स्थानीय तहको निर्वाचन र उम्मेद्वारको छनौट एक समीक्षा
स्थानीय तहबाट सम्पादन हुने कामहरूको सूची नेपालको संविधानको धारा ५७(४),धारा २१४(२), धारा २२१(२) र धारा २२६(१) मा उल्लेख गरिएको पाईन्छ। जसरी राज्यका ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिका गरी ३ अंग हुन्छन् त्यसै गरी स्थानीय निकायका पनि तीन वटै अंगको ब्यबस्था गरेको छ नेपालको संविधानले। एउटा पालिकाले एउटा सिंगो राज्यले खेल्ने भूमिका निर्वाह गर्नु पर्ने हुन्छ।
Advertisement 1
यो तह स्थानीय जनता संग निकट भएर काम गर्नु पर्ने हुदा संघीय सरकार जस्तो अप्रत्यक्ष हैन कि प्रत्यक्ष रूपमा जनता संग जोडिएको हुन्छ। जनताका सुख, दुःख, विकास निर्माणका सवालमा जनता संग सन्निकट रहेर काम गर्नु पर्ने हुदा अन्य तहको तुलनामा स्थानीय तहको विशेष भूमिका रहेको हुन्छ। यसले आफूलाई आवश्यक पर्ने कानून बनाउने, साधन श्रोत जुटाउने र खर्च गर्न सक्ने हैसियत राख्ने हुदा स्थानीय आवश्यकता पूरा गर्न प्रदेश वा संघको मुख ताकिरहन पर्दैन तर यसो भन्दैमा केन्द्र वा प्रदेशहरू स्थानीय तहहरू उपर जिम्मेवार हुदैनन् भन्ने होईन। स्थानीय तहको समस्याहरू मिहिन रूपमा बुझेर ती समस्याहरू समाधान गर्न केन्द्रिकृत शासन ब्यबस्था सक्षम भएन भनेर हामीले संघीय शासन पद्दति अपनाएका हौ। स्थानीय तह सम्म विकास निर्माण पुर्याउन र स्थानीय जनताको समस्या संवोधन गर्न विकेन्द्रिकरणका नाममा विभिन्न मोडलहरू नल्याईएको पनि हैन तर ती मोडलहरूको प्रयास बालुवामा पानी हाले जस्तो भयो।
पंचायतले गाऊ फर्क राष्ट्रिय अभियान ल्यायो, एमालेले आफ्नो गाऊ आफै बनाऊ भन्ने नारा ल्यायो, नेपाली कांग्रेसले गरीव संग विशेस्वरलाई जोड्ने प्रयत्न गर्यो तर ती सबै राजनीतिक स्टन्ट मात्र भए र तिनले जनतामा रूपान्तरण ल्याउन सकेनन् भनेर देशमा संघीय शासन प्रणाली ल्याईयो। यसैको परिणाम स्वरूप हाल तीन तहका सरकार छन् र यही २०७९ भित्र क्रमशः यी सरकारमा प्रतिनिधि चुनिदै छन्। २०७९ को प्रारम्भ संगै हुन गै रहेको स्थानीय तहको चुनावमा स्थानीय तहको जिम्मेवारी कस्लाई सुम्पिने भन्ने निर्णय हुदै छ। दोश्रो पटक हुन गै रहेको यो चुनावमा विगतमा हामीले गरेका गल्ति कमजोरीहरूको समीक्षा गरेर ती कमजोरी नदोहोर्याउने गरी यस पटकको चुनाव गर्नु पर्ने हुन्छ। हामीले विकास निर्माणका प्रयासहरू, दैनन्दिन हामीले भोगेका समस्याहरू समाधान गर्न निर्वाचनको माध्यमबाट त्यो जिम्मेवारी कसैलाई सुम्पिदै छौ। त्यो व्यक्ति दलीय सोच भन्दा माथि उठेर कुनै स्वार्थ विना हाम्रो सेवा गरोस भन्ने चाहना हामीले गरेका हुन्छौ।
Advertisement 2
हामीले चुन्ने प्रतिनिधि चाहे त्यो अध्यक्ष/ प्रमुख होस् वा उपाध्यक्ष/ उपप्रमुख वा वडा अध्यक्ष वा सदस्य जो भए पनि ती सवैमा उपरोक्त क्षमताको अपेक्षा राख्छौ। यसैले यस अभियानमा लाग्ने राजनीतिक दल र हामी मतदाताहरू यस्ता निर्वाचनमा गरिने उम्मेद्वारहरूको छनौटमा सजग हुन जरूरी छ। निर्वाचनमा सहभागी राजनीतिक दलले सम्भावित निर्वाचनमा उपयुक्त उम्मेद्वार दिन सकेन भने सर्वसाधारणमा सो दल प्रति विश्वास रहदैन। स्थानीय विकासमा दल भन्दा पनि उम्मेद्वारको चरीत्र र भावनाले ठूलो महत्व राख्छ। त्यसैले हरेक दलले आफ्नो उमेद्वारको छनौट गर्दा आफ्नो कर्तब्यमा सक्षम, लोक प्रीय र पारदर्शी ब्यक्ति छनौट गर्नु पर्छ।
त्यसै गरी मतदाताहरूले पनि कुन पार्टीको भन्दा पनि कस्तो उम्मेद्वार छनौट गर्ने भन्ने सोच्नु पर्छ। स्थानीय तहले गर्ने काम के के हुन् र त्यो काम गर्न सक्षम को हुन सक्छ भन्ने तर्फ हरेक मतदाता सचेत र सजग हुनु पर्छ। कसैको दवावमा मतदान गर्ने हैन र कसैको प्रलोभनमा समेत नपरी आफ्नो प्रतिनिथि स्वतन्त्र रूपले छनौट गर्न हरेक मतदाता लाग्नु पर्छ र मतदातालाई यस्तै किसिमको शिक्षा सम्बन्धित निकायले दिनु पर्ने हुन्छ। स्थानीय तहको एक कार्यकालको समीक्षा गर्दा अन्य तहको तुलनामा यो तह बढी ब्यबहारिक पनि देखियो। किनभने यस्ता तहहरूको भूमिका कोभीड-१९ को रोकथाम, प्राकृतिक प्रकोपमा उद्धार राहत, जन सहभागिता, विकास निर्माण, पुरातात्वीक वस्तुको संरक्षण र विकास, आन्तरिक पर्यटन आदिमा महत्वपूर्ण रह्यो। यसको अतिरिक्त यसले सुधार गर्नु पर्ने पक्षहरू पनि त्यत्ति कै देखिए।
Advertisement 3
संघीयतालाई सिंहदरवारको अधिकार घर घरमा लग्ने त भनियो तर अधिकार संगै विकृतिहरू पनि भित्रिएको अनुभूति गरियो। उदाहरणको लागि भ्रष्टाचारजन्य कसूरहरूको थलो स्थानीय तह बन्न पुग्यो। त्यसै गरी विकासका मानक सडक यातायातलाई मात्र मान्ने सोचले गर्दा पर्यावरण र ईन्जिनीयरिंगलाई हेक्का नराखी डोजर आतंक फैलिदा बाढी पैह्रोका प्रकोपहरू बढे। त्यस्तै जन प्रतिनिधिहरू दलीय सोच भन्दा माथि उठ्न नसक्दा विकासले सन्तुलन पाउन सकेन। त्यसै गरी केही खरावी हामी मतदाताहरूमा पनि छ। किनभने हामीहरू मतदाता भन्दा पनि पार्टीका कार्यकर्ता बढी हुन थाल्यौ र पार्टीका कमी कमजोरी औंल्यायो भने नेताको प्रिय हुन पाईदैन भनेर नेतालाई खुसी बनाउने नाममा पार्टी र नेताका कमी कमजोरी औंल्याउन नसक्ने भयौ जसले स्थानीय विकास निर्माण र सामाजिक विकासमा आशातीत सफलता प्राप्त गर्न सकिएन। राजनीतिक दलहरू पनि विभिन्न गुट उपगुटमा विभाजन हुनाले सही उम्मेद्वारको छनौट गर्न नसकेको अवस्था रह्यो।
पार्टीका ईमान्दार र आदर्शवादी नेतालाई अवसरवादी र भ्रष्टले जितेको अनुभूति रह्यो र विस्तारै पार्टी नै यस्तैको नियन्त्रणमा जादै त छैन भन्ने शंका हुन थाल्यो। त्यसैले हाम्रा सबै राजनीतिक दल, हामी मतदाता, पार्टीका कार्यकर्ता र उम्मेद्वार स्वयंले यस्ता तथ्यहरूलाई मनन् गरी निकट भविष्यमा हुन गै रहेका स्थानीय तह समेतका निर्वाचनहरु सफलता पूर्वक सम्पन्न गरेर सम्विधानको मर्म र भावनालाई ब्यबहारमा ल्याउन सकौं।