प्रधानमन्त्री कार्यालयले सहसचिव सरुवाको फाइलै फिर्ता पठाएपछि सामान्यले फेरि गर्यो संशोधन

सरकारलाई सहसचिवको सरुवा गर्न सकस परेको छ ।
झण्डै तीन साता अघि नै सामान्यले सहसचिवको सरुवाको सूची तयार पारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँगै सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेका कारण समान्यले सह सचिवहरुको सरुवाको फाइल प्रधानमन्त्री कार्यालयमा पठाएकोमा बीचमा विभिन्न इन्ट्रेस्ट ग्रुपहरुको स्वार्थ अनुकुल सरुवाको लिष्ट तयार नभएपछि प्रम कार्यालयले सरुवाको फाइल सामान्यमै फिर्ता पठाइदिएको बुझिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले इकर्मचारीलाई दिएको जानकारी अनुसार,सामान्यले ती झण्डै ५ दर्जन सहसचिवको सरुवाको सूची संशोधन गरी गत शुक्रवार प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।
यो साता भित्रैकमा एकै पटक ५ दर्जन हाराहारीको संख्यामा सह सचिवहरुको सरुवा हुन लागेको हो ।
सामान्यले प्रधानमन्त्री कार्यालयमा पठाएको सहसचिवहरुको सरुवाको सूची अनुसार, प्रशासन सेवा,कृषि तथा वन विज्ञान र इन्जिनियरिङ सेवातर्फका गरी झण्डै ५ दर्जन सह सचिव सरुवाको हिट लिष्टमा छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतले जनआस्थालाई सुनाए अनुसार,अर्थ मन्त्रालय मातहत रहेर काम गरिरहेका सहसचिवहरु सरुवाको हिट लिष्टमा छन् । जमसध्ये धनीराम शर्मा,झक्क आचार्य,सुमन दाहाल,यमलाल भुषाल र श्याम भण्डारीहरु सरुवा हुनेको सूचीमा छन् । हाल अन्तराष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख रहेका धनीराम शर्मालाई गण्डकी प्रदेशतिर पठाउने तयारी छ । यो बीचमा सामान्यले पठाएको सूचीमा हेरफेर नभएको खण्डमा हाल अर्थमा भूमिकाहिबिन बनाइएका यामलाल भुषाल मुख्यमन्त्री तथा मन्त्रिपरिाषद्को कार्यालय बाग्मती प्रदेशतिर पुग्नेछन् ।
यस्तै,सुमन दाहाल,प्रदेश नम्बर एक तिरै खेदिनेको सूचीमा छन् । यस्तै झक्क आचार्य कर्णाली प्रदेशतिर पुग्नेछन् ।
यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईलाई सम्पत्ति शुद्धिकरण विभाग तिर पठाउने गरी सरुवाको सूची तयार भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।