प्रकृतिको चेतावनी,मानव अहंकार र रसुवा विपद्को पाठ

मानव मन एउटा रहस्यमय संसार हो। त्यहाँ प्रेम छ। करुणा छ। विवेक छ। तर त्यहीँ अहंकार पनि लुकेको हुन्छ। स्वाभिमान र अहंकार एकअर्काका निकट देखिन्छन्। तर तिनको गन्तव्य फरक हुन्छ। स्वाभिमानले मानिसलाई उभ्याउँछ। अहंकारले झार्छ। स्वाभिमान आत्मबोध हो। अहंकार आत्मविस्मृति हो। एउटा उज्यालो हो। अर्को अन्धकार।
Advertisement 1
आज नेपालको रसुवा र नुवाकोटतर्फ फर्केर हेर्दा अहंकारको अर्थ अझ गहिरो देखिन्छ। भोटेकोशी र त्रिशूलीका उर्लिएका धारले घर, सडक, पुल र पूर्वाधार बगाएका छन्। तिनले हाम्रो विकासदृष्टिमाथि पनि प्रश्न उठाएका छन्। प्रकृतिले कुनै भाषण गरेन। कुनै चेतावनीपत्र लेखेन। नदी बोल्यो। पहाड बोल्यो। बाढी बोल्यो। विनाशको भाषामा बोल्यो। हामीले त्यो भाषा बुझ्नुपर्ने समय आएको छ।
रसुवाको महाविपद् एउटा प्राकृतिक घटना हो। यो हाम्रो सामूहिक चेतनाका लागि ऐना पनि हो। त्यस ऐनामा हामीले आफ्नो विकास देख्नुपर्छ। आफ्नो कमजोरी देख्नुपर्छ। आफ्नो तयारी देख्नुपर्छ। र आफ्नो अहंकार पनि देख्नुपर्छ।
Advertisement 2
मानिसले आफूलाई प्रकृतिको मालिक ठान्न थालेको छ। पहाड काट्छ। नदीको धार साँघुरो बनाउँछ। जोखिमपूर्ण ठाउँमा बस्ती बसाउँछ। भूगोलको संवेदनशीलता बिर्सन्छ। अनि प्रकृतिले आफ्नो शक्ति देखाउँदा त्यसलाई प्राकृतिक प्रकोप भनेर टार्न खोज्छ। यहाँ प्रश्न उठ्छ,प्रकृति मात्र दोषी हो त?
प्रकृति आफ्नो नियममा चल्छ। नदी आफ्नो बाटो खोज्छ। पहाड आफ्नो सन्तुलनमा रहन्छ। हिमाल आफ्नो मौन भाषामा परिवर्तनको संकेत दिन्छ। मानिस भने आफ्नो योजनालाई अन्तिम सत्य ठान्छ। यहीँबाट अहंकार जन्मिन्छ।
Advertisement 3
अहंकारको पहिलो रूप हो, ‘म जान्दछु’ भन्ने भ्रम। दोस्रो हो, ‘म नियन्त्रण गर्न सक्छु’ भन्ने भ्रम। तेस्रो हो, ‘मलाई केही हुँदैन’ भन्ने भ्रम। विपद्ले यी तीनै भ्रमलाई एकैपटक भत्काइदिन्छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले यही कठोर सत्य सम्झाएको छ। केही क्षणमै बलिया संरचनाहरू कमजोर बने। सडकहरू विच्छेद भए। पुलहरू बगे। बस्तीहरू प्रभावित भए। मानिसहरू सम्पर्कविहीन भए। त्रिशूलीको प्रवाहले पनि तलतिरका भूभागलाई त्रसित बनायो।
विपद् व्यवस्थापनमा अहंकार घातक हुन्छ। ‘हामीसँग पर्याप्त क्षमता छ’ भन्ने आत्मसन्तुष्टि खतरनाक हुन सक्छ। ‘यस्तो ठूलो विपद् आउँदैन’ भन्ने अनुमान अझ खतरनाक हुन्छ। ‘विपद् आएपछि उद्धार गरौँला’ भन्ने सोच त झन् जोखिमपूर्ण हुन्छ।अहंकारले पूर्वतयारीलाई कमजोर बनाउँछ। विनम्रताले पूर्वतयारीलाई बलियो बनाउँछ।
रसुवाको घटना जलवायु परिवर्तनको बदलिँदो यथार्थसँग पनि जोडिएको छ। हिमाली क्षेत्रमा तापक्रम परिवर्तन भइरहेको छ। हिमनदी र हिमतालका जोखिम बदलिरहेका छन्। चरम वर्षाका घटना चिन्ताको विषय बनेका छन्। पहाडी भूभागमा पहिरोको संवेदनशीलता बढ्न सक्छ। यी सबै विषयमा गम्भीर अनुसन्धान आवश्यक छ।
राहत वितरणमा पनि समानता आवश्यक छ। सडक पुगेको ठाउँमा मात्र राहत थुप्रिनु हुँदैन। विकट भूगोलका मानिस पनि नागरिक हुन्। उनीहरूको जीवनको मूल्य बराबर छ। खाना चाहिन्छ। पानी चाहिन्छ। औषधि चाहिन्छ। सुरक्षित आश्रय चाहिन्छ।तर राहतपछि पुनर्स्थापना आउँछ। पुनर्स्थापनापछि पुनर्निर्माण आउँछ। पुनर्निर्माणपछि पुनरुत्थान आउँछ। यही विपद् चक्रलाई योजनाको केन्द्रमा राख्नुपर्छ।
