केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं। काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा डा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
Advertisement 1
बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो।
शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ। शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झालगायत पदाधिकारी आर्यघाट पुगेर शर्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
Advertisement 2
यसअघि शिक्षा मन्त्रालयमा शोक पुस्तिका राखिएको थियो। शिक्षामन्त्री पोखरेल, मन्त्रालयका सचिव चूडामणि पौडेल, प्रमुख सल्लाहकार झालगायत मन्त्रालय तथा काठमाडौँ विश्वविद्यालयका पदाधिकारीले शोक पुस्तिकामा हस्ताक्षर गर्दै शर्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
मन्त्री पोखरेलले शर्माको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौँ विश्वविद्यालय परिवारप्रति मन्त्रालयका तर्फबाट समवेदना व्यक्त गरे।
Advertisement 3
मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने शर्माको सपना पूरा गर्न सरकार अघि बढिरहेको बताउनुभयो। शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भने, “स्व शर्माको सपना पूरा गर्ने गरी चाँडै संसद्मा विधेयक लैजान्छौँ। काठमाडौँ विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ।”
नेपालको उच्च तथा प्राविधिक शिक्षा विकासका अग्रणी व्यक्तित्वका रूपमा परिचित शर्माको बुधबार निधन भएको थियो। उनले २ दशकभन्दा लामो समय काठमाडौँ विश्वविद्यालयको नेतृत्व गर्दै विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय र अन्तरराष्ट्रिय पहिचानयुक्त शैक्षिक संस्थाका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
बेलायतबाट रसायनशास्त्रमा पिएचडी गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)का संस्थापक निर्देशकसमेत थिए। उनले जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गरेका थिए।
शर्माले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए। उच्च तथा प्राविधिक शिक्षाको विकासमा उनले पु¥याएको योगदानका कारण उनलाई नेपालको शिक्षा क्षेत्रका महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरिएको छ।








