मन्त्रिपरिषद्को निर्णय: एकैपटक ६ सचिवको सरुवा, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी?

काठमाडौं। सरकारले एकैपटक ६ जना सचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
Advertisement 1
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सूचना अधिकारी सिर्जना शर्माका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। राउत तीन महिनाअघि मात्रै निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा सरुवा भएका थिए।
उक्त मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त समूह) मा सरुवा गरिएको छ।
Advertisement 2
त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
Advertisement 3
यस्तै, राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी दिइएको छ।
सरकारले प्रशासनिक नेतृत्वलाई थप प्रभावकारी, कार्यसम्पादनमुखी तथा आवश्यकताअनुसार व्यवस्थापन गर्ने उद्देश्यले सचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।








