मौन प्रार्थना

दुःखेको मन छ
विक्षिप्त तन छ
सहानुभूतिले रोकिदैन आँसु
मृत्यु संवेदना कुल्चेर आयो
नानीहरु चिच्याइरहे
आमाको काख नभेटे पछि ।
बिहानी आभा फक्रन नपाउँदै
सपनाको डोरी चुँडाएर
जीवनका मिठा सपनाहरु
भेल सँग हुत्याउँदै
मान्छेको जिजीबिषा खोसेर
रमिते बनेको छ मृत्युको छाँया ।
मृत्यु अवश्यम्भावी होला
जन्म पछिको अनिवार्य रार्त होला
इच्छा बिपरीतको तथ्य होला
यद्यपी सबै मृत्यु अप्रिय लाग्छन
मृत्युको छायाले लखेट्छ सबैलाई
सायद मृत्युको पीडा भुल्न सक्दैन मान्छे ।
बाढीमा हेलिदै गरेका
जीवनको भिख माग्दै
त्रासले काँपिरहेका आवाजहरु निकालेर
घर जहानको यादमा
पिरोलिएकाहरु
समाधिष्त हुन्छन नदी बगरमा ।
दयाको सागर
निर्दयी बनेर
खोसि रहेछ मान्छेको जीवन
मृत्युको छाया कुद्छ जब
हामी महसुस गर्छौ
जीवनको मूल्य कति हो भनेर ?
मान्छेहरु शोकमा डुबेको बेला
मान्छेहरु भोकले छटपटाएको बेला
हामी भित्रको मानवता  दुख्नु पर्ने
भाइचारा र बिवेक  नगुम्नु पर्ने
यदाकदा मान्छेहरु स्वार्थको रोटी पकाइ रहेछन
मानवीय संवेदना लत्याउँदै
यदि तिमीले मानवता गुमायौ भने
भाइचारा र बिवेकको प्रयोग गर्न जनेनौ भने
मान्छे  हुनुको तिम्रो घमण्ड
चकनाचुर हुनेछ
तिमी मानव कि दानव ?
तिमीले  फलाक्ने आदर्श
दुनियाँका लागि
फिका हुनेछ
तिमी जिउँदो लास बन्न्ो छौ
तिमीलाई नरपशु भनिने छ ।
विपतको बेलामा
तिमी जाति, भाषा, धर्म, वर्ण र लिङ्गको
साँघुरो घेरामा बाँधियौ भने
हराउने छ तिम्रो मानवता
निरर्थक हुनेछ तिम्रो बिद्या
गुम्नेछ तिम्रो गौरव
तिमी बाँच्ने छौ केवल आफ्नो लागि
र गुमाउने छौ मानव धर्म ।
‘सर्वे भवन्तु सुखिन’
ओठे भक्ति देखाएर
आफ्नै मात्रै गीत गायौ भने
जतिनै बहादुरी देखाए पनि
तिमी भित्रको संवेदना म¥र्यो भने
मान्छे
मान्छेत्व गुमाएर
नरकङ्कालको खोक्रो रुप हुने रहेछ  ।
मृत्युको मुखैबाट फुत्किएकाहरु
खुसी साट्न सक्तैनन
परिवारजन गुमाए पछि
आँखै अगाडि भेलमा
आफन्त गुमाएकाहरु प्रश्न तेर्साइ रहेछन
मृत्युको भयावहता कति घातक हुन्छ भनेर ।
म स्तब्ध र अवाक बनेको छु
बाढी वितण्डा मच्चाउँछ
बस्तिहरु बगर बनाएर
सडकहरु टुक्रिएर
खण्डहरमै बिलाए
म गिन्ती गर्न सक्दिनँ
लासको थुप्रो
पशु पंक्षी रोइरहे
आकाश सुस्ताइ रह्यो
धरतीले गाउन सकेन गीत
उर्लदा भेलहरु तर्न नसकी
सम्बन्धहरु टुटी गए
क्षितिजको मुस्कान खोसेर
घाम अस्त हुन्छ
झुल्कदैन जून
रात एकोहोरो शङ्ख फुक्छ
म मौन प्रार्थना गर्छु
मृतक आत्माको चिर शान्तिको लागि ।
(०८३/०५/१० को भोटेकोशी बाढीको ताण्डब र बिदारक घटना  प्रति )
प्रकाशित :२०८३ भाद्र १७, बुधबार १५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry