अक्सिजन सिलिन्डर विस्फोट घटनाको छानबिन प्रतिवेदन पेश

पाटन औद्योगिक क्षेत्र ललितपुरस्थित सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा गत वैशाख ८ गते २ जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको सिलिन्डर विस्फोट घटनाको छानबिन गर्न गठित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष अध्ययन प्रतिवेदन पेश गरेको छ।

Advertisement 1

सोमबार समितिको प्रतिवेदन बुझ्नुहुँदै मन्त्री बडूले अध्ययन समितिले गरेको सिफारिस र सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले यस्तो दुखद घटना फेरि दोहोरिन नदिन सबै पक्ष सजग र सचेत रहनुपर्ने बताउनुभयो।

छानबिन समितिले विस्फोट भएको सिलिन्डर कम्तीमा १० वर्ष पुरानो भएको, तोकिएको वर्किङ्ग प्रेसरभन्दा बढी प्रेसरको अक्सिजन ग्यास भरिएको, आवश्यक परीक्षण नगरी कम चाप बहन क्षमताको पुरानो र कमजोर सिलिन्डरमा बढी प्रेसर (140kgf/60kgf/cm2) ग्यास भर्दा कामदारमा न्यूनतम प्राविधिक योग्यता र तालिम नभएको, उद्योग व्यवस्थापकको असावधानी, यस्तो संवेदनशील उद्योगको नियमनको मापदण्ड नहुँदा नियामक निकायको नियमित अनुगमन नहुनुजस्ता कारणले दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

Advertisement 2

यसैगरी समितिले आगामी दिनमा ग्यास उद्योगहरूमा यस्ता घटना दोहोरिन नदिन सबै ग्यास उद्योगले अनिवार्य रुपमा आफ्ना सिलिन्डरहरू मात्र रिफिलिङ्ग गर्ने, सिलिन्डर जाँच गरी गुणस्तरहीन र पुराना सिलिन्डरहरू यथाशीघ्र डिस्पोज गर्ने, सरकारले तत्काल गुणस्तर मापदण्ड बनाई लागू गर्नुपर्ने, योग्यता पुगेका वा तालिमप्राप्त अपरेटरबाट मात्र प्लान्ट सञ्चालनको व्यवस्था गर्ने, हाल कार्यरत श्रमिकहरूको सीप परीक्षणका लागि सिटिइभीटिलाई अनुरोध गर्ने लगायतका सुझावहरू दिएको छ ।

यसैगरी सिलिन्डर विस्फोट भएको सगरमाथा अक्सिजन नेपाल प्रालिलाई श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ बमोजिम अनुमति लिएर सबै चेकजाँच तथा आवश्यक मर्मतपछि मात्रै पुनः सञ्चालन गर्न दिनुपर्ने पनि समितिले सुझाव दिएको छ ।

Advertisement 3

विस्फोट भएकै दिन मन्त्री बडूको निर्देशानुसार मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

समितिमा गृह मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहाल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका वरिष्ठ निरीक्षक सन्तोष शर्मा, नेपाल गुणस्तर तथा नापतौल विभागका मेकानिकल इन्जिनियर रमेश सुतिहार, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धर र मन्त्रालयका उपसचिव भीमबहादुर कुँवर सदस्य—सचिव रहनुभएको थियो ।

प्रकाशित :२०७९ जेष्ठ १०, मंगलवार १०:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry