बाढीपछि चीनतर्फ रोकिएका गाडी र सामग्री कोरोलाबाट ल्याइने

काठमाडौं। बाढीका कारण नियमित नाका र सडकमार्ग प्रभावित भएपछि चीनतर्फ रोकिएका नेपाल भित्र्याउनुपर्ने तयारी गाडी तथा अन्य सामग्रीलाई वैकल्पिक रुटबाट ल्याउने तयारी थालिएको छ। क्षति नभएका गाडी तथा मालसामानलाई कोरोला नाकामार्फत नेपाल भित्र्याउने गरी रुट परिवर्तनको तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार चीनतर्फ सीमावर्ती क्षेत्रमा रहेका र बाढीका कारण क्षति नभएका गाडी तथा मालवाहक ट्रकलाई वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाउन लागिएको हो।
Advertisement 1
यसका लागि आवश्यक समन्वय तथा सामग्री व्यवस्थापन गर्न भन्सार विभागका महानिर्देशक यमलाल भुसालको नेतृत्वमा हेल्प डेस्क स्थापना गरिएको छ। अर्थ सचिव उपाध्यायले सीमामा चीनतर्फ रहेका क्षति नभएका गाडी तथा मालबाहक ट्रकको रुट परिवर्तन गरी कोरोला नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार बाढीका कारण नियमित आवागमन प्रभावित भए पनि आयातका लागि सीमामा रोकिएका सामग्रीलाई वैकल्पिक नाकाबाट सहज रूपमा नेपाल ल्याउने वातावरण बनाउन मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ। बाढीबाट क्षति नभएका आयातित गाडी तथा मालसामान लामो समय सीमामै रोकिरहन नपरोस् भन्ने उद्देश्यले सरकारले वैकल्पिक नाका प्रयोग गर्ने तयारी गरेको हो।








