अधिकृतको परीक्षामा २१ पटकसम्म असफल भएका कञ्चनकृष्णको कहालीलाग्दो कहानी

अक्सर हामी जीवनमा चालेका एक दुई वटा प्रयासमा असफलता हात लाग्ने वित्तिकै ‘डिप्रेश’ हुन्छौं । कि त त छोड्छौं त्यो प्रयास वा मोड्छौं जीवनको गन्तव्य ।
तर एक पटक दुई होइन,२० औं पटकसम्म असफलताले पच्छाइरहँदा पनि मैले छोडिन प्रयास गर्न,मोडिन मन । लेखिन्छन पढिन्छन् धेरैका असफलताका कथाहरु तर त्यही सफलता प्राप्त् गर्नका लागि उस्ले के कस्ता पापड बेल्यो ? त्यो कमै मात्र खोजिन्छन । मान्छेहरु हिचकिचाउछन आफ्नो असफलताका कथा सुनाउन आज म दिल खोलेर सुनाउँदैछु आफ्नै असफलताको कहानी ।
बनेपामा जन्मिए हुर्किए । बिद्यालयदेखि विश्वविद्यालय तहसम्मको अध्ययनको अनुभव सुखै रह्यो । कक्षामा अब्बल विद्यार्थीकै रुपमा दहरिन्थे । परीक्षाको नतिजाले लाग्द्यथ्यो जीवन सहज तरिकाले कट्छ तर सोचेजस्तो कहाँ हुन्छ र जीवन ? कहाँ सजिलो रेखामा हिड्छ र जीवन ? मसँगै राजधानी खाल्डो छिरेका र सुरक्षा सेवा तिर जागिर खाएका साथीहरु रिटायर्डको मुखमा पुगिसके । म भर्खर जागिर प्रारम्भ गर्दैछु । र,त्यो जागिर खानका लागि मैले गरेका प्रयास,संघर्षका अनुभव पस्कदै छु । जीवनमा पढाईमा कतै नचिप्लिएको म उच्च शिक्षा अध्ययनका लागि जर्मनी पुगे । एमएस्सीको अध्ययनपछि मैले पीएचडी अध्ययनका जर्मनीमा प्रि–पीएचडी ट्रेनिङबाट पीएचडीको लागि छनौट हुन म सकिन र फर्किए उदास मन लिएर स्वदेश । हातमा डिग्रीको सर्टिफिकेट थियो तर म बेरोजगार । धेरै रात सर्टिफिकेट सिरानीमै हालेर सुतें । त्यही बेरोजगारी दिमागमा एकाएक क्लिक भयो लोकसेवा अधिकृतको परिक्षा भिड्ने । प्रारम्भिक परिक्षामा दिए शुरुमै हात लाग्यो असफलता ।
Advertisement 1
यही बीचमा निजामती कर्मचारी अस्पतालमा खुल्ला प्रतियोगितात्मक परीक्षामा नायब सुब्बा सरहको प्रशासन सहायक पदमा नाम निस्क्यो । करारको जागिर थियो त्यो । त्यसले अलिअलि आर्थिक रूपमा राहत दियो । करार सेवा अर्थात कार्य सम्पादनका आधारमा बर्सेनि करार थपिने र चौथो वर्षपश्चात् आन्तरिक प्रतियोगिता मार्फत स्थायी हुने प्रावधान अन्तरगत जागिरे बनेको थिए ।
Advertisement 2
चार बर्ष पछि त स्थायी भइएला भनेर दत्तचित्त भएर काम गर्दथें । काममै रमाउथें । आफ्नो कामलाई माया गर्थें । तर अस्पताल भने मैले सोचेजस्तो बन्न सकिरहेको थिएन । कुनै समय राम्रो ख्याति भएको मेरो कार्यालयको सेवा दिनानुदिन खस्कंदै गयो । एक समयको अब्बल कार्य सम्पादन भएका कर्मचारीहरु निरुत्साहित हुदै गए । कारण थियो – अस्पतालको विनियमावली । खुल्ला प्रतियोगितामार्फत जाँच लिएर ४ बर्षपश्चात् आन्तरिक प्रतियोगितामार्फत स्थायी गराउने विनियमावलीको ब्यबस्था अस्पतालले पूरा गरेन । ०७८ सालमा संशोधन भएर आएको बिनियावलीबाट करारलाई स्थायी गर्ने प्रावधान हटाइयो । निजामती अस्पताल त एउटा टेक्ने टेकोमात्र थियो । म लोकसेवा भिडेरै अधिकृत बन्न चाहन्थें । त्यही कारण ६९ सालदेखि खुलेका जति र भ्याएसम्म अधिकृतका सबै फाराम भरे ।
Advertisement 3
लगातार ९ बर्षसम्म विभिन्न संस्थान,निकायमा परीक्षा दिए । कर्मचारी सञ्चयकोष,कृषि सामाग्री केन्द्र लिमिटेड,नेपाल विद्युत प्राधिकरण,वायूसेवा निगम,काठमाडौं महानगरपालिका,पर्यटन बोर्ड,कर्मचारी सञ्चयकोष,खाद्य संस्थान,गुठी संस्थानसम्म । प्रारम्भिक परीक्षा उत्र्तीण हुन्थें अनि दोश्रो चरणमा परीक्षामा सधैं फेल । यो असफलताबाट कहिलेकाहीँ अत्यास पनि लाग्थ्यो । बर्षभरी मिहेनत गरेको लोकसेवा अधिकृत दोस्रो चरणको परीक्षाको व्यग्र पर्खाईमा हुन्थें तर नतिजा आउँदा सदैव फेल भइन्थ्यो । एक पछि अर्काे असफलताले पच्छ्यदा पाइलैपिच्छे असफलतामात्र हात लाग्दा आकाश नै खसेर थिचेजस्तो,टेकेको धर्ती नै भासिएजस्तो लाग्दथ्यो । अकल्पनीय, अबिस्वसनीय । एक पछि अर्काे असफलता झेल्दै गए । एकवटा दुईवटा होइन २१ पटक लोकसेवा अधिकृतको परीक्षामा म अनुत्र्तिण भए ।
असफलता झेल्ने बानी नै लाग्यो । बीचमा आत्महत्या गर्ने सोच पनि मनमा नआएको होइन । तर अलि अलि अध्यात्मिक भइसकेको थिए । विभिन्न युटुयुब च्यानलहरु र पुस्तकहरुमा उत्प्रेरित गर्ने खालको भिडियो र सामाग्रीहरु खोजि खोजि पढ्थें तिनले केही हौसला अबश्य दिन्थ्यो । एकातिर लोकसेवा अधिकृतको परीक्षामा बर्षेनी असफलता हात लाग्दथ्यो अर्काेतिर उमेर छिपिदैं थियो अर्थात नेपालको नियम अनुसार सरकारी सेवा प्रवेशको अधिकतम उमेर हदको नजिक नजिक पुग्दैथिए र जति जति उमेर चढ्दै जान्थ्यो उति उति म निराश बन्दै जान्थें मनमा एककिसिमको अत्यास बढ्दै जान्थ्यो ।
भन्छन नि जीवनमा एकपटक समय सबैको आउँछ । मात्र हुनुपर्दछ धैर्यता र साहस । लगातारको बहाबले नदीले ठूल्ठूला चट्टानहरुलाई पनि पगाल्छ भनेझैं निरन्तरको संघर्ष पछि सफल भएका भए अर्थात ६९ सालदेखि लगातार नौं बर्ष सम्म अधिकृत तहको परिक्षा भिडे । यो बीचमा लोकसेवा अधिकृतको परीक्षामा २१ पटक फेल भए तर हरेश खाइन । खुले जति अधिकृतका परीक्षामा भिडिरहे र परिणाम नौ बर्षपछि मेरो पोल्टामा आयो अर्थात मेरो दिन फि¥र्यो ।
भन्छन नि जीवनमा सबै चिज खानु तर हरेश नखानु् ।त्यही हरेश नखाइकन तारान्तार २१ पटकसम्म लोकसेवाको परीक्षा दिए,अनुत्र्तिण भए तर हारिन । यही आँट,धैर्यता र लगावका परिणाम निस्कियो ०७८ कार्तिकमा । लगातार परीक्षामा भिड्न थालेको नवौं वर्षमा नेपाल विद्युत प्राधिकरण, प्रशासन सेवाको सातौं तह (प्रशासकिय अधिकृत) मा उत्र्तिण बने । अर्थात म पनि नेपाल सरकारको अधिकृत बन्न सफल भए ।
समाजमा औसतमा मानिसहरु एक दुई प्रयासमा असफल हुन्छन् । र प्रयास गर्न छोड्छन् ।लक्ष्य लिएर निरन्तरको प्रयास गर्ने हो भने असम्भव भन्ने चिज केही छैन । म अधिकृत त बनें । तर त्यो भन्दा महत्वपूर्ण कुरा – यो क्रममा म रुपान्तरित मान्छे पनि बनें । मेरो जीवनलाई हेर्ने दृष्टिकोण बदलिएको छ । मैले आफ्ना कमीकमजोरी पनि स्वीकार्न सिकेको छु । आफ्नो अपुर्णतामा पनि रमाउन थालेको छु ।
त्यसैले मैले आफू लोकसेवा अधिकृतको परीक्षामा २१ पटक फेल भएको कुरा भनें, यहाँ लेखें । साथीहरुलाई सुनाउँदैछु । भनिन्छ नि जीवनमा जस्ले पानीले नुहाउँछ, उसले केवल छाला बदल्न सक्छ । जसले पसिनाले नुहाउँछ, उसले इतिहास बदल्न सक्छ । जीवनमा तपाई संघर्ष गर्दै गर्दा कहिल्यै आत्तिनु हुँदैन किनकि संघर्षको बखत मात्र मान्छे एक्लो हुन्छ, सफलता पाएपछि सारा संसार साथमा हुन्छ ।