राष्ट्रसेवक कर्मचारीले सम्पादन गर्ने काम निष्पक्ष हुनुपर्छ

आसन्न स्थानीय तहको निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारीले सम्पादन गर्ने कामको निष्पक्षतामा कुनै कमी आउन नहुने निर्देशन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आज आयोजित मोरङका १७ वटै पालिकाका निर्वाचन अधिकृत र प्रमुख निर्वाचन अधिकृत, राष्ट्रिय मानवअधिकार आयोग, सुरक्षा निकाय एवं निर्वाचन कार्यालयबीच छलफलमा सो निर्देशन भएको हो ।
Advertisement 1
सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय अभियानमा जिम्मेवारीसहित आउनुभएका निर्वाचन अधिकृतको नेतृत्व सम्पन्न हुने निर्वाचनको गरिमालाई ख्याल राख्न आग्रह गरे। उनले मतदानस्थलमा गर्नुपर्ने सबै काम सम्पादन गर्न प्रशासकीय अधिकृतलाई निर्देशन भइसकेको जानकारी दिँदै निर्वाचन अधिकृतले मतदानस्थलको स्थलगत निरीक्षण गर्नुपर्ने सुझाव दिए ।
उनले सार्वभौम जनताले प्रयोग गर्ने अधिकारलाई प्रयोग गर्न सुरक्षा निकाय सचेत रहेको भन्दै कार्यक्षेत्रमा खटिने कर्मचारीलाई कुनै समस्या आए तुरुन्त सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरे । प्रजिअ दाहाले भने, “मतदानस्थलमा पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहने भएकाले कसैले पनि चिन्ता लिनपर्ने अवस्था रहन्न ।”
Advertisement 2
प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भरत लम्सालले सरकारको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न खटाइएको निर्वाचन अधिकृत, राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायबीच तालमेल हुनु आवश्यक छ भने । कुनै एक निकायको भूल वा कमजोरीले निर्वाचनमा बाधा उत्पन्न हुने भएकाले यसतर्फ चनाखो भएर काम गर्नुपर्ने प्रमुख अधिकृत लम्सालको भनाइ छ ।