नेपाल लाइफको वित्तीय साखमा सुधार, डबल ए रेटिङमा उक्लियो

२७ प्रतिशत बजार हिस्सा र २८५ अर्ब लगानी रहेको कम्पनीको सोल्भेन्सी अनुपात पनि बढ्यो
Advertisement 1
काठमाडौं । जीवन बीमा बजारमा बलियो उपस्थिति बनाएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय साख थप मजबुत देखिएको छ। इक्रा नेपालले कम्पनीको क्रेडिट रेटिङ डबल ए माइनस (AA–) बाट बढाएर डबल ए (AA) कायम गरेको छ।
कम्पनीको वित्तीय अवस्था, जोखिम वहन गर्ने क्षमता, लगानीको संरचना, बजार उपस्थिति र व्यवस्थापकीय क्षमतामा आएको सुधारलाई आधार मानेर रेटिङ स्तरोन्नति गरिएको हो। डबल ए रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च स्तरको सुरक्षा र क्रेडिट जोखिम अत्यन्त न्यून रहेको संकेत गर्छ।
Advertisement 2
नेपाल लाइफ यसअघि जीवन बीमा क्षेत्रमा डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको थियो। अहिले एक तह माथि उक्लिनुलाई कम्पनीको वित्तीय सुदृढीकरण र संस्थागत क्षमता विस्तारको उपलब्धिका रूपमा हेरिएको छ।
इक्रा नेपालको मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ। यो बीमा नियामकले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो। सोल्भेन्सी अनुपातमा आएको सुधारले कम्पनीको दाबी भुक्तानी तथा वित्तीय जोखिम वहन गर्ने क्षमतामा थप बल पुगेको देखाउँछ।
Advertisement 3
कम्पनीको बजार हिस्सा पनि उल्लेखनीय छ। आर्थिक वर्ष २०२५÷२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। उक्त अवधिमा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोष २७३ अर्ब रुपैयाँ र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ। ठूलो लगानी पोर्टफोलियो र बीमा कोषको आकारले कम्पनीको बजार उपस्थितिलाई थप बलियो बनाएको छ।
लगानी व्यवस्थापनतर्फ पनि कम्पनीले विविधीकरणको रणनीति अघि बढाएको छ। सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाइएको इक्रा नेपालको मूल्याङ्कनमा उल्लेख छ। यसले लगानी जोखिमलाई सन्तुलित बनाउँदै प्रतिफल व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ।
सन् २००१ देखि सञ्चालनमा रहेको नेपाल लाइफले जुलाई २०२६ मध्यसम्म देशभर १९६ शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत सेवा दिँदै आएको छ। देशव्यापी शाखा सञ्जाल, अभिकर्ताको संरचना, अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीलाई कम्पनीका प्रमुख सबल पक्षका रूपमा मूल्याङ्कन गरिएको छ।
जोखिम व्यवस्थापनका लागि कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्ससँग पुनर्बीमा व्यवस्था कायम गरेको छ। आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि पर्याप्त क्याटस्ट्रोफिक कभर र करिब एक अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोषसमेत रहेको कम्पनीले जनाएको छ।
रेटिङ स्तरोन्नतिपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसलाई वित्तीय अनुशासन, संस्थागत सुशासन र सरोकारवालाको विश्वासको प्रतिफलका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार डबल ए माइनसबाट डबल एमा भएको स्तरोन्नतिले कम्पनीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अघि बढ्न प्रेरित गरेको छ। आगामी दिनमा सोल्भेन्सी अवस्था थप मजबुत बनाउने, लगानी विविधीकरण गर्ने र विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता छ।
जीवन बीमा कम्पनीको मूल्याङ्कन केवल बीमा शुल्क आर्जन र बजार हिस्साले मात्र निर्धारण गर्दैन। दीर्घकालीन दायित्व पूरा गर्ने क्षमता, लगानीको गुणस्तर र जोखिम व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। नेपाल लाइफको पछिल्लो रेटिङ स्तरोन्नतिले यी पक्षमा कम्पनीले गरेको सुधारलाई संकेत गरेको छ।








