विश्व लगानी सप्ताहमा एसबीआई मर्चेन्ट बैंकिङको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। विश्व लगानी सप्ताह २०२६ को अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले महिलालाई लक्षित गरी वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
Advertisement 1
काठमाडौंको गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ५० भन्दा बढी प्रौढ महिला विद्यार्थी सहभागी भएका थिए। महिलाको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच विस्तार तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बचत, व्यक्तिगत वित्तीय व्यवस्थापन, दीर्घकालीन लगानी, नेपालको पुँजी बजार, डिम्याट खाता, मेरो सेयर तथा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। सहभागीलाई औपचारिक वित्तीय प्रणालीमा आबद्ध हुन तथा लगानीसम्बन्धी निर्णय गर्दा आवश्यक जानकारी र सावधानी अपनाउनुपर्ने विषयमा समेत सचेत गराइएको थियो।
Advertisement 2
कार्यक्रमको सहजीकरण नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका संस्थागत परामर्श प्रमुख अरुण श्रेष्ठले गरेका थिए। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डित, सहप्रधानाध्यापक उर्मिला प्रधान, व्यवस्थापन पक्षका प्रतिनिधि तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका लगानी प्रमुख उत्सव तुलाधरको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक पण्डितले विभिन्न उमेर समूहका महिलालाई लक्षित गरी सञ्चालन गरिएको वित्तीय शिक्षा कार्यक्रमले उनीहरूको आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। उनले कार्यक्रम आयोजना गरेको नेपाल एसबिआई मर्चेन्ट बैंकिङप्रति आभारसमेत व्यक्त गरिन्।
Advertisement 3
नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रतिनिधिहरूले वित्तीय रूपमा सचेत र सक्षम नागरिक निर्माणका लागि वित्तीय साक्षरता आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी महिलालाई औपचारिक वित्तीय प्रणाली तथा पुँजी बजारसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।

चेतना महिला माध्यमिक विद्यालयले विगत २२ वर्षभन्दा बढी समयदेखि विभिन्न पुस्ताका महिलालाई कक्षा १ देखि १० सम्म शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयबाट एसईई उत्तीर्ण गरेका महिलाहरू स्थानीय तहको नेतृत्व, उद्यम, स्वास्थ्य सेवा तथा अन्य विभिन्न पेसा व्यवसायमा आबद्ध हुँदै आत्मनिर्भर बनेका छन्।
विद्यालयमा हाल १६० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने दैनिक करिब १२० जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।
विश्व लगानी सप्ताहअन्तर्गत आयोजित यस कार्यक्रमले महिलामा बचत तथा लगानीसम्बन्धी ज्ञान विस्तार गर्नुका साथै पुँजी बजारमा सहभागिताका अवसरबारे जानकारी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।













