यात्रु सहायता कक्षलाई प्राथमिकता दिँदै चाडपर्व विशेष सुरक्षा योजना

पुरुषोत्तम सुवेदी
लुम्बिनी प्रदेशको पूर्वी प्रवेशद्वारका रूपमा रहेको पश्चिम नवलपरासीमा चाडपर्वका बेला सर्वसाधारण तथा यात्रुहरूको सहज र सुरक्षित यात्रालाई मुख्य प्राथमिकतामा राख्दै यात्रु सहायता कक्ष केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । आसन्न मुख्य चाडपर्वहरू दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपाल प्रहरी तर्फ जिल्लाभर चार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
Advertisement 1
सीमावर्ती क्षेत्र र समग्र जिल्लाको सुरक्षा अवस्थाबारे प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले खुला सीमानाका कारण हुनसक्ने अवैध आवतजावत र आपराधिक गतिविधि रोक्न सहायता कक्ष र सुरक्षा पोस्टहरूलाई थप सतर्क बनाइएको बताउनुभयो। “यात्रु सहायता कक्ष केवल सडकमा मात्र सीमित नभई नागरिकका लागि भरपर्दो भरोसा केन्द्रका रूपमा काम गर्नेछ,” एसपी केसीले भन्नुभयो, “यात्री तथा सर्वसाधारणले निर्धक्क र भयरहित वातावरणमा यात्रा तथा चाडपर्व मनाउन सक्ने गरी सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको छ।”
चाडपर्वको समयमा हुनसक्ने अस्वाभाविक भाडा वृद्धि, यात्रुमाथि हुने ठगी, सास्ती, चोरी तथा सवारी दुर्घटनाजस्ता समस्या समाधानका लागि जिल्लाका मुख्य सडक तथा नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। विशेषगरी भूमही, महेशपुर, भैरहवा-धुपही बाईपास सडक, सुस्ता मोड र बर्दघाटका प्रमुख चोकहरूसहित ५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
Advertisement 2
यात्रु सहायता कक्षको प्रभावकारिता र सडक सुरक्षाबारे प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन थापाले भन्नुभयो, “चाडपर्वमा घर फर्किने यात्रुहरू कुनै पनि किसिमको ठगी वा सास्तीमा नपरून् भन्ने हाम्रो मुख्य उद्देश्य हो। यात्रु सहायता कक्षमा खटिएका प्रहरीले भाडा दर नियन्त्रण, क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यको निगरानी र यात्रुलाई परेको तत्कालीन समस्याको तत्काल समाधान गर्नेछन्।” उहाँका अनुसार २४ सै घण्टा सञ्चालन हुने ८ वटा मोबाइल गस्ती टोली, २० वटा मोटरसाइकल गस्ती र ५ स्थानका पैदल गस्ती टोलीलाई पनि सहायता कक्षसँग प्रत्यक्ष समन्वय गराइएको छ।
प्रहरीले यात्राका क्रममा वा घर, टोल, छिमेकमा कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा वा समस्या परेमा नजिकैको यात्रु सहायता कक्ष, प्रहरी कार्यालय वा नि:शुल्क नम्बर १०० मा तुरुन्त सम्पर्क गर्न सर्वसाधारणसँग अपिल गरेको छ ।














