टिपर दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
Advertisement 1
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बुधबार अपराह्न मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई पल्टिँदा टिपरमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामा गम्भीर घाइते भएका थिए। दुर्घटनाका क्रममा उनी सडक छेउतर्फ हाम फालेपछि सोही स्थानमा टिपर पल्टिँदा च्यापिएका थिए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो। उपचारकै क्रममा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
Advertisement 2
टिपर काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएका थिए। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको छ। दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ।








