चैनपुर नगरपालिकामा अनियमितता, भ्रमणका नाममा स्वीकृतिविनै चार लाख भुक्तानी
चैनपुर नगरपालिका आर्थिक अनियमितता भएको भन्दै संखुवासभाका चार दलले कारबाहीको माग गरेका छन् । नगरपालिकामा भ्रमणका नाममा स्वीकृतिविनै चार लाख भुक्तानी गरेको भन्दै चैनपुर नगरपालिका नगर प्रमुख भरतकुमार खत्रीलाई राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन् ।
Advertisement 1
चैनपुर नगरपालिकामा रहेका एमालेबाहेकका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तथा स्थानीयले चैनपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन् । यथाशीघ्र बेरुजु रकम तिर्न दबाबका लागि पत्रकार सम्मेलन गरिएको उनीहरूले बताए ।
नगर प्रमुख खत्रीले व्यक्तिगत प्रयोजनका लागि लाखौं रकम पेस्की लिएको, चीन भ्रमणमा नियमविपरीतको रकम लिएको, अनुदान वितरण, खेलकुद कार्यक्रम सञ्चालन, नदीजन्य उत्खननबाट प्राप्त कर, ठेकेदार कम्पनीसँगको मिलेमतोमा रकम लिने गरेको आरोप लागेको छ । नगर प्रमुख भरतकुमार खत्रीले चीन भ्रमणका नाममा निर्णयविनै करिब चार लाख रुपैयाँ भुक्तानी लिएका छन् ।