२२ पटक लोकसेवा भिडेर अधिकृत बनेका कञ्चन गिरीले किन दिए ४ महिना २४ दिनमै राजीनामा ?

२१ पटकसम्म लोकसेवा भिडेर असफलता झेलेका र २२ औं पटकमा अधिकृतमा नाम निकाल्न सफल भएका कञ्चनराज गिरीले अन्तत ५ महिना पूरा नहुँदै सरकारी जागिरबाट राजीनामा ठोकेका छन् ।
गत कार्तिक ३० गते नियुक्ती पत्र बुझेर मंसिर १ गतेदेखि अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका गिरीले चैत्र २४ गते पदबाट राजीनामा दिएका छन् ।
कालीगण्डकी ए जलविद्युत आयोजनामा प्रशासन प्रमुखको रूपमा कार्यरत रहेका गिरीले सरकारी जागिर खाएको ४ महिना २४ दिनमै राजीनामा दिएका हुन । कार्यालय प्रमुख काठमाडौंमा भएका कारण उनको राजीनामा स्वीकृत भइसकेको छैन । उनको राजीनामा यही ३० गते स्वीकृत हुने जनाइएको छ ।

Advertisement 1

आखिर सरकारी स्थायी नियुक्ति लिएको ४ महिना २४ दिन अर्थात १४४ दिनमै गिरीले किन राजीनामा दिए त ? अनि यसरी राजीनामा नै दिनु थियो भने २१ औं पटक सम्म लोकसेवा तयारी किन गरिरहे ?

गिरीले झण्डै सात बर्ष निजामती निजामती कर्मचारी अस्पतालको प्रशासन सहायकका रुपमा काम गरे । गिरी चाहन्थें लोकसेवा भिडेरै अधिकृतमा नाम निकाल्न ।
करारमा कार्यरत रहँदा उनी लोकसेवा भिड्न थाले । यो बीचमा अधिकृत तहका लागि खुलेका जति प्राय कुनै विज्ञापनमा छुटाएनन । सबैको फाराम भरे । कर्मचारी सञ्चयकोष,कृषि सामाग्री केन्द्र लिमिटेड,नेपाल विद्युत प्राधिकरण,वायूसेवा निगम,काठमाडौं महानगरपालिका,पर्यटन बोर्ड,कर्मचारी सञ्चयकोष,खाद्य संस्थान,गुठी संस्थानसम्म ।
अधिकांशका प्रारम्भिक परीक्षा उत्र्तीण हुन्थें अनि दोश्रो चरणमा परीक्षामा असफल । यस्ता असफलताबाट कहिलेकाहीँ उनलाई पनि अत्यास लाग्थ्यो । त्यसमाथि हर बर्ष उमेरको सिढि चढ्दै थियो उनी ३५ बर्ष पुग्दै थिए अर्थात सरकारी सेवा प्रवेशको अधिकतम उमेर हद । उमेर जति बढ्दै जान्थ्यो उनको मनमा अत्यास पनि उत्तिकै बढ्दै जान्थ्यो ।
६९ सालदेखि लगातार नौं बर्ष सम्म अधिकृत तहको परिक्षा भिडे । यो बीचमा लोकसेवा अधिकृतको परीक्षामा २१ पटक फेल भए तर हरेश खाएनन । भन्छन नि जीवनमा सबै चिज खानु तर हरेश नखानु । यही आँट,धैर्यता र लगावका परिणाम निस्कियो ०७८ कार्तिकमा । लगातार परीक्षामा भिड्न थालेको नवौं वर्षमा नेपाल विद्युत प्राधिकरण, प्रशासन सेवाको सातौं तह (प्रशासकिय अधिकृत) मा सफल भएका उनै गिरीले अहिले राजीनामा दिएसँगै उनीमाथि लगातार एउटै प्रश्न तेर्सिने गरेको छ ? राजीनामा गर्ने भए जागिर किन खाएको ?
तर गिरी आफ्र र आफ्नो सामाजिक सुरक्षाका लागि भन्दा पनि आफू जहाँ काम गर्छु त्यहाँ केही न केही परिवर्तन गर्नै पर्दछ भन्ने ढंगले आफूले काम गर्ने गरेको सुनाउँछन् । देशको सेवा गर्न कि त नेता बन्नुपर्यो वा त कर्मचारी । प्रशासनको साघुँरो घेरा तोडेर राजनीतिको घेरा अलि फराकिला र ठूलो घेरामा काम गरौं भन्ने उदेश्यले आफूले राजीनामा दिएको गिरीको कथन छ ।
गिरी बनेपा नगरपालिकाबाट मेयरमा उठ्ने तयारी गर्दैछन् स्वतन्त्र रुपमा ।

Advertisement 2

मासिक १ लाख बराबरको तलब सुविधा पाउने सरकारी जागिरबाट राजीनामा दिएपछि कञ्चनले सामाजिक सञ्जालमा लेखेका छन् कि फुल बनेर फक्रन्छु । कि बास्ना छरेर सिद्दिन्छु ।
९ वर्षको मिहेनतले २२ औं प्रयासमा अधिकृत बनेँ । नेपाल बिद्युत प्राधिकरणको सबैभन्दा ठुलो जलबिद्युत केन्द्र कालीगण्डकी ‘ए’ जलबिद्युत केन्द्रको प्रशासन प्रमुखको रुपमा कार्यरत थिएँ । महिनाको झन्डै १ लाख बराबरको तलब, भत्ता र सुबिधाहरु थिए । जीवन गज्जबको थियो ।
२०७८ चैत्र २४ गते उक्त पदबाट राजीनामा दिएको छु । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको “मेयर” पदमा चुनाव लड्ने सार्वजनिक घोषणा गर्दछु ।
बनेपा बदल्नको लागि एक अवसर, एकपटकको लागि (एकपटकको लागि मात्र ) म आफू पनि लिन चाहान्छु । बनेपावासी जनताको लागि पनि दिन चाहान्छु ।
युवाको साथ लिएर बनेपा बदलेरै छोड्ने हो । स्थानीय तहहरु यो देशका जग हुन् । बलियो जगले नै घर बलियो बन्ने हो । आउनुहोस् यो पाली बलियो जग हालौँ ।
देश परिवर्तन गर्न युवाहरु असहज र नयाँ बाटो हिंड्नै पर्छ । सहज र पुरानो बाटो हिँडेर त पुरानै ठाउँमा पुगिन्छ नि । आउनुहोस् यो पाली फरक सोचौं । फरक बाटो हिँडौँ ।
उनले अनुरोध समेत गर्दै भनेका छन्,इमान्दारिताले कमाएको पैसा कसैले पनि फजुल खर्च गर्न सक्दैन । फेरी उम्मेदवार कस्तो हुनुपर्छ भन्ने कुरा समाजलाई सिकाउनु पनि त छ । म संग सामाजिक संजालमा पोस्ट बुस्ट गरी प्रचार प्रसार गर्ने पैसा छैन । म रित्तो खल्ती बोकेर चुनाव लड्न निस्केको छु । त्यसैले मेरा पोस्टहरु आफ्ना साथीभाई, आफ्ना ग्रुप वा पेजमा शेयर गरी सहयोग गर्दिनुस् न है ।

प्रकाशित :२०७८ चैत्र २८, सोमबार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry