हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले आवेग वा उत्तेजनामा आएर सामाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ।
Advertisement 1
पछिल्ला दिनमा देशका केही स्थानमा देखिएको असहज परिस्थितिका सन्दर्भमा आज अपिल जारी गर्दै सशस्त्र प्रहरीले समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्ने काममा सहयोग गर्न अनुरोध गरेको हो।
नेपाली समाजले सदियौँदेखि आपसी बन्धुत्व, सहिष्णुता र सहअस्तित्वलाई उच्च महत्व दिँदै आपसी संवाद, समझदारी, सद्भाव र सहिष्णुताका माध्यमबाट जटिल समस्यासमेत आफैँ समाधान गर्दै आइरहेको स्मरण गराइएको छ।
Advertisement 2
“समाजमा कहिलेकाहीँ देखिने असमझदारी र मतभेदको समाधान गर्ने जिम्मेवारी पनि अन्ततः हामी सबैको साझा दायित्व हो”, सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीद्वारा जारी अनुरोधमा भनिएको छ।
हुलहुज्जत, हिंसा र दङ्गाले समस्या समाधान गर्नुको साटो मुलुक र जनतालाई नै क्षति पु¥याउने तथा हिंसा, तोडफोड र आगजनीजस्ता कार्यहरुले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकता कमजोर हुन जाने अनुरोधमा उल्लेख छ।
Advertisement 3
एकअर्काको दुःखमा साथ दिने र अप्ठ्यारोमा सहयोग गर्ने मानवीय भावना नै नेपाली समाजको मौलिक पहिचान भएको जनाउँदै प्रवक्ता कार्कीले अहिले हामीले संयमता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्ने समय भएको बताएका छन्।
“कुनै धर्म, समुदाय वा समूह प्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने कार्यले समस्यालाई झन् जटिल बनाई समाजलाई अपूरणीय क्षति पु¥याउँछ, समाजमा शान्ति कायम राखी एकअर्काको सम्मान गर्दै कुनै पनि भ्रामक अभिव्यक्ति नदिन र प्रचारप्रसारण नगर्नसमेत सशस्त्र प्रहरी बल अपिल गर्दछ”, जारी अनुरोधमा भनिएको छ।








