मिलाउन जान्ने कर्मचारीलाई यहीँ छ मस्ती
करोडौंको आर्थिक अनियमिततामा मुछिएका एक जना सहसचिव अख्तियारको कारबाही छल्न पोखरा हुँदै लुम्बिनी पुगेको खबर छ । यसरी सरुवाको चाँजोपाँचो मिलाउने पात्र हुन् यामप्रसाद भुसाल, जो लामो समय प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
Advertisement 1
त्यहाँको आर्थिक तथा पूर्वाधार, मुख्यमन्त्री स्वच्छता अभियान, शासकीय सुधार तथा समन्वय महाशाखा सम्हाले । मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानको हर्ताकर्ता रहे ।
सोही अभियानका लागि सरकारले झण्डै ११ करोड १७ हजारका साइकल खरिद गर्दा अनियमितताको गन्ध भेटिएपछि अख्तियारले कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
Advertisement 2
सार्वजनिक खरिद ऐनको बर्खिलाप हुने गरी गत वर्ष चैतमा ११ करोड १० लाख २९ हजार एक सय ८४ रूपैयाँमा १७ हजार दुई सय ६२ थान साइकल खरिद गरेकोमा अनियमितता भेटिएको थियो ।
त्यही बेला सो खरिदको मुख्य योजनाकार मानिएका भुसाल, अख्तियारको फन्दामा पर्ने भएसँगै रातारात गण्डकी प्रदेशमा १५ दिन पनि नबसी अहिले लुम्बिनी पुगिसकेको भेटिएको छ ।
Advertisement 3
भुसाल लेखा समूहका कर्मचारी हुन् । यसअघि सडक विभाग मातहत एडिबीको कार्यालयमा कार्यरत रहँदासमेत अनियमिततामा परेका थिए । स्थायी रूपमा काठमाडौं बस्ने छोरा र श्रीमतीलाई विभिन्न अभियानमा नियुक्ति दिएर मासिक तलब बुझ्ने गरेको सोही प्रदेशका कर्मचारीले बताए ।
केहीअघि कर्मचारी डटकमले उनको सरुवासम्बन्धमा उनीसँगै जिज्ञासा राख्दा गण्डकी प्रदेशको निर्वाचन आयोगमा सरुवा भएको बताएका थिए तर त्यहाँ पुगेको दुई साता नबित्दै फेरि लुम्बिनीतिर झरिसकेका छन् । लुम्बिनी प्रदेशका एक सहसचिवका अनुसार उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरुवाको पत्र बुझिसकेका छन् ।
खरिदको टिप्पणी उठाउनेदेखि सबै खालको आर्थिक कारोबारमा प्रत्यक्ष संलग्न रहेका पात्रलाई निलम्बन गरी अनुसन्धान थाल्नुपर्नेमा उल्टै सरुवा गराइनुले प्रमाण नष्ट हुने र छानबिनमा असर पर्ने भन्दै कर्मचारी चिन्ता पोख्दै छन् ।