यी दुई पालिका :- जहाँ पाँचै बर्ष टिके एउटै प्रशासक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतहरु टिकाउनै समस्या भइरहेको समयमा दुई वटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ५ बर्षदेखि एकै जनाले चलाएको भेटिएको छ ।
केही स्थानीय तहमा यो पछिल्लो ५ बर्षमा १४ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत अदल बदल भएका छन् । विशेष गरी मधेश प्रदेशमा प्रमुख प्रशासकीय अधिकृतलाई हटाएर निमित्तबाट काम गराउने परिपाटी व्यापक रहेको देखिन्छ । अझैं पनि मुलुकभरका २ सय ३० स्थानीय तह निमित्तको भरमा छन् । जसमध्ये नगरपालिकामात्रै एक सय २७ वटा रहेका छन् भने गाउँपालिकामा एक सय तीन निमित्तकै भरमा छन् । संघीयता पछिको पछिल्लो ५ बर्षमा मात्र मधेश प्रदेशकै धनुषाको हंसपुर नगरपालिका,जहाँ पछिल्लो ५ बर्षमा १४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । तर इलामको देउमाई नगरपालिका र मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्लभ उदाहरण हुन्, जसले पाँचै वर्ष प्रशासन चलाउन पाए ।
इलामको देउमाइ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहालले सो पालिकाको कमाण्ड सम्हालेको आज ५ बर्ष २० दिन पुग्यो । देउमाइ नगरपालिका इलाम जिल्लाको कर्णालीजस्तो रहेको कारण त्यहाँ कोही जान नमानेका कारण आफूले ५ बर्षदेखि सोही पालिका सम्हालिरहेको उनले सुनाए ।
१६ बर्ष अघि निजामती सेवामा प्रवेश गरेर ५ बर्ष अघि उपसचिवमा बढुवा भएका दाहाल उपसचिवमा बढुवा भए लगतै निर्वाचन अधिकृतको रुपमा सो पालिकामा खटिएका थिए । जुन पालिकामा निर्वाचन अधिकृत बनेर खटिए र विजयी भएका जनप्रतिनिधिहरुलाई शपथ खुवाए । पछि उनको सरुवा नै सोही पालिकामा भयो । पहिला आफैंले शपथ खुवाएका जनप्रतिनिधि भएका कारण पनि कहिल्यै हेपिएर काम गर्नुनपरेको र आत्मसम्मान पूर्वक काम गर्न पाएका कारण ५ बर्ष सहजैसँग बितेको उनले इकर्मचारीसँग सुनाए ।
यस्तै मकवानपुरको थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले पनि पाँचै वर्ष एउटै नगरपालिकाको कमाण्ड सम्हालेका छन् । उनी ०७१ फागुनदेखि ०७२ फागुनसम्म सोही पालिकामा कार्यरत रहेकोमा ०७४ को निर्वाचनपछि हालसम्म सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका छन् ।