अदालतमा गाउँपालिका विजयी भएको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, अस्पतालमा उपचार

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरिएको छ। घटनामा घाइते भएका बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

Advertisement 1

गाउँपालिकाका अनुसार बिहीबार बिहान करिब ११ बजेतिर केही व्यक्ति प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरेका थिए। त्यसपछि उनीहरूले कार्यकक्षको ढोका बन्द गरी बस्नेतमाथि हातपात गरेको बताइएको छ।

बस्नेतले घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको बताएका छन्। उनका अनुसार हालै खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी विवादमा गाउँपालिकाको पक्षमा अदालतबाट फैसला आएपछि त्यसैको रिसमा आफूलाई आक्रमण गरिएको हो।

Advertisement 2

उनले आक्रमणकारीहरूले “हामीलाई मुद्दा किन हराइस्“ भन्दै कुटपिट गर्नुका साथै आफू र आफ्नो परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको बताएका छन्।

घटनामा बस्नेतको शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

Advertisement 3

गाउँपालिकाका सूचना अधिकारी तथा वरिष्ठ शाखा अधिकृत बासु पण्डितले इकर्मचारी डटकमसँग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृतको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको जानकारी दिए।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। सरकारी कार्यालयभित्रै प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमणले कर्मचारीको कार्यस्थल सुरक्षा, कानुनी शासनको कार्यान्वयन तथा सार्वजनिक पदमा कार्यरत कर्मचारीको सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ।

यस घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा सरकारी कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायमाथि दबाब बढेको छ।

प्रकाशित :२०८३ असार १८, बिहीबार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry