स्थानीय तहका १६५० कर्मचारीको सरुवाको सूची आज निस्कदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गर्ने तयारी गर्दैछ । मन्त्रालयले १६ सय भन्दा बढी संख्यामा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा गर्न लागेको हो । सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १६५० कर्मचारीको लोकसेवा आयोगबाट सरुवा गर्न लागेको हो।

Advertisement 1

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा हुन लागेको बताए।

‘भोलि मंगलबार कर्मचारी सरुवाको सूची वेबसाइटमा सार्वजनिक गरिनेछ,’ अधिकारीले भने। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कर्मचारीलाई स्थानीय तहको दोहोरो सहमति र निवेदनका आधारमा कामकाजमा खटाइने बताएका छन् ।

Advertisement 2

संविधानअनुसार स्थानीय तहको कर्मचारी व्यवस्थापनको जिम्मेवारी प्रदेशको भए पनि प्रदेशमा सम्बन्धित कानुनको अभावका कारण मन्त्रालयले कर्मचारीलाई सहजीकरण गर्न लागेको मन्त्री श्रेष्ठले बताए। कतिपय कर्मचारीले घर पायक नभएकाले र कतिपयले अरू विविध कारणले सरुवाको माग गरिरहेको उनले बताए । उनले भने, “एकजना खाली रहेका पालिकामा एकजना व्यक्ति नै जान चाहेमा जान पाउनुहुन्छ ।”

अहिले पनि स्थानीय तहमा कर्मचारी अभाव रहेको मन्त्री श्रेष्ठले बताए । सुगममा मात्रै काम गर्न चाहने कर्मचारीको चाहनाले पनि कतै आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिएको र कतै कम कर्मचारी कार्यरत रहेको उनको भनाइ छ । स्थानीय तहमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयको कमी हुँदा समस्या आइरहेको उहाँको भनाइ छ । कतिपय पालिकाले सरुवा भएर आएका कर्मचारीलाई हाजिर गराउन मानेका छैनन् भने कतिपय पालिकामा कर्मचारीले आफूले सरुवा चाहँदा नपाएकाले काममा सहयोग नगरेको उनले बताए । धेरै कार्यालयमा अहिले निमित्तलाई जिम्मेवारी दिइनु समस्याका रुपमा रहेको उहाँले औँल्याए। उनले भने, “निमित्तलाई जिम्मेवारी दिइनुभन्दा योग्यता पुगेकै व्यक्तिबाट काम लिइनुपर्छ ।”

Advertisement 3

मन्त्रालयका प्रवक्ता वसन्तकुमार अधिकारीले प्रदेशमा कानुनको अभावमा कर्मचारी व्यवस्थापन हुन नसकेकाले सङ्घीय सरकारले नै गरिरहेको उल्लेख गरे । विगतमा स्थानीय तहमा रहेका कर्मचारीलाई एकै ठाउँमा काम गर्दा विभिन्न समस्या आएकाले सरुवाका लागि अवसर दिइएको उल्लेख गरे। उनले भने, “राजनीतिक नेतृत्व अभावले केही समय निर्णय हुन नसके पनि अहिले पुनः निर्देशिकाका आधारमा सरुवा प्रक्रिया अघि बढाइएको छ ।”

प्रकाशित :२०७८ मंसिर २१, मंगलवार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry