वरियतामा विरोध खतिवडा अर्थ र रक्षामन्त्रीभन्दामाथि,रामकुमारी १८ औं रोलक्रममा

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले आज पूर्णता पाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम रिक्त १७ मन्त्रालयमा राज्यमन्त्रीसहित १९ जनालाई जिम्मेवारी तोकेसँगै सरकारले पूर्णता पाएको हो ।

Advertisement 1

२५ सदस्यीय क्याबिनेटमा काँग्रेसबाट प्रधानमन्त्री र एक राज्यमन्त्रीसहित ९ जना समेटिएका छन् भने माओवादी केन्द्रले एक राज्यमन्त्रीसहित ६ मन्त्री पाएको छ । एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री पाउँदा जसपाबाट चार जना मन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले कसैलाई पनि उपप्रधानमन्त्री बनाउनु भएको छैन । प्रधानमन्त्रीपछि गृहमन्त्री बालकृष्ण खाँण माथिल्लो वरियतामा रहनुभएको छ । खाँणपछि कानुनबाट सञ्चारमा लगिनुभएका ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । यो पहिला मन्त्री भैसकेकाहरुको रोलक्रमका आधारमा बनाइएको सूची हो ।

Advertisement 2

त्यसपछिको वरियतामा माओवादी केन्द्रकी प्रभावशाली नेतृ उर्जामन्त्री पम्फा भुसाल हुनुहुन्छ । त्यसपछि क्रमश: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ,स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा,अर्थमन्त्री जनार्दन शर्मा, रक्षामन्त्री मीनेन्द्र रिजाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का रहनुभएको छ ।पहिलो पटक मन्त्री बनेका विरोध खतिवडा छैटौं बरियतामा हुनुहुन्छ । उहाँभन्दा मुनी अर्थमन्त्री जर्नादन शर्मा र रक्षामन्त्री मिनेन्द्र रिजाललाई राखिएको छ । वरियताको अठारौं नम्बरमा रामकुमारी झाक्रीलाई राखिएको छ ।

क्याबिनेटको सबैभन्दा तल्लो वरियतामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज रहनुभएको छ । उहाँभन्दा माथि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठलाई राखिएको छ । क्याबिनेटमा एक गैरसांसदलाई पनि मन्त्री बनाइएको छ ।

Advertisement 3

उध्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएका गजेन्द्र हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको कोटाबाट मन्त्री बनाइएको पुष्टि भएको छ । त्यस्तै,२५ सदस्यीय क्याबिनेटमा ३ जना राज्यमन्त्री छन् ।

प्रकाशित :२०७८ आश्विन २३, शनिबार ०५:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry