‘दुईदिने बिदा दुर्भाग्यपूर्ण र देशको अहितमा’

 

Advertisement 1

सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय दुर्भाग्यपूर्ण र मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने विश्लेषण प्रशासकको छ ।

– यसअघि असफल भएको थियो

Advertisement 2

– सेवाग्राहीहरू झनै पिडित हुने

– सरकारी सेवा निष्प्रभावी बन्ने खतरा

Advertisement 3

– आर्थिक र निजी क्षेत्रमा नकारात्मक असर

जसका कारण संघीय शासन प्रणालीको मर्म र भावनामा समेत गम्भीर चोट पुग्न सक्ने देखिएको छ । यो शासन प्रणालीको मर्म भनेकै जनताको घरआँगनमा छिटो र छरितो सेवा प्रदान गर्नु हो । प्रशासनविद्ले द्ुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने टिप्पणी गरेका छन् ।

सरकारले आगामी १ जेठदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना भएको छ । सरकारको यस्तो निर्णयले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने भन्दै विरोध भएको हो ।

बिना अध्ययन र विश्लेषण गरिएको यो निर्णयले परिणाम उल्टो आउने देखिन्छ, हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन सक्दैन । यो निर्णय प्रत्युत्पादक बन्न सक्छ ।
विमलप्रसाद कोइराला, पूर्वमुख्य सचिव

राष्ट्रसेवकहरूलाई कामचोर भएको आरोप लागिरहेको अवस्थामा उनीहरूलाई अझै सहज हुनेगरी सरकारले दुई दिन बिदा दिने निर्णय गरेपछि सरकारी सेवा झनै कमजोर र निष्प्रभावी भएर जान सक्ने भय देखिएको छ । प्रशासकहरूले मुलुकको आर्थिक अवस्थासमेत नाजुक भइरहेको अवस्थामा दुई दिन बिदा दिने निर्णयले आर्थिक अवस्था झनै संकटग्रस्त भएर जाने दाबी गरेका छन् ।

सरकारले यसअघि काठमाडौं उपत्यकामा २०५६ सालमा सातामा दुई दिन बिदा दिने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो । तर, त्यसले सरकारी कामकारबाहीमा शिथिलता आएको र सेवा प्रवाहसमेत प्रभावहीन भएपछि सरकारले छोटो समयमा नै सो निर्णय खारेज गर्न बाध्य भएको थियो । अहिले पनि सरकारले बिनाअध्ययन हचुवाकै आधारमा दुईदिन बिदा दिने निर्णय गरेको बताइएको छ ।

सबैभन्दा बढी सार्वजनिक बिदा दिने देश नेपाल नै रहेको र अझै एक दिन बिदा थप गर्दा त्यसले मुलुकको निजी क्षेत्र र आर्थिक क्षेत्रमा समेत गम्भीर संकट पैदा गर्न सक्छ । सरकारको यस्तो कार्यले मुलुक नै ठप्प हुन सक्छ, मुलुकको आर्थिक विकास अवरुद्ध हुन सक्छ
केशव भट्टराई, पूर्वसचिव

पूर्व मुख्यसचिव विमल कोइरालाले बिना अध्ययन र विश्लेषण दुई दिन बिदा दिने गरी गरिएको निर्णयले परिणाम उल्टो आउन सक्ने बताए । कोइरालाले हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन नसक्ने र यो निर्णय प्रत्युत्पादक हुन सक्ने दाबी गरे । ‘अहिलेका कर्मचारीको कार्यशैली नसच्याउने हो भने यसले उल्टो परिणाम ल्याउने निश्चित छ,’ कोइरालाले राजधानीसँग भने ।

शासनका जानकारहरूका अनुसार अहिले पनि धेरै कर्मचारी हाजिर गरेर टाप हुने ९हाटा० प्रवृृत्तिका छन् । यस्तो प्रवृत्ति भएको ठाउँमा उनीहरूलाई झनै दुई दिन बिदा दिँदा कार्यसम्पादन अझै कमजोर भएर जाने विश्लेषण प्रशासकको छ । सधैं विभिन्न बहाना बनाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउन अनिच्छृुक देखिने कर्मचारी दुई दिन बिदा हुँदा घुम्न निस्कन सक्छन् । फर्कंदा अर्को एक दिन काममा हयाम्पर हुन सक्ने प्रशासककै भनाइ छ । जसका कारण अब सरकारी कर्मचारीबाट हप्तामा चार दिन मात्रै काम हुन सक्ने तर्क उनीहरूको छ ।

दुई दिन बिदाको निर्णय खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले परीक्षणका रूपमा कार्यान्वयन गर्न लागिएको हो । अन्य पाँच दिनमा कर्मचारीले पूर्ण जिम्मेवार भएर काम गरेमा यो निर्णय वैज्ञानिक र प्रभावकारी हुन सक्छ
ज्ञानेन्द्रबहादुर कार्की, सरकारका प्रवक्ता

पूर्वसचिव तथा प्रशासनविद् शारदाप्रसाद त्रितालले सरकारले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नभई बिना अध्ययन र विश्लेषण दुईदिने बिदाको निर्णय गरेकाले सो निर्णय सफल नहुने ठोकुवा गरे । ‘अहिले सरकारले पेट्रोलिय पदार्थको अभाव टार्न भन्दै गरेको यो निर्णय त्रुटिपूर्ण र अवैज्ञानिक छ, त्यसैले यो असफल हुने निश्चित छ,’ पूर्व सचिव त्रितालले राजधानीसँग भने । पहिला पनि बिनाअध्ययन सनककै भरमा यस्तै निर्णय गरिएकाले त्यो असफल भएको र अहिले पनि त्यस्तै सनकका भरमा निर्णय गरिएकाले असफल हुने उनको दाबी छ । पूर्वसचिव गोपीनाथ मैनालीले पनि दुईदिने बिदाको निर्णय गलत भएको बताए । विगतमा असफल भइसकेको विषयलाई पुनः बिना अध्ययन हचुवामा निर्णय गर्दा त्यो प्रत्युत्पादक हुन सक्ने उनको दाबी छ ।

पूर्वसचिव केशव भट्टराईले सबैभन्दा बढी सार्वजनिक बिदा दिने देश नेपाल नै रहेको र अझै एक दिन बिदा थप गर्दा त्यसले मुलुकको निजी क्षेत्र र आर्थिक क्षेत्रमा समेत गम्भीर संकट पैदा गर्न सक्ने बताए । उनले सरकारको यस्तो कार्यले मुलुक नै ठप्प हुन सक्ने भन्दै यस्तो अवस्थामा मुलुकको आर्थिक विकास कसरी होला भन्ने प्रश्न गरे । उनका अनुसार विश्वमै सबैभन्दा बढी सार्वजनिक बिदा दिने देश नेपाल नै हो । ‘अझ हप्तामा दुई दिन बिदा दिने निर्णय भएपछि त हामीकहाँ बिदाको ओइरो नै लाग्ने छ, परिणाम शून्य,’ पूर्व सचिव भट्टराईले राजधानीसँग भने ।

‘सरकारी बिदामा बैंकसमेत बन्द हुनेछन् । यति धेरै बिदाले निजी क्षेत्रसमेत नराम्ररी प्रभावित हुनेछ,’ उनले भने ।

अहोरात्र काम गरेर परिणाम निकाल्ने बेलामा दुई दिन बिदा दिनु असंवेदनशील र गैरजिम्मेवारीपनको पराकाष्ठ भएको पूर्वसचिव भट्टराईको आरोप छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने दुई दिन बिदाको निर्णय खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले परीक्षणका रूपमा कार्यान्वयन गर्न लागिएको बताए । उनले अन्य पाँच दिनमा कर्मचारीले पूर्ण जिम्मेवार भएर काम गरेमा यो निर्णय वैज्ञानिक र प्रभावकारी हुने दाबी गरे ।
सागर पण्डितले यो खबर राजधानी दैनिकमा लेख्नुभएको छ ।

प्रकाशित :२०७९ बैशाख १५, बिहीबार ०६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry