४ सचिवको सरुवा, बागमतीमा सहसचिव भट्टराई कायममुकायम प्रमुख सचिव

काठमाडौं। सरकारले चार जना सचिवको सरुवा गर्दै एक जना वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
Advertisement 1
स्रोतका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। उक्त मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रूपमा पठाइएको छ। बस्नेत गत माघमा मात्रै सञ्चार मन्त्रालय पुगेकी थिइन्।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा गरिएको छ।
Advertisement 2
बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। अनिवार्य अवकाश नजिकिएकाले उनलाई अतिरिक्त समूहमा राखिएको स्रोतले जनाएको छ।
यससँगै बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको छ।








