मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ ११ गते हुने भगवती माताको पूजाआजाका लागि त्यसतर्फ पेटारो पठाएका छन्।
Advertisement 1
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज विधिपूर्वक पूजाअर्चना गरी परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ पठाइएको हो। सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडिमालिका भगवती पूजामा प्रदेश सरकारका मन्त्री तथा अन्य सरोकार भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बडिमालिकामा पूजाका लागि सरकारका तर्फबाट पेटारो पठाउने परम्परा पहिलेदेखि नै चलिआएको छ। पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजासामग्री समावेश गरिने र सरकारी पूजा टोलीले पैदलयात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ।
Advertisement 2
बडिमालिका पुगेर डोटी, बाजुरा तथा जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने परम्परा रहेको छ। यसवर्ष भदौ ११ गते बडिमालिकामा मुख्य पूजा तथा मेला रहेको छ। पछिल्लो समय दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला प्रारम्भ सुरु भइसकेको छ।
पेटारो पठाउने परम्पराले बडिमालिका भगवतीप्रतिको धार्मिक आस्था मात्र नभई सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई समेत जीवन्त राख्दै आएको मुख्यमन्त्री भट्टले बताए। राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यो परम्परालाई प्रदेश सरकारले पनि संरक्षण र प्रवद्र्धन गर्दै आएको उनले बताए।








