ग्यास आपूर्तिमा सहजता, नेपाल आयल निगमद्वारा १४.२ केजी सिलिन्डर पुनः वितरण सुरु

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति अवस्था सुधार भएसँगै असार ३१ गते देखि देशभर पुनः साविककै १४.२ केजी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ।
Advertisement 1
निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेशन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएको र बजारमा १४.२ केजी सिलिन्डरको माग उच्च रहेकाले उक्त निर्णय गरिएको हो। अब १४.२ केजी ग्यास सिलिन्डर पूर्ण मूल्य २ हजार ६० रुपैयाँ मा उपलब्ध हुनेछ।
यसअघि निगमले आपूर्ति व्यवस्थापन सहज बनाउन २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरेर वितरण गर्ने व्यवस्था लागू गरेको थियो।
Advertisement 2
निगमका अनुसार केही समयसम्म ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बजारमा उपलब्ध हुन सक्ने भएकाले उपभोक्ताले सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न आग्रह गरिएको छ।
त्यस्तै, भारतीय आयल कर्पोरेशनबाट हाल नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न पनि निगमले उपभोक्तासँग अनुरोध गरेको छ।
Advertisement 3
निगमले आपूर्ति अवस्था सामान्य बन्दै गएको जनाएको छ।









