सरकारद्वारा २३ सहसचिवको सरुवा, मन्त्रालयदेखि प्रदेशसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का २३ जना कर्मचारीको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा प्रदेश सरकारमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

Advertisement 1

निर्णयअनुसार राष्ट्रिय महिला आयोगका सचिव शंकरहरि आचार्यलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव देवराज जोशीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ।

भूमि व्यवस्था मन्त्रालयमा कार्यरत ध्रुव घिमिरे राष्ट्रिय योजना आयोगको सचिवालयमा पुगेका छन्। उपराष्ट्रपति कार्यालयका चिरञ्जीवी पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन् भने गृह मन्त्रालयका कालीप्रसाद पराजुली राष्ट्रिय महिला आयोगको सचिवमा खटाइएका छन्।

Advertisement 2

गृह मन्त्रालयका सुमन घिमिरे नेपाल ट्रस्टको कार्यालयमा सरुवा हुँदा नेपाल ट्रस्टका राजेन्द्र देव पाण्डेलाई भूमि व्यवस्था मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ। राष्ट्रपतिको कार्यालयमा कार्यरत बलराम ढकाल थारू आयोगको सचिवमा सरुवा भएका छन्।

प्रदेशतर्फ पनि व्यापक हेरफेर गरिएको छ। गण्डकी प्रदेशका प्रदेश सचिव ऋषिराज आचार्यलाई लगानी बोर्डमा ल्याइएको छ भने अर्थ मन्त्रालयका तीर्थराज चिलुवाललाई गण्डकी प्रदेशको प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। मधेश प्रदेशका प्रदेश सचिव यमेन्द्र उपाध्यायलाई महिला, बालबालिका, लैङ्गिक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयकी आभा श्रेष्ठलाई मधेश प्रदेशको प्रदेश सचिव बनाइएको छ।

Advertisement 3

यस्तै, लुम्बिनी प्रदेशका प्रदेश सचिव विनोद लामिछानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ। बागमती प्रदेशका प्रदेश सचिव कृष्णबहादुर शाहीलाई पनि सोही मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। गृह मन्त्रालयका धर्मराज जोशीलाई सुदूरपश्चिम प्रदेशको प्रदेश सचिवको जिम्मेवारी दिइएको छ।

यसैगरी, लोक सेवा आयोगका प्रद्युम्नप्रसाद उपाध्याय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् भने सूचना तथा सञ्चार मन्त्रालयका सुवासचन्द्र शिवाकोटीलाई दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

प्रकाशित :२०८३ श्रावण १४, बिहीबार १८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry