फेदिखोले जनताको सञ्जीवनी हुन घनश्याम

सामान्य नै सही जो निरन्तर बलियो अठोटका साथ आफ्नो काममा लाग्छन्, उनीहरु नै समाजमा हिरो बन्छन् । फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी त्यसै हिरो बनेका हैनन् । पचासौ वर्ष पाकाहरुले गाउँपालिकाको अध्यक्षमा सुवेदीलाई अघि सारे अत्यधिक मतले विजयी पनि बने, विजयी बने वापत उनले जनमतको दुरुपयोग हुन दिएनन् । र त आज गण्डकी प्रदेश कै एक नम्बरमा र मुलुकभरि चौथो नम्बरमा पर्न सफल भएको छ फेदिखोला गाउँपालिका ।
फेरि झटारो त फलेकै वृक्षमा त हान्ने गरिन्छ । प्रदेशकै पहिलो नम्बरको पालिका बनाउन सफल पालिकाका अध्यक्ष घनश्याम सुवेदीलाई कोही कसैले अतिरञ्जित खोट लगाउने खोजे पनि जनता विश्वास गर्ने पक्षमा कहाँ छन् र । विरोधीहरु त्राहिमाम बनेका छन् । स्थानीय निर्वाचनको मिति तोकिएसंगै जनमतले पुन: सुवेदीको विकल्प नदेखेपछि केही आरिसले जलेकाहरुको अफबाहको फसल त्यसै तुहिएको छ । सुवेदी भिजन भएका नेता हुन् । जनसेवाप्रति उनको उत्तरदायित्व, मोह साँच्चै प्रशंसा योग्य छ । दैनिक ज्याला मजदुरीमा जिविको पार्जन गर्ने मजदुर हुन वा स्कूल जाँदै गरेका साना नानीहरूको भविष्यको कर्म कुण्डली उनले तय गरेका छन् ।
फेदिखोला अझ त्यसलाई बृहत् रूपमा परिचित गराउने स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम नुवाकोट । त्यही जन्मेहुर्केका सुवेदीलाई पाईपाईमा आम जनजीवनको वृतान्त थाहा छ । उनलाई के थाहा छ भने दैनिक ज्याला मजदुरीमा जीवनको गर्जो टार्न पर्नेहरु उही दिन कमायो उही दिन आफू मात्रै रमाउन थालेपछि, परिवारको भबिष्य अन्धकार बनाउन उद्दत मजदुरहरुलाई नत्थी लगाएका छन् । यानेकि पालिका भित्र काम गर्ने जतिपनि मजदुरहरु छन् बैकिङ प्रणालीबाट मात्र पारिश्रमिक भुक्तानी दिनुपर्ने नीति लागू गराएका छन् । सूचीकृत ४ सय ७८ जना मजदुरमा ३ सय १२ जना पालिकाको मजदुर संचित कोषमा आवद्ध भएका छन्। न्युनतम पारिश्रमिक, पारिश्रमिकको १५ प्रतिशत अनिवार्य बचत, थप १५ प्रतिशत पालिकाले । यही कामको लागि त गाउँपालिकाले ‘मजदुर सञ्चित कोष’ स्थापना गरेको हो । यसरी महिनैपिच्छे मजदुरको खातामा ३० प्रतिशत बचत हुन्छ। यसरी जम्मा भएको रकम निकाल्न मजदुरले आफू खुसी गर्न पाउँदैन । उक्त रकम निकाल्न पनि पालिकाले सिफारिस अनिवार्य गरिएको छ।
लामो समय शिक्षण पेसामा आबद्ध सुवेदीका सामु चुनौती बग्रेल्ती थिए । २०७४ जेठ ८ मा पदभार त ग्रहण गरे । कर्मचारीद्धारा संचालित पालिकामा जनप्रतिनिधि आइसकेपछि नागरिकमा परिवर्तनको नयाँ अनुभूति गराउनु थियो । तर अनुभव थिएन । असार भित्र बजेट बनाउनु पर्ने समय घड्कीसकेको थियो । बजेट ल्याए । बजेट मात्र ल्याएनन् पहिलो बजेट मै नागरिक स्वास्थ्य स्याहार कार्यक्रम लागू गरे ।
६० वर्ष नाघेका नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण शुरु गरियो ।लामो समयदेखि नियमित औषधि सेवन गरिरहेका बिरामीले अस्पताल वा औषधि पसल धाउनु पर्ने झन्झटबाट मुक्ति पाए । पालिकाले सबै स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकको निःशुल्क उपचार गराउँछ। जिल्ला बाहिर लैजानुपर्ने भए आर्थिक अवस्था हेरेर सहयोग गर्छ।
यता, गर्भवती र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्य रेकर्ड राख्न ‘मेडिक मोबाइल केयर सिस्टम’ सफ्टवेर सञ्चालनमा ल्याइएको छ। सबै गर्भवती महिला गाउँपालिकाको रेकर्डमा छन्। गाउँपालिकाले दुई वर्षसम्म शिशुको नियमित खोप, स्वास्थ्य परीक्षण, पोषण लगायतको अवस्था रेकर्डमा राख्छ। हाल पालिका भित्र कुपोषणको कुनै समस्या छैन। गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य रेकर्डले कोभिडको बेलापनि खासै समस्या झेल्नु परेन घर घरमै स्वास्थ्यकर्मी, औषधि र आवश्यकता अनुसार एम्बुलेन्स सेवा पालिका ले उपलब्ध गरायो।
