कुन महानगरपालिकाको बजेट कस्तो ?

मुलुकभरका ६ वटा महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेट पेश गरेका छन् । ललितपुर नगरपालिकाले भने आफ्नो बजेट नगर सभामा पेश गर्न सकेको छैन् ।
काठमाडौं महानगरपालिकाले कूल १८ अर्ब ९५ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमा कोभिडका कारण प्रवाभित उद्योग, व्यवसायी र सर्वसाधरणलाई राहत हुने गरी बजेट ल्याएको छ। यसबाहेक महानगरले निर्माण भइरहेको आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Advertisement 1

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ । उपप्रमुख खड्गीले महानगरपालिकाको आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको जानकारी दिनुभयो ।

‘प्रस्तावित बजेटमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कट चाहना, गतवर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट प्राप्त सुझावहरू, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘२०७८ असार ६ गते पारित काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम, नेपालको संविधानर स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेका जिम्मेवारीहरू, पन्ध्रौं योजनाले निर्दिष्ट गरेका शहरी विकास एवम् अन्य विषयगत क्षेत्रका नीति, रणनीति र कार्यनीतिहरू, नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बागमती प्रदेश सरकारका नीतिहरूलाई मध्यनजर गरी आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।’ आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रममा सङ्घ, प्रदेशले लिएका उद्देश्यहरूसमेत परिपूर्ति गर्न स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सघाउ पु¥याउने उदेश्य लिएको उहाँले जानकारी दिनुभयो ।

Advertisement 2

‘नेपालको संविधानले निर्दिष्ट गरेको शासकीय संरचना बमोजिम स्थानीय सरकारलाई प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन गर्ने, समतामूलक, सामाजिक न्यायमा आधारित भई सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन गर्ने, महानगरवासी समक्ष गरिएका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने उदेश्य राखिएको प्रस्तावित बजेटमा उल्लेख छ ।’ बजेटमा ती उद्देश्यहरू हासिल गर्न कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा ५० प्रतिशत विमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरूलाई पनि बजेटमा समावेश गरिएको छ ।

त्यस्तै महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीहरुका लागि सहयोग, मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन, उद्यमशिलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ । कर बक्यौतामा लाग्ने जरिवाना छुट त्यसैगरी आजै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गर्नुभएको काठमाडौँ महानगरपालिका आर्थिक विधेयक, २०७८ मा कोभिड—१९ को प्रभावलाई मध्यनजर गरी करदाताहरुबाट असूल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६र०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने प्रस्ताव उल्लेख गरिएको छ । त्यसैगरी आजै उपप्रमुख खड्गीले काठमाडौँ महानगरपालिका विनियोजन विधेयक, २०७८ नगरसभामै प्रस्तुत गर्नुभयो । उपप्रमुख खड्गीले प्रस्तुत गर्नुभएको विधेयकमा आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरुका लागि संचित कोषबाट खर्च गर्ने अधिकार र अनुमानित व्यय समेत उल्लेखित छ । सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट त्यसैगरी विधेयकमा महानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई ब्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरलाई अद्यावधिक गरी लागु गर्ने पनि उल्लेख छ । ‘कोभिड—१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर आर्थिक बर्ष २०७८/७९ को सम्पत्ति करमा थप ८०  प्रतिशत छुट हुनेछ,’ विधेयकमा उल्लेख गरिएको छ,’ ‘सबै करदाताहरुका लागि २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुट हुनेछ ।’

Advertisement 3

बहाल करमा दशप्रतिशत वा पच्चीस हजार रुपैंयासम्म छुट कोभिड–१९ को प्रभावले परेको असरलाई मध्यनजर गरी घर धनीले बुझाउने बार्षिक बहाल कर रकमको दशप्रतिशत वा पच्चीस हजार रुपैंया मध्ये जुन रकम कम हुन्छ सो रकम छुट हुनेछ । यस प्रावधान बमोजिमको बहाल करमा छुट प्राप्त गर्न सम्बन्धित घर धनी र बहालमा लिने प्राकृतिक वा कानुनी ब्यक्तिका विच भएको बहाल सम्झौता अनिवार्यतः पेश गर्नु पर्नेछ,’ विधेयकमा भनिएको छ । व्यवसायीले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशत छुट काठमाडौं महानगर क्षेत्र भित्र मानिसहरुको बढी भिडभाड हुने र सार्बजनिक शौचालयको अभाव रहेको स्थानका होटल, रेष्टुरेन्ट पसल जस्ता ब्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि समेत निःशुल्क सेवा दिन सहमत भई महानगरपालिकासँग सहकार्य गरे त्यस्ता व्यवसायमा लाग्ने व्यवसाय करमा थप पचास प्रतिसत छुट हुने विधेयकमा व्यवस्था गरिएको छ । कुन–कुन करमा कति–कति छुट ?

महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि कर वक्यौतामा लाग्ने जरिवान सबै छुट गरेको छ । त्यसैगरी सम्पत्ति करमा ९० प्रतिसतसम्म छुटको व्यवस्था गरेको छ ।

त्यस्तै बहाल करमा पनि महानगरपालिकाले १० प्रतिशत वा २५ हजार मध्ये जुन कम हुन्छ सो रकम छुटको प्रस्ताव गरेको छ । त्यसैगरी विधेयकमा व्युटिपार्लर र सैलुन व्यवसायमा पनि व्यवसाय कर नलिने घोषणा गरेको छ । होटल, रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिसत छुट दिने पनि घोषणा गरेको छ । आठ प्रकृतिका सेवाहरु निशुल्क उपलब्ध गराउने पनि आर्थिक विधेयकमा उल्लेखित छ ।

यसैगरी, भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड बराबरको बजेट नगर सभामा पेश गरेको छ । सो महानगरपालिकाले कोभिडका कारण ज्यान गुमाएकाको दाससंस्कार गर्न आवश्यक दाउरामा ३ हजार र शव गाड्नेको हकमा आवश्यक सहयोग गर्ने, किसानलाई दूधमा दिँदै अएको प्रतिलिटर १ रुपैयाँ अनुदानलाई बढाएर ३ रुपैयाँ दिने बजेटमा उल्लेख गरेको हो ।

यता भरतपुर महानगरपालिकाले चार वर्षको अवधिमा महानगरभित्र लामा छोटा गरी करिब ५१० किलोमिटर सडक कालोपत्रे भएको बताइन् । उनका अनुसार करिब ४५० किलोमिटर सडक ग्राबेल भएका छन्।
महानगरीय रिंगरोड, लिंकरोड, बाइपास रोडको स्तरोन्‍नति, पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणका साथै सहरी पूर्वाधार निर्माणका कार्य अघि बढिरहेका छन् । हुलाकी राजमार्ग विस्तार र स्तरोन्‍नति,चौबीसकोठी–चनौली–मेघौली सडक सहायक राजमार्गमा स्तरोन्‍नति भएको छ।

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नीति तथा कार्यक्रम प्रस्तुत : चार वर्षमै सडक, शिक्षा र खानेपानीको क्षेत्रमा ठूलो फड्को

भरतपुर महानगरीय चक्रपथको रेखाङ्कन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको उनको भनाइ छ । नेपालकै पहिलो सबैभन्दा लामो यस चक्रपथको कुल लम्बाई ८८ दशमलव ६१५ किलोमिटर रहेको र विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माण कार्य जारी रहेको बजेटमा उल्लेख छ ।

भरतपुर विमानस्थलको स्तरोन्नति

लामो समयदेखि महानगरबासीले प्रतीक्षा गरेअनुसार भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलको रुपमा स्तरोन्‍नतिको काम भइरहेको महानगर प्रमुख दाहालले बताइन् । उनले लामो संघर्षपछि भरतपुुर विमानस्थललाई प्रादेशिक विमानस्थलमा रुपान्तरण गर्ने काम अहिले धमाधम भइरहेको बताइन् ।
यस्तै, चार वर्षको अवधिमा ९ वटा वडा कार्यालय निर्माण सम्‍पन्‍न भएका छन् । ६ वटा वडा कार्यालयको तला थप गरिएको छ । ५ वटा वडा कार्यालयहरूको निर्माण कार्य अन्तिम चरणमा रहेको र बाँकी सबै वडा कार्यालयहरूको मर्मत तथा स्तरोन्‍नति गरी सेवा प्रवाहलाई सहज र सुविधायुक्त बनाइएको प्रमुख दाहालको भनाइ छ ।

सिटी हल निर्माण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा९सम्मेलनहरू गर्न र “सम्मेलन पर्यटन” विकासमा समेत टेवा पुर्‍याउन आफ्नै सिटी हल बनाउने महानगरको लक्ष्यअनुरुप महानगरपालिकाको समन्वयमा सहरी विकास मन्त्रालयबाट वडा नम्बर १० मा निर्माण कार्य शुरू भइरहेको प्रमुख दाहाललले बताइन् । उनका अनुसार कोरोनाको कहरमा समेत सिटी हल निर्माणको काम धमाधम भइरहेको छ । उनले तोकिएको समयभित्रै सिटी हल निर्माणको काम सकिने बताइन् । उनले भनिन्, ‘कोरोनाको समयमा पनि कुनै दिन नरोकि सिटी हल निर्माणको काम भइरहेको छ, यो महानगरले गरेको सयौँ योजनामध्ये एक प्रमुख योजना हो ।’

 

शिक्षामा सुधारोन्मुख कामहरु

विगत लामो समयदेखि प्रयास हुँदै आएको सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान र सबै विद्यालयमा तहअनुसार प्रधानाध्यापक व्यवस्थापनको कार्य सम्‍पन्‍न भएको छ। युवा स्वयंसेवक शिक्षक परिचालन कार्यक्रमले विद्यालयको शिक्षण सिकाइमा महत्त्वपूर्ण योगदान दिएको पाइएको छ। नयाँ विद्यालय भवन निर्माण, स्कुल कलर कोड अनुसार रङ र जस्ताको छाना भएका भवनमा जिप्सनको फल्स सिलिङ हाली बालमैत्री विद्यालय निर्माण जस्ता कार्यक्रमबाट विद्यालयको भौतिक पूर्वाधार विकासतर्फ उल्लेख्य कार्य भएको प्रमुख दाहालले बताइन्

बहु–उद्धेशीय व्यापारिक भवन

भरतपुर महानगरपालिका वडा नं ३ मा आफ्नै स्वामित्त्व रहेको जग्गामा सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिमको देशकै पहिलो नमूना परियोजनाको रुपमादुई बेसमेन्ट पार्किंङ्ग सहित चौध तले बहु–उद्धेशीय, व्यापारिक भवन “भरतपुर मेट्रो प्लाजा”निजी क्षेत्रको लगानीमा डिजाइन, निर्माण, संचालन, व्यवस्थापन र हस्तान्तरण गर्ने गरी ३० वर्ष अवधिका लागि निजी क्षेत्रसँग परियोजना विकास सम्झौता निकट भविष्यमा सम्‍पन्‍न हुँदैछ।

पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर

भरतपुर महानगरलाई नेपालकै पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाइएको छ । २ वर्षअघि २०७६ कार्तिक ९ गते मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघसंस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । उनले भनिन्, ‘भरतपुर महानगरभित्र सडक मानव देखिदैन, त्यस्तो ।’

६६ बिगाहा सार्वजनिक जमिन खोजी

विगत ४ वर्षको अवधिमा महानगरपालिकाभित्रका अतिक्रमित ६६ बिगाहा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरिएको छ ।

९६ वटा कानुन निर्माण

विगत चार वर्षमा महानगरपालिकालाई आवश्यक पर्ने १९ वटा ऐन, ८ वटा नियमावली, ४९ वटा कार्यविधि, १० वटा निर्देशिका, १० वटा मापदण्ड समेत गरी जम्मा ९६ वटा कानुनहरु निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।

डेडिकेटेड इन्टरनेट सञ्‍चालन

भरतपुर महानगरपालिका र नेपाल टेलिकमबीच सम्झौता भए बमोजिम २९ वटै वडामा नेपाल टेलिकमको फाइबर जडान गरी डेडिकेटेड इन्टरनेट सञ्‍चालनका लागि सञ्जाल निर्माण कार्य सम्‍पन्‍न भएको छ । हरेक वडामा १ एमविपिएसका दरले डेडिकेटेड इन्टरनेट उपलब्ध गराई अनलाइन घटना दर्ता, राजस्व संकलनलगायतका सेवा प्रवाह विद्युतीय माध्यमबाट गरिएको छ ।
यस्तै, महानगरमा आपतकालीन कार्य सञ्‍चालन केन्द्र स्थापना गरी सञ्‍चालनमा ल्याइएको छ भने दमकल, डुङ्गा, नगर प्रहरीलाई जुनसुकै बखत पनि विपद् प्रतिकार्यमा जुटेर जनधनको रक्षा गर्नसक्ने गरी तयारी अवस्थामा राखिएको छ।

आपतकालीन आवासको स्थापना

भरतपुर २८ साझापुरमा आपतकालीन आवासको स्थापना गरिएको छ। साथै जङ्गली सिमानासँग जोडिएका बस्तीमा जङ्गली जनावारका कारण जनधनको क्षति न्यूनिकरण गर्न फाउन्डेसन सहितको मेस जाली घेराबार निर्माण गरिएको छ। यसबाट धेरै हदसम्म क्षति कम गर्न सहयोग पुग्ने महसुस गरको छु।
यस्तै, भरतपुर केन्द्रीय बसपार्कको स्तरोन्‍नति र भरतपुर अस्पतालमा विरामी कुरुवा घर निर्माण भई सञ्‍चालनमा आएको भरतपुर महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरभित्र रानीपोखरी पार्क, देवीस्थान पार्क, राइनो पार्क, नवजागृति फन पार्क, विद्युतीय शवदाह गृह, लक्ष्मीनारायण मन्दिर निर्माणाधीन अवस्थामा छन्। महानगरका मुख्य ९० किमी सडकहरूमा स्मार्ट स्ट्रिट लाइटको जडान कार्य छिट्टै प्रारम्भ हुँदैछ।

खानेपानीमा उल्लेखनीय काम

नगरवासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी वितरण प्रणाली व्यवस्थित गर्न शारदा नगर खानेपानी आयोजना, जखडिमाई खानेपानी आयोजना, दिव्यनगर खानेपानी आयोजना, पार्वतिपुर खानेपानी आयोजना, मेघौली खानेपानी आयोजना लगायतका आयोजना गरी २ अर्ब ४१ करोडको लागतमा खानेपानी आयोजना निर्माणको चरणमा रहेका छन्।

यस्तै, पोखरा महानगरपालिकाले ६ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ। वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड र विराटनगर महानगरपालिकाले ४ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ रु छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिए ।

प्रदेश नं। २ को एक मात्र महानगरपालिकका विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा रु एक अर्ब १५ करोड ५८ लाख, पूर्वधार विकास क्षेत्रमा रु एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ रु ८० करोड ७३ लाख रहेको छ ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती ,स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान , कृषि तथा कृषको विकासमा केन्द्रीत रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताए ।

 

 

प्रकाशित :२०७८ असार ११, शुक्रबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry