सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन्।

Advertisement 1

सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गरेको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए।

सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने उनले आवश्यकता औँल्याए।

Advertisement 2

सभापति लामिछानेले सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको उल्लेख गरे।

“सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,” सभापति लामिछानेले भने, “सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ।” मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्नेमा उनको जोड थियो।

Advertisement 3

सभापति लामिछानेले विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताए।

कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई थप मजबुत बनाउन यस्ता पदयात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै उनले मेची–महाकाली यात्राले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने बताए।

त्यस अवसरमा पदयात्रा अभियन्ता सिंहले मुलुकमा सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आम नागरिकले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले मेची–महाकाली पदयात्रा सुरु गरेको बताए। उनले मुलुकको वर्तमान अवस्था, नागरिकका अपेक्षा र विभिन्न क्षेत्रका समस्याबारे यात्राका क्रममा प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे।

पदयात्रा केवल भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अभियान पनि भएको उनले स्पष्ट पारे।

सांसद सिंहले पदयात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल यात्रा गर्ने जानकारी दिए। जानकी मन्दिरबाट सुरु भएको उक्त यात्राका क्रममा मधेससहित देशका विभिन्न भू–भागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरिने जानकारी दिइएको छ।

प्रकाशित :२०८३ कार्तिक ३० गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]