इलाममा ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मात्रै मतदान भएको प्रारम्भिक अनुमान

काठमाडौं । निर्वाचन आयोगले इलाममा ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मात्रै मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । आयोगले शनिबारका लागि निर्धारित इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर दुई र बझाङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र एकमा उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको हो ।
Advertisement 1
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेकोमा अहिलेसम्मको विवरण अनुसार इलाममा करीब ५८ प्रतिशत र बझाङमा करीब ५० प्रतिशत मतदान भएको आयोगका सहायक प्रवक्ता एवम उपसचिव रामदत्त पाण्डेले जानकारी दिए । उनका अनुसार यस उपनिर्वाचनमा इलाममा एक लाख १५ हजार ८८९ मतदाता र बझाङमा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।
२०७९ मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाममा ५९ दशमलव ७८ प्रतिशत तथा बझाङमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो । यसरी हिसाव गर्दा यस अघिको निर्वाचनमा भन्दा यस पटकको उपनिर्वाचनमा इलाममा एक प्रतिशत र बझाङमा दुई प्रतिशत कम मदानत भएको छ ।
Advertisement 2
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार इलामका मतपेटिका मतगणनास्थल इलाम नगरपालिका सातस्थित गौतम बुद्ध सभागृहमा राति ११ बजेभित्र ढुवानी भइसक्ने जनाइएको छ । यस्तै बझाङका मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाटसमेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार बझाङको साइपाल गाउँपालिकाको तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ हुने आयोगका सहायक प्रवक्ता पाण्डेले जानकारी दिए ।
Advertisement 3
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । साथै, आयोगले मतगणनाको कार्यमासमेत सबै सरोकारवालाको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास लिएको जनाएको छ ।
उपनिर्वाचन सम्पन्न गराउने कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोगले धन्यवाद ज्ञापन गरेको छ ।