हामीले पहिले जस्तै पुनर्निर्माण गर्ने होइन। अझ सुरक्षित पुनर्निर्माण गर्ने हो।भत्किएको सडक फेरि त्यही जोखिमपूर्ण स्थानमा बनाउनु समाधान होइन। बगेको बस्तीलाई त्यही जोखिममा पुनः बसाल्नु पुनर्निर्माण होइन। सुरक्षित भूभागको पहिचान आवश्यक छ। जोखिम संवेदनशील भू–उपयोग नीति आवश्यक छ। सुरक्षित र योजनाबद्ध पुनर्वास आवश्यक छ।यहीँबाट विपद्लाई अवसरमा बदल्ने सम्भावना जन्मिन्छ।
रसुवामा सुरक्षित, व्यवस्थित र प्रकृतिमैत्री बस्ती विकास गर्न सकिन्छ। शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीको पहुँचसँग जोडिएको पुनर्वास गर्न सकिन्छ। स्थानीय संस्कृति बचाउन सकिन्छ। पर्यटनसँग जोड्न सकिन्छ। हिमाली वास्तुकला र स्थानीय ज्ञानलाई नयाँ विकाससँग जोड्न सकिन्छ।
विपद्ले भग्नावशेष मात्र छोड्दैन। कहिलेकाहीँ नयाँ सुरुवातको ठाउँ पनि बनाउँछ।तर त्यसका लागि दृष्टि चाहिन्छ। दीर्घकालीन सोच चाहिन्छ। राजनीतिक इच्छाशक्ति चाहिन्छ। प्रशासनिक समन्वय चाहिन्छ। र सबैभन्दा बढी विनम्रता चाहिन्छ।
मानव जीवनमा काम, क्रोध, लोभ, मोह र अहंकारलाई मानसिक विकारका रूपमा व्याख्या गरिएको छ। यी प्रवृत्ति मानवभित्र स्वाभाविक रूपमा हुन्छन्। समस्या तिनको अस्तित्वमा होइन। नियन्त्रण गुम्नुमा हो।
लोभले प्रकृतिको अति दोहन गराउन सक्छ। मोहले जोखिमपूर्ण ठाउँ छोड्न कठिन बनाउन सक्छ। शक्ति–अहंकारले चेतावनीलाई कमजोर बनाउन सक्छ। क्रोधले सहकार्य तोड्न सक्छ। यसरी व्यक्तिगत विकारहरू सामूहिक जोखिममा बदलिन सक्छन्।त्यसैले विपद् व्यवस्थापन प्राविधिक विषय मात्र होइन। यो नैतिक विषय पनि हो।
हामीले कस्तो विकास रोज्ने? कसका लागि विकास गर्ने? कसको सुरक्षा प्राथमिकतामा राख्ने? जोखिम कसले वहन गर्ने? लाभ कसले पाउने? यी प्रश्नहरू सामाजिक न्यायसँग सम्बन्धित छन्।
जलवायु परिवर्तनले हिमाली नेपाललाई गम्भीर चुनौती दिएको छ। यसको जिम्मेवारी नेपालले मात्र वहन गर्नुपर्ने होइन। हिमालको तापक्रम बढ्दा त्यसको प्रभाव नदी हुँदै मैदानसम्म पुग्छ। एउटा हिमाली संकट क्षेत्रीय संकट बन्न सक्छ। त्यसैले रसुवाको विपद् नेपालको मात्र विषय होइन। यो विश्व समुदायका लागि पनि चेतावनी हो।
नेपालले आफ्ना क्षति र आवश्यकता प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्छ। जलवायुजन्य हानि तथा नोक्सानीको विषय उठाउनुपर्छ। हिमाली देशका लागि न्यायपूर्ण जलवायु वित्तको माग गर्नुपर्छ। तर अन्तर्राष्ट्रिय सहयोगको प्रतीक्षा मात्र गरेर बस्नु हुँदैन।
आफ्नो घरको ढोका हामीले आफैं बलियो बनाउनुपर्छ। यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण नीति अझ प्रभावकारी हुनुपर्छ। स्थानीय सरकारको क्षमता बढाउनुपर्छ। पूर्वसूचना प्रणाली विस्तार गर्नुपर्छ। नदी र पहिरोको जोखिम नक्साङ्कन गर्नुपर्छ। विद्यालयदेखि समुदायसम्म विपद् शिक्षा पुर्याउनुपर्छ। नियमित अभ्यास गर्नुपर्छ।
विपद् आउँदा मात्र सम्झिने संस्थागत स्मृति पर्याप्त हुँदैन। विपद् नआउँदा पनि तयारी गरिरहने संस्कार आवश्यक छ।
रसुवा र त्रिशूलीले हामीलाई एउटा अर्को पाठ पनि दिएका छन्। नदीको पानी सीमामा रोकिँदैन। विपद्को पीडा पनि सीमामा रोकिन्न। भोटेकोशी र त्रिशूलीको जलप्रवाहले भूगोल जोड्छ। विपद्ले पनि मानिसलाई जोड्नुपर्छ।
त्यसैले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय बलियो हुनुपर्छ। सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय समुदाय, स्वयंसेवी संस्था र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ। नागरिक समाज र सञ्चारमाध्यमको भूमिकालाई पनि सम्मान गर्नुपर्छ।








