‘धरातल’ निकाल्नुको अन्तर्य



‘कृष्ण भाइ, तपाईंले मोदनाथजीका बारेमा लेखिएको शारदा भुषालको किताब छाप्न लाग्नुभएको छ भन्ने थाहा पाएँ । बूढामान्छेमाथि मानिसहरूले जेजस्तो आक्षेप लगाए पनि समाजको सांस्कृतिक रूपान्तरणका लागि उनले गरेको योगदान अतुलनीय छ । त्यसलाई सम्झेर पनि त्यो किताब नछाप्न सकिन्न ?’
कुरा ०७२ फागुन पहिलो साताको हो । काठमाडौंको अनामनगरस्थित घट्टेकुलो पस्ने मोडैमा भेटिनुभएका आदरणीय दाजु, हाल प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उपर्युक्त आग्रह गर्नुभयो । आफूले भित्री हृदयबाट आदर गरेका मानिसका वचन कहिल्यै नकाट्ने प्रतिज्ञा गरेको मान्छे म । बडो असमञ्जस्यमा परेँ । भनेँ, ‘हजुरसँग दुई दिनअघि मात्रै भेट हुन्थ्यो भने सायद पक्कै पुनर्विचार गर्थें तर किताब अस्तिकै दिन मात्रै प्रेस गयो । अहिले छपाइ सकिएर बाइन्डिङ हुँदै छ । म के गरौँ ?’
‘साह्रै नराम्रो हुने भयो । यो उमेरमा आएर बूढामाथि दाग लाग्ने भयो । के गर्ने होला ?’ मेरा काका लक्ष्मण गाम्नागेको स्कुले सहपाठीसमेत रहनुभएका उहाँले साह्रै अफसोच मान्नुभयो । त्यसपछि मैले त्यो पुस्तक मकहाँ आइपुगेदेखिका कुरा संक्षेपमा सुनाएँ । पुस्तकमा लेखिएका कुराको सत्यतथ्य जाँचका लागि बात लागेको कालखण्डमा मोदनाथ प्रश्रित र शारदा भुषालका पिता गुणनिधि भुषालसँग सहकार्य गरेका को–को राजनीतिक नेताहरूसँग भेटघाट गरेको थिएँ भन्ने कुरा सबै सुनाएँ । उहाँले फेरि पनि अफसोच मान्दै भन्नुभयो, ‘उहाँहरूले समेत तपाईंलाई यो पुस्तक नछाप्नु भन्नुभएन ?’
‘भन्नुभएको भए सायद पुनर्विचार गर्थें होला दाजु । म पनि मोदनाथ प्रश्रितकै पुस्तकहरू पढेर सामाजिक रूपान्तरणको अभियानमा होमिएको मान्छे हुँ । उहाँका उबेला किनेका ‘नारी बन्धन र मुक्ति’, देवास्ुर सङ्ग्राम’, ‘गोलघरको सन्देश’, ‘चोर’ आदि पुस्तक अहिले पनि सुरक्षित छन् । त्यो बेलाको ‘छलफल साप्ताहिक’मा प्रकाशित हुने विचारोत्तेजक लेखहरू र ‘दृष्टि साप्ताहिक’मा प्रकाशित ‘जीवनको गोरेटोमा’ स्तम्भ दोहो¥याइ तेह¥याइ पढेका सम्झना अहिले पनि दिमागमा ताजै छ ।’ मैले उहाँलाई भने्र, ‘उहाँको योगदानका बारेमा प्रश्न उठाएको हैन । मैले त एउटा प्रकाशक हुनुको नाता विशुद्ध व्यावसायिक काम गरेको हुँ । भोलि उहाँको किताब प्रकाशनका लागि आयो भने त्यो पनि प्रकाशित गर्न सक्छु ।’
हुन पनि त्यो पुस्तकको कम्प्युटर टङ्कनप्रति त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत तत्कालीन नेकपा एमाले समर्थक एकजना प्रोफेसरमार्फत् नै मसम्म आइपुगेको थियो । उनले त्यो बेला बिजुलीबजारमुन्तिरको आफ्नो डेरामा बोलाएर कम्प्युटर प्रिन्ट प्रति थमाएका थिए । उनले पुस्तकभित्रका केही कुरा बताउँदा दिमागमा बिजुलीको झड्का लागेजस्तै भएको थियो ।
त्यसपछि पुस्तककी लेखिकासँग भेटघाट गरेको थिएँ । त्यसबखत पुस्तकमा लेखिएका कुरा कत्तिको तथ्यपरक छन् वा लेखिका प्रोपोगण्डा रुचाउने मान्छे हुन् भनेर जाँच्ने काम गरेको थिएँ । तर केही बेरको कुराकानीपछि लाग्यो– हाम्रोजस्तो समाजमा एउटी महिलाले आफ्नै चरित्रमा दाग लगाएर यो स्तरको आक्षेप लगाउने आँट पक्कै गर्दैन । त्यो आत्मनिचोडपछि मैले भनेको थिएँ, ‘तपाईंले पुस्तकमा उल्लेख गर्नुभएका केही व्यक्तित्वहरूसँग भेटघाट गरेर सत्यतथ्य जाँचेपछि मात्रै अघि बढ्न सक्छु ।’ उहाँले मेरो शर्त स्वीकारेपछि प्रकाशनबारे पहिलो चरणमा मौखिक सहमति भएको थियो ।

Advertisement 1