नागरिकलाई स्वास्थ्य उपचारमा आर्थिक सहायता दिन वडा अध्यक्षको सिफारिसमा गाउँपालिकाले बेसहारा, सुकुम्बासी र गरिबीको रेखामुनि रहेका बिरामीलाई एक लाखसम्म सहयोग एउटा सहायता कोष सञ्चालन गरेको छ । यिनै नागरिकका लागि दुईदर्जन भन्दा बढी रोग परीक्षण हुने ल्याब स्थापना गरिएको छ। पालिका भित्रै स्तरीय अस्पताल स्थापना गर्न डिपिआर तयार भएको भवन निर्माणका लागि २१ करोड रुपैयाँमा सम्झौता समेत भएको छ। यता, शिक्षामा पालिकाले नीजि तथा सामुदायिक बिद्यालयहरुमा  ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ। अझ गज्जब त के छ भने, गाउँपालिकाले महिनावारी भएका छात्रालाई स्यानिटरी प्याड सहजताका लागि गराउन सबै स्कुलमा स्वचालित मेसिन राखिदियो। संघीय सरकार गण्डकी प्रदेशको फेदिखोला पालिका सरकारको सिको गर्दै दुई वर्षपछि प्याड वितरण कार्य थालेको थियो। बजेटको ४० प्रतिशत शिक्षामा छुट्याएको पालिकाले सबै स्कुलमा कक्षा ६ देखि १० सम्म कम्प्युटर विषय अनिवार्य गरिएको छ। अप्टिकल फाइबरमार्फत इन्टरनेट सुविधा छ। कम्प्युटर ल्याब। कम्प्युटर पढाउन माध्यमिक तहको शिक्षक जसको ६० प्रतिशत तलब गाउँपालिकाले बेहोर्छ । ११ र १२ मा ‘डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ’को पढाइ शुरू गरिएको छ ।। यो विषय पढ्ने दलित र विपन्न पाँचजना विद्यार्थीलाई पालिकाले पूर्ण छात्रवृत्ति दिने गरेको छ । शिक्षकलाई प्रविधिमैत्री बनाउन ‘एक शिक्षक एक ल्यापटप वितरण गरेको छ । शिक्षामा गरेको आमूल सुधारले सामुदायिक विद्यालयमा आकर्षण ह्वात्तै बढेको छ । यति मात्रै कहाँ हो र पालिका बैठकले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बसालेको छ । आफ्ना बच्चा निजी विद्यालयमा पढाएर सरकारी विद्यालयमा समय कटाउन जाने शिक्षकको शल्यक्रिया भएको छ ।
बाउँठिने जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्नो  तलबको १० प्रतिशत गाउँपालिकाको शिक्षा विकास कोषमा जम्मा गर्नुपर्ने नियम पनि लगाएको छ । विद्यार्थीको समस्या बुझ्न गाउँपालिकाले ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम चलाएको छ। यसअन्तर्गत गाउँपालिकाका अध्यक्ष विद्यालयमै पुग्छन् र विद्यार्थीहरूसँग छलफल गर्छन्। खरको छानो, चुहिने समस्या भएका घरमा गाउँपालिकाले जस्ताको छानो हालिदिएको छ । बत्ती नभएका घरमा बत्ती जोडिदिएको छ । सबै वडालाई पालिकासंग जोड्ने मोटरबाटो निर्माण गरिएको छ । कल्पना पनि नगरिएको पालिकाको वडा नंवर ४ मा पर्ने गल्याम भीर फोरेर बाँङ्गेसम्म बाटो पुर्याइएको छ ।द्रुत गतिमा विकाशले फड्को मार्दै गरेको सो पालिकाका अध्यक्षको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ हुन वा सोही क्षेत्रका संघीय सांसद नारायण मरासिनी उनको खुलेर प्रसंशा गर्न कन्जुस्याइँ गर्दैनन् । कसले कल्पना गरेको होला र सर्केटारी गलेम बाटोको गलेम भीर फोरेर गाडी पुग्ला भन्ने ? तर कल्पनाको सपना आज सुवेदी कै कारण सफल भएको फेदिखोला २ का युवा रमेश विक बताउँछन् । गाउँपालिकाको महत्वकांक्षी योजनाको रुपमा रहेको भालुपहाड पर्यटकीय पुर्वाधार,सोही स्थानमा रहेको सेती खोलामा १ करोड ५८ लाखमा निर्माण गरिएको झोलुङे पुलले फेदिखोलाबासी अध्यक्ष सुवेदीको विकल्प खोज्ने पक्षमा छैन ।
अञ्जनकुमार हिमाली
प्रकाशित :२०७८ फाल्गुन ३, मंगलवार १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry