नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान !

नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो ।
Advertisement 1
कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिम्मामा पश्चिम कमान्डले काम गर्दै आएको छ । सुत्केरी तथा प्रकृतिक प्रकोप र विपद्मा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमान्डअन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याई उपचारमा सहयोग गर्दै आएको छ । २०७६ साल भदौ १७ मा पश्चिम कमान्डअन्तर्गत नेपाली सेनाले वीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरु गरेको थियो । सुरुमा काठमाडौँबाट हुने उडानहरु २०७६ साल भदौ १७ देखि सुर्खेतबाट नै तीनवटा प्रदेशमा हुँदै आएको छ ।
तीनवटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमान्ड स्थापना गरेको हो । लुम्बिनीको बाँके, बर्दिया, सुदूरपश्चिम र कर्णालीको पूरै भागलाई समेटेर पश्चिम एअर बेसबाट उडानका काम हुँदै आएको छ । उद्धारका लागि तीनवटा हेलिकोप्टरसहित उडान दलका समेत तयारी हालतमा राखिएको पश्चिम कमान्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताए । यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हालसम्म ४८ जनाको उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याइएको छ । २७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाई सेवा कार्यालयले बताएको छ । २०७७ सालमा ३४ गर्भवती, अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९ जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताए ।
Advertisement 2
पश्चिममा एअर बेस स्थापनासँगै उद्धारमा छिटोछरितो भएको स्थानीयवासीले बताएका छन् । पश्चिम क्षेत्रमा सवारी दुर्घटना, बाढी पहिरो, हिउँ पहिरामा परी घाइते भएकालाई समेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ । त्यस्तै, राहत वितरणमा समेत नेपाली सेनाले उडान भर्दै आएको छ । प्राकृतिक विपत्तिमा आफ्नै मेडिकल टिम खटाएरसमेत सेनाले जनसेवा गर्दै आएको पश्चिम कमान्डका मेजर जनरल प्रेम शाहीले बताए । पश्चिम कमान्डको एअर बेसलाई अझै पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग रहेको छ । पश्चिम एअर बेसबाट सबैभन्दा बढी डोल्पा, हुम्ला, मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उद्धार कोषमार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याउने काम सेनाले गर्दै आएको छ । सेनाले उद्धार गरी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ ।
Advertisement 3
हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रिस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजार उपलब्ध गराउने व्यवस्थासमेत रहेको छ । पूर्ण रुपमा हवाई उद्धार हुने १८ जिल्लाहरुमा ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् ।