लेखेर राख्नुहोस् एक सय एक प्रतिशत पार्टी विभाजन हुँदैन

– मोहम्मद इस्तियाक राइन, पूर्वमन्त्री तथा संघीय सांसद जसपा
Advertisement 1
केपी ओलीकै शैलीमो उपेन्द्र यादवले एकलौटी पार्टी सञ्चालन गर्न थालेको भन्दै जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । यहीबीच १६ वर्षदेखि उपेन्द्र यादवसँगै रहेका मो. इस्तियाक राइन अहिले फरक कित्ता अर्थात् बाबुराम भट्टराईको नजिक पुगेको चर्चा व्यापक छ । तर, उनी आफू समावेशी र सामूहिक नेतृत्वमा पार्टी चल्नुपर्छ भन्ने पक्षधरमा रहेको र कसैको कित्तामा नरहेको प्रष्ट्याउँछन् । एमाले, माओवादी, कांग्रेसलगायत ठूला दलभित्र विरोधका स्वर निस्कँदा ती यस्ता विषय हुने तर मधेसी दलमा राजनीतिक बहस उठ्दा विभाजनकै डिलमा पार्टी पुग्यो भन्ने ढंगले प्रचार गरिनु दुःखद रहेको उनको टिप्पणी छ ।
जनता समाजवादी पार्टी विभाजनकै डिलमा पुग्यो भनिँदै छ । यस्तो स्थिति किन आयो ?
Advertisement 2
– पार्टी चलाउने शैली, काम गराई र सामूहिक निर्णय नहुनेजस्ता समस्या छ । सामूहिक र समावेशी नेतृत्वको बहस चलिरहेको छ । विभाजनको पक्षमा कोही नेता छैनन् । मधेसवादी दलका विगत हेरेर विभाजन हुन लागेको हो ? भन्ने ढंगले प्रश्न आइरहेका छन् ।
कांग्रेसभित्र देउवालाई कति गाली गर्छन् । सोमबार मात्र भीम रावलले केपी ओली लक्ष्यित ट्विट गर्नुभएको छ । नेतृत्व तानाशाही भयो भनेर खुला वक्तव्य निकालिएको छ । ती पार्टीमा त्यसलाई विभाजनसँग नभई राजनीतिक बहसका रूपमा जोडिन्छ अनि मधेसका पार्टीमा भने सिधै विभाजनसँग लगेर जोडिन्छ ।
Advertisement 3
तपाईंहरू गुटगत भेलामा सक्रिय रहेको नेताहरूको आरोप छ नि ?
– कसको मनमा के चल्दैछ, कसैले भन्न सक्दैन । फेरि शंकाको इलाज त अहिलेसम्म कहीँ कतै हुन्न । हामी सांसद र नेता हौं । प्रतिपक्ष, सत्तापक्ष, आफ्ना पार्टीका नेतासँग भेटघाट गर्र्छाैं । राम्रो विचारलाई पार्टीभित्र कार्यान्वयन गराउन पहल गर्छाैं । त्यसलाई गुटगत भन्नु गलत हो ।
उपेन्द्र यादव र बाबुराम भट्टराईको टकरावले नेताबीच कित्ताकाट भइरहेको चर्चा छ । बाबुराम भट्टराईले अध्यक्ष बन्न खोजेको पनि सँगसँगै सुनिन्छ । स्थिति के हो ?
– उपेन्द्र यादवका मान्छे हुन् वा बाबुरामका कोही कित्ताकाट हुँदैनन् । उपेन्द्र यादवले मधेस आन्दोलनको नेतृत्व गर्नुभएको हो । हामीले पनि सामूहिक नेतृत्वमा बसेर काम गरेका हौं । हामी वैकल्पिक शक्ति हौं भने अरुभन्दा के कुरामा फरक छौं ? एकल जाति, एकल समुदाय यस्तै केही सीमित व्यक्तिको नेतृत्वमा पार्टी चलाउने वा आदिवासी, जनजाति, खसक्षेत्री सबैको बनाउने ? त्यसमा बाबुराम भट्टराई नै हुनुपर्छ भन्ने होइन ।
अशोक राई, प्रकाश अधिकारी, युवराज कार्की, प्रभुराम बस्नेत, डम्बर खतिवडा, रकम चेम्जोङ वा अमुक कोही व्यक्ति हुन सक्छन् । जसपा पार्टी विभिन्न जातजातिको समावेशी पार्टी भएका कारण नेतृत्व पनि त्यसै होस भन्न पाइन्न । विधानमा भएको व्यवस्थाअनुसार पार्टी चल्नुपर्छ र चलाइनुपर्छ ।
उपेन्द्र यादवको विकल्प खोजी हुँदै हो ?
– उहाँको विकल्प खोज्ने होइन कि सामूहिक ढंगले पार्टी चलाउने हो । अहिले पार्टीको एउटा अध्यक्ष खाली छ । आदिवासी, जनजाति क्लष्टर बनाएर त्यही अनुसार नेतृत्व हुनु पर्छ । विधानमा भएको व्यवस्था कार्यान्वयनमा आउनु पर्दैन । जसको बहुमत पुग्छ त्यसैलाई स्वीकारेर अघि बढ्नुपर्नेमा बैठक नै नहुनु, बहसै नहुनुचाहिँ गलत हो । विधानले हरेक महिनामा कार्यकारिणी समिति बस्नुपर्छ भन्छ ।
तर मन्त्री चयनदेखि राष्ट्रियसभाको टिकट वितरणसम्ममा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गर्नुभएको भन्छन् त !
– त्यही कारण अहिले यो बहसले तरंग ल्याइरहेको छ । विगतमा जे–जस्ता कमजोरी भए पनि त्यसलाई बिर्सेर सामूहिक र समावेशी नेतृत्वमा पार्टी सञ्चालन हुनुपर्छ भनेर बहस चलिरहेको हो ।
झण्डै १६ वर्षदेखि ओली उपेन्द्रको साथ छाडेर बाबुराम भट्टराईको कित्तामा पुग्नुभएको हो ?
– १६ वर्षदेखि केन्द्रीय समितिमा उहाँको नेतृत्वमा छु । मधेसी जनाधिकार फोरम एनजिओका रूपमा दर्ता भएर पार्टीका रूपमा आउँदा उपेन्द्र यादव, रामसहाय यादव र म थियौं । बाँकी कति आते, जाते भए । मधेस समावेशी मुद्दाको उहाँले नेतृत्व गर्नुभयो, हामीले साथ दियौं । र, उपलब्धि पनि हात लाग्यो । काम सही छ भने सही र गलत छ भने गलत्तै भन्नुपर्छ ।
आवश्यकताअनुसार पार्टीलाई रूपान्तरण गर्दै लैजाने हो । पार्टी सदैव एउटै मुद्दामा मात्र त रहिरहँदैन । जहाँसम्म म उपेन्द्र यादवको कित्ता छाडेर बाबुरामको कित्तामा पुगेको प्रश्न छ, त्यो गलत हो । बाबुरामको विकल्पमा मैले भनिसकेको छु । पार्टीभित्र सबै क्लष्टरको मान्छे छन् ।
भनिन्छ नि, झगडाको बिउ सानै हुन्छ । अधिकांश पार्टी आन्तरिक संघर्ष चर्किएरै विभाजन भएको देखिन्छ । जसपा विभाजन हुँदैन भन्ने आधार के छ ?
– पार्टीभित्र विभिन्न खालका नेता छन् । खारिएर, जनयुद्ध, जनविद्रोह, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न पृष्ठभूमिबाट आएका । लेखेर राख्नुहोस् एक सय एक प्रतिशत पार्टी विभाजन हुँदैन । देशकै ठूलो शक्तिका रूपमा यसको उदय हुनेछ ।
प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको छ । त्यसमा जसपा पार्टीको धारणा के हो ?
– पार्टीले कुनै निर्णय गरेको छैन । मेरो व्यक्तिगत मत भन्नुहुन्छ भने, न्यायपालिकाजस्तो गरिमामय संस्थामा न्यायपालिकाकाकै सदस्य र कानुन व्यवसायी आन्दोलनमा उत्रनु र जनताले न्याय नपाउनु दुर्भाग्य हो । यसमा सत्तापक्ष र प्रतिपक्ष दुबै चुकेका छन् । महाअभियोग उचित हो तर प्रक्रिया गलत भयो ।
महाअभियोगको एमालेले काउन्टर गर्दै छ । यस्तो सिलसिलाले मुलुक कहाँ पुग्ला ?
– एमाले काउन्टरमा जान्छ भने त्यो गलत हो । न्याय र कानुनको पक्षमा उभिनु अनि अन्यायको पक्षमा उभिनु फरक कुरा हो । चोलेन्द्रसमशेर जबराको विगतका कतिपय फैसला विवादित बने । पछिल्लो समय सरकारदेखि संवैधानिक नियुक्तिमा उहाँले भागबण्डासमेत पाउनुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक अर्काेबीच नियन्त्रण र सन्तुलनको सिद्धान्तमा चल्नुपर्नेमा त्यसलाई उहाँले भत्काउन खोज्नुभयो ।
त्यसविरुद्ध न्यायपालिका आफैँ उभिएको हो । चोलेन्द्रको महाअभियोगको काउन्टरमा एमालेले अरु कसैलाई महाअभियोग लगाउँछ भने उहाँहरू त्रसित र दूषित मानसिकतामा हुनुहुन्छ भनेर बुझ्नुपर्छ । काउन्टरमा महाअभियोग ल्याउनु गलत हुन्छ । चोलेन्द्रसमशेरले न्यायपालिकाबाट बाहिर गएर कार्यपालिका र व्यवस्थापिकामा भाग खोजेको, मुद्दामा बार्गेनिङ गर्दा न्यायपालिकाको स्तर गिरेको, न्यायपालिकामाथि जनताको विश्वास हटेको अवस्था थियो ।
श्रीमान श्रीमतीको झगडामा इन्टरफेयर गरेको, विगतमा एमाले र माओवादी छुट्ट्याइदिनेजस्ता गर्नै नमिल्ने निर्णय उहाँले गर्नुभयो । निर्वाचन ऐन र कानुनविपरीत हुने गरी जन्मिएका बच्चालाई पेटभित्रै पठाइदिनेजस्ता दूषित फैसला भयो । महाअभियोगले दूषित र न्यायपालिकाको गरिमामै आँच आउने अवस्थामा पूर्णविराम त लागेको छैन, कमासम्म लगाइदिएको छ । त्यो झन् उपयुक्त निर्णय हो तर ढंग पु¥याएर गरिएन । सबैको सहमतिमा गर्न पर्ने विषय थियो । प्रतिपक्षले ६ वटा खाली कागजमा आफ्ना सांसदको हस्ताक्षर गराएर राखेको छन्, त्यो प्रतिशोध र बदलाको कार्वाही हो ।
तपाईंहरूको मधेसकेन्द्रित दल नै अहिले चिराचिरा भएको अवस्था छ । आगामी निर्वाचनमा कस्तो पोजिसनको अपेक्षा राख्नुभएको छ ?
– पार्टी फुटेको होइन केही साथी चोइटिएर गएका हुन् । पार्टी फुट्नुअघि जुटेको पनि थियो । जुटेको पार्टी आंशिक रूपमा चोइटिएर गएको हो । पहिला हामी १७ सांसद थियौं अहिले २१ छौं । पहिलाभन्दा झन् बलियो भएका छौं । प्रदेशमा पहिला ३० जना थियौँ अहिले ४० छौँ ।
शहरी विकासमन्त्री हुँदा ओलीसँग घनिष्ट सम्बन्धको चर्चा सुनिन्थ्यो । अहिले कस्तो छ सम्बन्ध ?
– राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैनन् । उहाँ कार्यपालिका प्रमुख, म सदस्य । कार्यपालिका प्रमुख र सदस्यको तारतम्य मिलेन भने कुनै पनि काम गर्न गाह्रो हुन्छ । काम र क्षमताका आधारमा उहाँले ¥याङ्किङ गर्नुहुन्थ्यो । म सदैव १ नम्बरमा पर्थें । त्यही कारण ओलीले क्याबिनेटमा मलाई बढी नै ग्राह्यता दिएको ठान्छु ।
उहाँको सहयोग राम्रै भएरै विगतमा ठुल्ठूला आयोजनाजस्तो प्रधानमन्त्री निवास, संसद् भवन, बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन, गोदावरीमा तीन हजार क्षमताको सभा हल, मुख्यमन्त्री र प्रदेशमन्त्रीहरूको निवास, मन्त्री क्वार्टर सम्पन्न गर्न सक्यौं । त्यही सम्बन्धलाई जोडेर इस्तियाक राइन केपी ओलीको भित्रिया हो भन्छन् भने त्यस्तालाई केही भन्नु छैन । उपेन्द्रलाई प्रचण्डको पुच्छर भन्छन् । सबै स्वतन्त्र छन् । कसैसँगको सम्बन्धलाई लिएर अनर्गल व्याख्या गर्नु राम्रो होइन । केपी ओलीसँग राजनीतिक संवादबाहेक केही छैन ।
पूर्वशहरी विकास मन्त्रीका रूपमा अहिलेको सोही मन्त्रालय चलाई रहनुभएका रामकुमारी झाँक्रीको कामलाई कसरी हेरिरहनुभएको छ ?
– सरकारले औसतमा राम्रो काम गरेको छ । स्वास्थ्य क्षेत्रमा राम्रै छ । पेन्डामिकमा भ्याक्सिन र बुस्टरमा राम्रै काम गरेको छ । अर्थबाट हचुवाका आधारमा नीति आउने कारण विकास बजेट खर्च गर्न सकेको छैन । अहिलेको शहरी विकासमन्त्रीले जोखिमपूर्ण बस्तीलाई एकीकृत बस्तीमा ल्याउने, भवन मापदण्ड पालना नगरी जथाभावी घर बनाउनेलाई सेक्ने र स्थानीय तथा प्रदेशलाई आ–आफ्नै भवन मापदण्ड बनाउनुभएको छ । व्यवस्थित शहरीकरण गर्नेतिर ध्यान गएको देखिएन ।
प्रचण्डसँग बाक्लै उठबस गरिरहनुभएको सुनिन्छ । के विषयमा कुराकानी हुन्छ ?
– उहाँको शीर्ष नेताहरूसँग मात्र कुरा हुन्थ्यो होला । तर, हामीलाई पनि बोलाउनुहुन्छ । पार्टीभित्रका समस्या के–के हुन् ? भनेर जिज्ञासा राख्नुहुन्छ । एउटा लिडरले अर्काे नेतालाई बोलाएपछि जानु र संवाद गर्नुलाई अन्यथा लिनुहुँदैन ।