले थोरै तलब लिने कर्मचारी जति पनि काम गरेकाे देखिँदैन र थोरै तलब लिने कर्मचारीले तलबको प्रश्न नगरी काम गरेका छन्। एउटै कर्मचारीले कराेडौ भ्रष्टाचार गरेको समाचार पनि आउँछ। उसले सम्पत्ति कम भएर भ्रष्टाचार गरेकाे रिपोर्टले देखाउँदैन। कुनै कर्मचारीको डेरामा जीवन बिताउँछन् तर तलबमा गुनासो गर्दैनन्। कार्यसम्पादन उच्च हुन्छ तर उनीहरूको मूल्याङ्कन हुँदैन। कार्यसम्पादन, उत्प्रेरणा र मनोबलमा तलब कार्यसम्पादनको मानक बन्न सक्तैन।
४ पुँजीगत खर्च ४० प्रतिशत माथि पुग्दैन ।जनताले सेवा रोजेर होइन खोजेर लिनुपर्छ। कर्मचारी समयमा अफिस पुग्दैनन्। पुगेर पनि कुर्सीमा भेटिँदैनन्। उच्चपदस्थ कर्मचारीमा उच्च मनोबलका साथ काम गर्ने जोश छैन छैन। कुर्सीमा आेइलाए झै भेटिन्छन् ।सिंहदरबारका कर्मचारीमा उत्साह छैन। कर्मचारी क्यान्टिनमा भेटिन्छ कार्यालयमा भेटिँदैन ।प्रविधिको दुरुपयोग भएको छ ।प्रविधिमा धेरै खर्च गरियो तर ई-सेवा अति कम छ ।भएको पनि दुर्लभ छ। सबै कर्मचारीले तलब खान्छन् तलब नपुगेकोले यो भएको हो त ? होइन भने किन होइन ? गहिरो अध्ययन गरेर मात्र तलब वृद्धिले काम गर्छ।
५ तलबबाहेक थुप्रै विकल्पहरु छन्। जसलाई उच्च पारेर कर्मचारीको मनोबल बढाउन सकिन्छ। प्रत्येक वर्ष तलव वृद्धि गरेर कर्मचारीको मनोबल उच्च हुँदैन। यो एउटा श्रमको मूल्य हो। श्रमको मूल्य पछि श्रमिकले इज्जत, सुरक्षा, स्वतंत्रता, सम्बन्ध, समन्वय र सहभागिता खोज्छ। जुन हाम्रो निजामती सेवामा झन्डैझन्डै विलुप्त प्राय छ।
६ राजनीति नेतृत्व भन्छन कर्मचारीले सहयोग गरेनन्। कर्मचारी भन्छन् राजनीतिले राम्रो नीति बनाएन। कर्मचारीमाथि नै विभेद गरेको छ ।राम्रो हुनलाई राजनीतिमा भाग लिनुपर्छ। राजनीति आस्था नभई बढुवा हुँदैन। योग्यहरु बढुवा हुँदैनन् । आस्थाका आधारमा बढुवा गरिन्छ ।कानुन हेरेर काम गर्दा समय नपुगी सरुवा हुन्छ। राजनीति र प्रशासनिक नेतृत्व भन्दा आसेपासेकाे इसारामा काम गर्नुपर्छ।नत्र अनेक विङगा लगाएर अप्ठ्यारोमा पार्छन् ।अप्ठ्यारोमा पारेको कुरा न राजनीति न प्रशासनिक नेतृत्व कसैले सुन्दैन ।बुझ्दैन र इमान्दार कर्मचारी सधैभरि शिर झुकाएर काम गर्नुपर्छ। नेतृत्वका छेउछाउ र आसेपासे सँग सम्बन्ध नबढाउँदा सरुवा हुदैन ।एकातिर मागेको सरुवा अर्कातिर हुन्छ। जागिर खानुभन्दा अनुकुल सरुवा मिलाउन गाह्रो छ ।वृत्ति विकास र कर्मचारी नीति अनुमानयोग्य नहुन्जेल तलब वृद्धिले सार्थकता दिँदैन।
७ भ्रष्टाचार व्याप्त छ।एउटाले भ्रस्टाचार गर्छ ।सारा कर्मचारी भ्रष्ट ठहरिन्छन्। भ्रष्टचार जति गरेपनि अख्तियारको फन्दामा सोझाे फस्छ। भ्रष्टाचार गर्ने सफाई पाउँछ। नातागोता नभई राम्रो ठाउँ पाइँदैन ।काम नगरे पनि पुरस्कार पाइन्छ ।काम गर्नेले कहिले पुरस्कार पाउँदैन। कर्मचारीको मुल्यांकन गर्ने मापदण्ड छैन ।कर्मचारीको संख्या कति चाहिन्छ सरकारलाइ थाहा छैन ।जताभावी संगठन निर्माण हुन्छ। कतै कर्मचारी धेरै छन। काम गर्ने ठाउँमा कर्मचारी छैनन् । जनतालाई सेवा सुविधा दिने ठाउँमा भ्रष्टाचार छ। पैसा कमाउने ठाँउहरू छुट्टिन्छन्। सरुवा गर्ने ठाउँमा पनि भ्रष्टाचार छ। सेवा लिने र दिने ठाउँमा जनता वाक्क छन् ।कर्मचारीतन्त्र यसैमा अल्मलिएको छ ।हामी तलब बढाउने हतारमा छौं। विकृतिहरु पहिले पनि थिए अहिले पनि छन्।राजनीति यस तिर केन्द्रित छैन । कर्मचारीतन्त्रको नेतृत्वलाई सबै कुरा थाहा छ तर सुधार गर्ने साहस छैन । यो बिकृति रहुन्जेल तलब मात्र मनोबलको उत्प्रेरक र मानक बन्न सक्तैन।
८ बजार मूल्यले तलवलाइ सापेक्ष असर पार्छ। बजारमा मूल्य नियन्त्रण हुनुपर्छ। स्वास्थ्य, शिक्षा निःशुल्क हुनुपर्छ। शिक्षा र स्वास्थ्यमा बिमाको व्यवस्था हुनुपर्छ। कार्यसम्पादनमा आधारित तलब राख्नुपर्छ। कार्यालयमा कति कर्मचारी चाहिन्छ हामीलाई अझै एकीन छैन। सेवा प्रवाह गर्ने स्थानमा उत्प्रेरक सुविधा हुनुपर्छ। तलब बढी हुनुपर्छ। अनुभवी र इमान्दारी कर्मचारीलाई त्यस्ता ठाउँमा पठाउनुपर्छ ।तलब र काम गर्ने समयको एकरूपता हुनुपर्छ। कतिपय कामहरु करारमा दिन सकिन्छ ।यसको प्रयोग गरी सकियो तर करारमा काम दिनु भन्दा हामीले करारमा कर्मचारी संख्या बढायौ। यसले झन् ठूलो दबाब परेको छ। सरकार रोजगारदाता हाे तर कर्मचारीतन्त्रलाई रोजगारदाता भन्दा स्थायी सरकारको रुपमा हेर्नुपर्छ। तलब बढाउँदै्ा कर्मचारीतन्त्रको विकृति कम हुँदैन। विकृति भित्र रहेको स्थायी सरकारले नतिजा दिन सक्तैन।
९ हाम्रो अर्थतन्त्र सानो छ। राजस्वकाे अंश बजेटमा चालिस प्रतिशत मात्र छ। पुजिगत खर्च धान्न वैदेशिक सहायता लिनुपर्छ। आन्तरिक स्रोत बलियो छैन। प्रतिव्यक्ति आम्दानी औसतमा थोरै छ ।त्यसैले कर्मचारीले थोरै तलब पाएका छन्। तर जति पाएका छन् त्यसमा खुसी छैनन् ।पैसा वा तलब खुसी निर्धारण गर्ने माध्यम होइन।
१० कर्मचारीकाे तलब होइन खुसी बढाआौ। काम गर्ने वातावरण दिउँ। राजनीति आस्थाबाट कर्मचारीलाई मुक्त गरौं। कामको मूल्यांकन गरी नतिजा र लाभलाई जनतासम्म पुर्याउनुपर्छ। प्रत्येक वर्ष बजार मुल्य अनुपात दरमा तलब बढाउँदै लैजानुपर्छ। यो कुनै तलब वृद्धि होइन ।मूल्यवृद्धि संगको समानुपातिक वृद्धि हो । अन्य सुविधाहरु पनि सँगसँगै लैजानुपर्छ। मुख्य कुरा सबै कर्मचारीलाई एउटै बास्केटमा राख्ने र एउटै बास्केटबाट निकालेर उपयोग गर्ने नीतिले कर्मचारीमा खुसी दिँदैन। खुसी बन्नलाई कर्मचारीले नेता पछ्याउने होइन नेताले कर्मचारीको योग्यता, चरित्र, कार्यसम्पादनका आधारमा हेर्नुपर्छ र काममा लगाउनु पर्छ। काम लिन सक्नुपर्छ ।कर्मचारीको पछि लाग्दा कर्मचारीले नतिजा दिँदैन। कर्मचारीलाई नीतिमा बाँध्नुपर्छ ।कानुन राम्रो र दरो बनाउनु पर्छ ।कानुन कार्यान्वयन नगरेमा कर्मचारीलाई दण्डित गर्नुपर्छ । काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ।
११ हाम्रो कार्यसम्पादन मुल्यांकन कमजोर छ ।मानिस नहेरी काम नहेरी मूल्यांकन गरिन्छ ।जसले मूल्याङ्कन गर्छ उसले कर्मचारीलाइ नै चिन्दैन।त्यसैको आधारमा प्रोत्साहन गरिन्छ र कर्मचारीको मानक तयार गरिन्छ ।जुन पद्धति नै गलत छ। कर्मचारीको मुल्यांकन सुपरिवेक्षकबाट हुनुपर्छ । असल सुपरिवेक्षकलाई काम, कार्यालय र कर्मचारीको नेतृत्व दिनुपर्छ। माथिल्लो तहमा योग्यताका आधारमा बढुवा गर्नुपर्छ। योग्यता काम गरेको वर्ष मात्र हुनसक्दैन। उमेर हुन सक्तैन ।उसँग जिम्मेवार लिने, उत्तरदायित्व वहन गर्न सक्ने र नतिजा दिन सक्ने गुण हुनुपर्छ ।आफूभन्दा जुनियरले सिनियरको नेतृत्व लिँदा योग्य अनुभवी हरु खुशी हुँदैनन्। त्यसैले नेतृत्व लिनसक्ने कर्मचारीको समग्र मूल्यांकन गर्नुपर्छ ।यस्ता विषयमा ध्यान पूर्यायाे भने कर्मचारीको तलब वृद्धिसँगै कर्मचारीको खुसी पनि बढ्दै जान्छ। र सुशासन बढ्छ ।कर्मचारी जनताप्रति उत्तरदायी हुँदै जान्छन्। र काममा कर्मचारीको मनोबल बढ्छ। उत्प्रेरणा बढ्छ।
प्रकाशित :२०७९ जेष्ठ १०, मंगलवार १८:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%