अनलाइन सेवा विस्तार र बजार अनुगमन प्रभावकारी बनाउन उद्योगमन्त्री यादवको निर्देशन

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्यक्रम सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्न मातहतका सबै निकायलाई निर्देशन दिएकी छन्। उनले निर्धारित लक्ष्य समयमै हासिल गर्न परिणाममुखी कार्यसम्पादनमा जोड दिएकी हुन्।
Advertisement 1
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछि लागू गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना कार्यान्वयनमा मन्त्रालय र मातहतका निकायले देखाएको सक्रियताको प्रशंसा गरिन्।
उनले कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागका सेवा अनलाइन प्रणालीमा सञ्चालनमा आइसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गत अझै डिजिटल प्रणालीमा नआएका सबै सेवालाई यथाशीघ्र अनलाइनमा रूपान्तरण गर्न निर्देशन दिइन्। सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन सचिव तथा विभागीय प्रमुखलाई आवश्यक प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरिन्।
Advertisement 2
मन्त्री यादवले सुशासन सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा इमान्दारिता, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नगर्न कर्मचारीलाई निर्देशन दिइन्।
चाडपर्व नजिकिँदै गएको सन्दर्भमा उनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्।
Advertisement 3
उनले औद्योगिक वातावरण सुधार, व्यापार विस्तार तथा मन्त्रालयको समग्र कार्यसम्पादन प्रभावकारी बनाउन आवश्यक नीतिगत सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै कर्मचारी र निकायलाई समन्वय तथा नतिजामुखी ढंगले काम गर्न आग्रह गरिन्।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बैठकमा गत आर्थिक वर्षको वार्षिक प्रगति, बजेट कार्यान्वयन, मातहतका निकायको उपलब्धि, शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाको प्रगति तथा चालु आर्थिक वर्षको कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। बैठकले चालु वर्षका लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय, विभाग र मातहतका निकायबीच नियमित समन्वय र परिणाममुखी कार्यसम्पादनमा जोड दिएको छ।








