अनधिकृतढङ्गले चन्दा सङ्कलन नगर्न आग्रह

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ।
Advertisement 1
भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा आज जारी गरिएको सूचनामा जिन्सी सहायता सामग्री पठाउन चाहनेहरुले सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्धसहित जिल्ला प्रशासनसँग आवश्यक समन्वय गर्न भनिएको छ।
Advertisement 2
साथै सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको आधिकारिक बैङ्क खातामा रकम जम्मा गर्न सकिने जनाएको छ।
प्रशासनले सामाजिक सञ्जालमा तथ्यहीन सूचना, विभत्स फोटो तथा भिडियो पोस्ट र सेयर नगर्न, पीडित परिवारलाई हतोत्साहित बनाउने भ्रम फैलाउने काम नगर्न आज सूचना जारी गरेको छ।
Advertisement 3
राजधानी प्रवेश गर्ने मुख्य पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द रहेको र वैकल्पिक मार्गहरूको यात्रा पनि कठिन रहेकाले अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न पनि आग्रह गरिएको छ। प्रशासनले मनसुन सक्रिय रहेकाले जिल्लाका विभिन्न सडक तथा बस्तीहरू समेत जोखिममा पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
यसका अतिरिक्त नजिकिँदै आएको हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै उक्त पर्वलाई भड्किलो र तडकभडक नगरी सामान्य तरिकाले मनाउन सबैमा आग्रह गरेको छ।








