प्रहरी निरीक्षकबाट आईजीपीसम्मः अनुसन्धानमा खारिएका डा. मनोज केसीले सम्हाले प्रहरी संगठनको कमान्ड

काठमाडौं। नेपाल प्रहरीको नेतृत्वमा नयाँ अनुहार आएका छन्। प्रहरी निरीक्षकबाट सेवा प्रारम्भ गरी करिब २८ वर्षको व्यावसायिक यात्रा पार गरेका डा. मनोजकुमार केसीले नेपाल प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी) का रूपमा संगठनको कमान्ड सम्हालेका छन्। अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन र प्रहरी प्रशासनमा लामो अनुभव हासिल गरेका केसी बुधबार साँझ नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर औपचारिक रूपमा पदबहाली गरेका हुन्।
Advertisement 1
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङबाट दज्र्यानी चिह्न ग्रहण गरेपछि उनी प्रहरी प्रधान कार्यालय पुगेका थिए। प्रधान कार्यालयमा प्रहरी अधिकारीहरूले उनलाई स्वागत गरेका थिए।
पदबहालीपछि महानिरीक्षक केसीले प्रहरी अधिकारीहरूलाई निर्देशनसमेत दिएका छन्। उनले संगठनका अधिकारीहरूलाई दिएको निर्देशनको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
Advertisement 2

नुवाकोटबाट सुरु भएको यात्रा प्रहरी संगठनको सर्वोच्च पदसम्म
Advertisement 3
वि.सं. २०३२ साउन २८ गते नुवाकोट जिल्लाको साविक तुप्चे गाविस–२ (हाल विदुर नगरपालिका–७) मा जन्मिएका केसीले २०५४ चैत १८ गते प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए। प्रहरी सेवामा प्रवेश गरेपछि उनले विभिन्न जिल्ला, अनुसन्धान निकाय, प्रहरी प्रशिक्षण संस्था तथा प्रहरी प्रधान कार्यालयका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्।
प्रहरी निरीक्षकबाट सुरु भएको उनको व्यावसायिक यात्रा क्रमशः प्रहरी नायब उपरीक्षक (डीएसपी), प्रहरी उपरीक्षक (एसपी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुँदै संगठनको सर्वोच्च पदसम्म पुगेको हो।
उनको बढुवाक्रममा २०६६ मंसिर २६ गते डीएसपी, २०७४ साउन १९ गते एसपी, २०७९ साउन ३ गते एसएसपी, २०८१ जेठ १३ गते डीआईजी र २०८२ वैशाख ११ गते एआईजी भएका थिए।
महानिरीक्षकमा बढुवा हुनुअघि उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणदेखि संगठित अपराध अनुसन्धानसम्म
केसीको प्रहरी करिअरको महत्वपूर्ण पक्ष अपराध अनुसन्धान हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उक्त प्रकरणले उनलाई राष्ट्रिय रूपमा चर्चामा ल्याएको थियो।
त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्वमा रहँदा स्मार्ट टेलिकमसँग सम्बन्धित अनियमितता, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी अपराध, नक्कली उद्धार तथा सरकारी जग्गाको अतिक्रमण र हिनामिनासम्बन्धी विषयमा अनुसन्धान अघि बढाएका थिए।
उनले जिल्ला प्रहरी कार्यालय मोरङ, रूपन्देहीलगायतका जिल्लामा समेत नेतृत्वदायी जिम्मेवारी सम्हालेका छन्। प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रदेश समन्वय विभाग, केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान विभागमा काम गरेको अनुभव पनि उनीसँग छ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा समेत काम गरेका केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सुरक्षा, अनुसन्धान र व्यवस्थापनसम्बन्धी तालिम हासिल गरेका छन्।
प्रहरी सेवासँगै उच्च शैक्षिक योग्यता
केसी प्रहरी संगठनभित्र अनुसन्धान र प्रशासनिक अनुभवसँगै उच्च शैक्षिक योग्यता हासिल गरेका अधिकृतका रूपमा पनि परिचित छन्। उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट व्यावहारिक द्वन्द्व रूपान्तरण अध्ययनमा विद्यावारिधि (पीएचडी) गरेका छन्।
त्यसैगरी सोही विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण अध्ययनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्।
प्रहरी सेवाको व्यावसायिक विकासमा समेत योगदान गरेका उनी नेपाल प्रहरी कर्मचारी कलेजका संस्थापक निर्देशक हुन्। प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहँदा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम विकासमा समेत उनको भूमिका रहेको थियो। प्रहरी अनुसन्धान, संगठन विकास र संगठित अपराध नियन्त्रणसम्बन्धी पुस्तकसमेत उनले लेखेका छन्।
दानबहादुर कार्कीलाई नयाँ जिम्मेवारी, केसीलाई प्रहरी संगठनको नेतृत्व
सरकारले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको पद सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारीमा खटाउने निर्णय सरकारले गरेको हो।
कार्कीलाई नयाँ जिम्मेवारीमा खटाएपछि रिक्त भएको महानिरीक्षक पदमा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम बुधबारदेखि लागू हुने गरी बढुवा गरिएको हो।
अनुसन्धानको अनुभवलाई संगठनको नेतृत्वमा रूपान्तरण गर्ने चुनौती
प्रहरी निरीक्षकबाट करिअर सुरु गरी संगठनको सर्वोच्च पदमा पुगेका केसीका लागि अब व्यक्तिगत व्यावसायिक सफलताभन्दा ठूलो जिम्मेवारी संस्थागत नेतृत्वको हुनेछ। अपराध अनुसन्धानमा हासिल गरेको अनुभवलाई समग्र प्रहरी संगठनको कार्यसम्पादनमा रूपान्तरण गर्नु उनको मुख्य चुनौती हुनेछ।
बदलिँदो अपराधको स्वरूप, साइबर अपराधको विस्तार, संगठित आपराधिक गतिविधि, वित्तीय अपराध तथा नागरिक सुरक्षाका नयाँ चुनौतीबीच नेपाल प्रहरीलाई प्रविधिमैत्री, व्यावसायिक र परिणाममुखी बनाउनु उनको नेतृत्वको परीक्षा हुनेछ।
त्यसैगरी प्रहरी संगठनभित्रको सरुवा–बढुवा प्रणालीलाई पारदर्शी बनाउने, अनुसन्धानलाई राजनीतिक तथा बाह्य प्रभावबाट मुक्त राख्ने, प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने र नागरिकसँगको सम्बन्ध सुधार गर्ने अपेक्षा पनि नयाँ नेतृत्वमाथि छ।
अपराध अनुसन्धानमा खारिएको अनुभव, अन्तर्राष्ट्रिय शान्ति मिसनको कार्यअनुभव र उच्च शैक्षिक पृष्ठभूमिसहित प्रहरी नेतृत्वमा पुगेका केसीले संगठनलाई कस्तो दिशा दिन्छन् भन्ने चासो अब प्रहरी संगठनभित्र मात्र नभई आम नागरिकमाझ पनि बढेको छ।