त्यसपछि मैले पुस्तकमा उल्लेख भएका करिब सात जना व्यक्तित्वलाई भेटेर सोधपुछ गरेँ तर कसैले पनि होइन भनेर इन्कार गर्नुभएन, शारदा भुषालका पिता गुणनिधि भुषाल एकजनाबाहेक । पुस्तकमा उल्लेख गरिनुभएका मदन भण्डारी, पार्टी केन्द्रीय कार्यालयका तत्कालीन सचिव अमर अधिकारी दिवंगत भइसक्नु भएकाले भेट हुनसक्ने कुरै थिएन । त्यसपछि प्रकाशनका तर्फबाट लिखित सम्झौता गरियो । सम्झौतामा ‘भोलि कहीँ कतैबाट कानुनी उल्झन वा विरोध आए लेखक नै जवाफदेही हुने’ कुरा प्रस्ट उल्लेख छ । तत्पश्चात पुस्तक सम्पादनको काम अघि बढ्यो । काम जटिल भएकाले मैले नै सम्पादन थालेँ ।
ठाउँठाउँमा भाषिक समस्या थिए । कतिपय सन्दर्भ प्रस्ट थिएनन् । इमेल पठाएर यो खण्डमा यी–यी कुराहरू प्रस्ट भएनन्, भनेर लेख्थेँ । अचम्म ! २४ घण्टा नबित्दै त्यो खण्ड पुनर्लेखन भएर आउँथ्यो । पटकपटक त्यो व्रmम दोहोरिएपछि शारदा भुषालका नाममा अरु कसैले घोस्ट राइटिङ गरिदिएको हो कि भन्ने आशंका पूरै मेटियो । मलाई लाग्यो, शारीरिक शोषण, मानसिक प्रताडना र परिवारकै सदस्यहरूबाट पाएका चरम उत्पीडनका कारण उनमा यो लेखन उर्जा आएको हुनुपर्छ ।
किताब प्रेस पठाउनुअघि पनि दोधारमै थिएँ । किनकि किताब बजारमा पठाउनासाथ एउटा पक्ष मसँग रुष्ट हुने पक्का थियो । विवादमा किन पर्ने भन्ने पनि लागिरहेको थियो । अर्को कुनाबाट मनले भनिरहेको थियो, ‘तैंले नछापे पनि कसै न कसैले छाप्छ । तेरो आत्माले शारदा भुषालमाथि अन्याय भएकै ठहर गर्छ भने छाप्न किन संकोच मान्छस् ?’
गर्वसाथ भन्छु, अहिलेको बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले दिनुभएको हजार रुपैंया बोकेर ०४९ सालमा पढ्न काठमाडौं छिरेको हुँ । तर पार्टी सदस्य हुने रहर कहिल्यै लागेन । तत्कालीन माले–एमालेको छत्रछायाँमा हुर्किएकाले बामदेव गौतम र प्रदीप नेपाललाई खुबै आदर गर्छु म । यद्यपि पदमा भएका बेला उहाँहरूको छेउमा कहिल्यै परिन । प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषालसहित आधा दर्जन बढी मलाई माया गर्ने अति आदरणीय व्यक्तित्वहरू मन्त्रिमण्डलभित्र र बाहिर हुनुहुन्छ तर नाता भजाउने जाँगर कहिल्यै चलेन ।
एक बिहानको कुरा । आदरको त्यही नाता पहिल्याउँदै छाप्न लागेको पुस्तकबारे प्रदीप नेपालसँग फोनमा सोधेँ, ‘के गरौँ ?’ उहाँले भन्नुभयो, ‘यसबारेमा मैले केही भनिन । आफूलाई लागेको गर्नुस् ।’ त्यसलाई मैले मौनस्वीकृति ठानेँ र पुस्तक प्रेसमा पठाएँ । तर दुःखको कुरा केही महिनाअघि उहाँले फेसबुकमा कतै लेख्नु भयो, ‘मैले अविरललाई नछाप्नुस् भनेको थिएँ ।’
पुस्तक बजारमा आएपछि क्रियाप्रतिक्रिया शुरु भयो । मोदनाथ प्रश्रितले तथानाम गाली गर्दै पत्रकार सम्मेलन मात्रै गर्नुभएन, अनलाइनखबरमा त्यो किताब कृष्ण अविरलले लेखिदिएको भन्ने अन्तर्वार्तासमेत आयो । जसमा उहाँले आफ्नो छोरालाई दुनियाँकै सर्वश्रेष्ठ बुद्धिजीवी, विद्वान् अनि मलाईचाहिँ ‘पागल’ र ‘छट्टु’को उपमा दिनुभएको छ । आफ्नो छोरा र जनताका छोराबीच तुलना गर्ने उहाँको बौद्धिक स्तर देखेर आफैँलाई कठै भनेँ ।
त्यसपछि मधु विसी नामका पुराना पत्रकारलाई अघि सारेर प्रश्रित कमरेडकै खर्चमा ‘भासिएको धरातल’ नामको पुस्तक प्रकाशित भयो । शारदा भुषाललाई घोडा बनाएर तथा त्यसका छेउमा मेरो फोटो जोडेर छापिएको कार्टुनसहितको पुस्तक देखेपछि आफैँसँग दया लागेर आयो, कठै ! यस्ता व्यक्तिलाई कुनै बेला आदर्श पुरुषठानेको रहेछु भनेर । केही शुभेच्छुकले मलाई मानहानीको मुद्दा हाल्न सुझाव दिइरहेका थिए तर मैले भनेँ, ‘त्यो मेरो पेशागत धर्म होइन । त्यसमा त उहाँहरूको महिलाप्रतिको दृष्टिकोण र चेतनास्तर प्रकट भएको छ । उहाँहरूले आफ्नो असली बौद्धिक हैसियत देखाउनुभएको हो, त्यसमा म किन प्रतिकार गर्दै हिँडौँ ?’
मुद्दामा जाने सुझाव शारदा भुषाललाई पनि दिइएको रहेछ । उहाँले भन्नु्भएछ, ‘नेपालमा न्याय मरिसक्यो भनेर १३ दिने किरिया नै बारिसकेकी छु । अब मलाई त्यही न्यायालय जाने रहर छैन ।’
मेरो मौनता देखेर होला, मोदनाथ पक्षकाहरू मानिसहरूले पटकपटक अक्षर गरिरहे । ‘लम्पट बुद्धिजीवी’को पहिचान बनाउनुभएका इटहरीका वद्रीविशाल पोखरेलले गोरखापत्रसहित कति ठाउँमा मेराविरुद्ध विष वमन गर्नुभयो त्यसको लेखा छैन । केही महिनाअघिको पद्मश्री पुरस्कार काण्डपछि भने झनै चर्चाको विषय बन्यो । त्यसपछि प्रश्रितले एउटा भिडियो अन्तर्वार्तामा शारदा भुषाललाई भिरिङ्गी लागेकी, तल्लो अङ्ग पूरै कुहिएकी भन्न भ्याउनुभयो । डा. सञ्जीव उप्रेती र मलाई शारदा भुषाललाई प्रेमीको बातसमेत लगाउनुभयो ।
हुन पनि उहाँप्रति मेरो दुराग्रह कहिल्यै र कत्ति पनि रहेन । यदि त्यसो हुन्थ्यो भने ओरियन्टल पब्लिकेसनबाट छापिएको ‘देवासुर सङ्ग्रम’ ल्याएर बेच्ने नै थिएनौं । उहाँकै पुत्र डा. विजयकुमार पौडेल प्रमुख रहेको जनता पब्लिकेशनसँग व्यवसायिक सहकार्य हुने नै थिएन । उहाँको भूमिका भएको नेपाल कम्युनिष्ट आन्दोलनका अगुवामध्येका कृष्णराज बर्माको पुस्तक ‘मधेस र मधेसी आन्दोलन’ प्रकाशन गरेर हामीले उहाँसँग कत्ति पनि दुराग्रह नरहेको कुरा सिद्ध गरिसकेका छौँ ।
पछिल्लो खबरअनुसार यो शिष्टतालाई कमजोरी ठानेर केही मानिसले शारदा भुषाल र मविरुद्धै मानहानीको मुद्दा हाल्ने तयारी गरिरहेका छन् । सायद उनीहरूले यो विषयलाई फेरि उछालेर सम्पूर्ण अनलाइन पत्रिका र युट्युब च्यानलभर फैलाउन चाहेका हुन् । त्यो विषय थाहा नपाउनेहरूलाई पनि थाहा दिन खोजेका हुन् । के उनीहरूले सम्बन्धित अनलाइनबाट धम्क्याएर हटाउन लगाइएको कमरेड प्रश्रितको पछिल्लो भिडियो अन्तर्वार्ता हेरेका छन् ? त्यो हेरे भने न्यायाधीशहरूले सत्ताका लागि आफ्नो इमान र विवेक बन्धक नै राख्लान् ?
संकटकालमा दरबारमातहत सेनाको गुप्तचर इकाइले पटकपटक दिएको दुःखको बदलामा ‘रक्तकुण्ड’ लेखेर तत्कालीन राजा ज्ञानेन्द्रको शाख माटोमा मिलाउने काम गरेको मान्छे हुँ । यद्यपि हदको पल्लोछेउसम्म सहने बानी छ । त्यो सीमा नाघेर कसैले खेदोपाइलो ग¥यो भने त्यसको प्रतिकार कसरी गर्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । मेरो मौनतालाई कमजोरी ठानेर कसैले नचलाए हुन्छ । बिरालोलाई पनि ढोका थुनेर पिटे बाघ बन्छ भन्ने हेक्का राखे पुग्छ ।

प्रकाशित :२०७७ पुष ११, शनिबार १०:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry