नबिल एसएसईको सातौँ फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौँ। नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ।

Advertisement 1

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन हुँदै आएका दुवै कार्यक्रमका लागि बैंकले भदौ ३० गते आवेदन आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले असोज २६ गते (१२ अक्टोबर २०२६) सम्म आवेदन दिन सक्नेछन्।

१८ वर्ष उमेर पूरा गरेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्। छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ।

Advertisement 2

बैंकले महिला, युवा, गरिब तथा वञ्चित र सीमान्तकृत समुदायका साथै दिगो उद्यम तथा रोजगारी सिर्जना गर्न चाहने प्रतिबद्ध उद्यमीलाई आवेदन दिन प्रोत्साहन गरेको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले कार्यक्रममार्फत प्रतिबद्ध उद्यमी पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि, दिगो उद्यम निर्माण र समावेशी आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्य रहेको बताए।

Advertisement 3

बैंकका अनुसार नबिल एसएसईको फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनाले तालिम लिएका छन्। तालिमपछि ३१८ वटा उद्यम स्थापना भएका छन् भने ती उद्यममार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १९ हजार ३०३ जनाका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ।

फेलोसिपका हालसम्म सम्पन्न ६ समूहबाट ११३ जना प्रशिक्षित भएका छन्। उनीहरूमध्येबाट ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ। सर्टिफिकेट कोर्सबाट भने १ हजार ४६७ जना लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएका छन्।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने नबिल एसएसई फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो। यसले उद्यमको विकास, सुदृढीकरण र विस्तारका लागि आवश्यक ज्ञान तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने बैंकले जनाएको छ।

त्यस्तै, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो। विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म तथा साना उद्यमीलाई लक्षित गरी कार्यक्रम सञ्चालन हुँदै आएको छ।

यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत सञ्चालन हुनेछ। कोशीमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमतीमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल, लुम्बिनीमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णालीमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुनेछ।

कार्यक्रम तथा आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंक र नबिल एसएसईका आधिकारिक माध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

आवेदन दिनका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला: https://www.nabilbank.com/content/nabil-school-of-social-entrepreneurship

प्रकाशित :२०८३ आश्विन १, बिहीबार ०९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry