बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकामा संघीय सरकारको टोली जाने

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट नगरसभामा पेश गर्न नसकेका मधेस प्रदेशका ४ नगरपालिकामा स्थलगत सहजीकरण गर्ने भएको छ।
Advertisement 1
मन्त्रालयका अनुसार सहजीकरणका लागि सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्षलगायत प्रतिनिधि सम्मिलित टोली सम्बन्धित नगरपालिकामा जानेछ।
टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिका पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग छलफल गर्नेछ।
Advertisement 2
यसअघि विभिन्न पहल, प्रयास र समन्वयमार्फत बजेट पेश गर्ने वातावरण बनाउन खोजिए पनि ती स्थानीय तहमा हालसम्म नगरसभामा बजेट पेश हुन सकेको छैन। सोही अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्थलगत रूपमा समस्या पहिचान गरी समाधानका लागि सहजीकरण गर्न लागेको हो।
टोलीले बजेट निर्माण तथा नगरसभा सञ्चालनमा देखिएका समस्या, जनप्रतिनिधिबीचको समन्वय र अन्य व्यावहारिक कठिनाइबारे छलफल गर्नेछ। आवश्यक समन्वय गरी नगरसभामा बजेट पेश गर्ने वातावरण बनाउन पहल गरिने मन्त्रालयले जनाएको छ।








